सडकको निर्माण कार्य सम्पन्न भएपछि पर्यटकलाई पाटेनागी पुग्न सहज

निर्माण कार्य सम्पन्न

  सरलपाटी सम्वाददाता

 731 पटक हेरिएको

इलाम । इलामको इलाम नगरपालिका ३ पुवामझुवा स्थित पाटेनागी पुग्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । रक्सेको वागखोर बजारबाट पाटेनागीसम्म पुग्ने ६ कि.मि. को कच्ची मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो ।

नगरपालिकाको दश लाख रुपैयाँ लागतमा वडा मार्फत सडक खन्ने कार्य सम्पन्न भएसँगै अब पर्यटकलाई पाटेनागी पुग्न करिब २५ मिनेट समय लाग्ने भएको पालिकाका कर्मचारी हेमराज ढकालले बताए ।

धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि महत्वपूर्ण मानिएको इलामको पाटेनागी कुहिभिर हुँदै पुग्न सकिन्छ । सडक नबन्दा पाटेनागी पुग्न ४ घण्टासम्म पैदल यात्रा गर्नु पर्ने ढकालले जानकारी दिए ।

पर्यटनका लागि मनोरञ्जनको एक मुख्य केन्द्रविन्दु बन्ने पाटेनागी लगानीको अभावमा चर्चा नपाएको क्षेत्र हो, यहाँ पुग्नका लागि पैदल यात्रा गर्नु पर्ने बाध्यता थियो । सडक पुग्यो अब भने जाने पर्यटकका लागि त्यो बाध्यता हटेर गएको र यात्रा सहज भएको वडा नम्बर ३ का वडाध्यक्ष तिर्थ गुरुङ्ग बताउछन् ।

उनका अनुसार, यस क्षेत्रबाट विभिन्न स्थानका रमणीय दृश्य देख्न पाइने, विभिन्न जातका गुँरास पाइने, घना जंगल रहेकाले विभिन्न प्रजातीका जडीबुटी पाइने र सुर्योदयको दृश्य हेर्न पाइने साथै रेडपाण्डाको समेत अवलोकन गर्न पाइने भएकाले यस क्षेत्रमा स्थानिय तहले लगानी गर्न जरुरत छ ।

इलामको एक सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पाटेनागीमा भौतिक पूर्वाधार निर्माणका लागि लगानी गर्न थालिएको पालिका प्रमुख महेश बस्नेतले बताए । उनले भने, ‘सडक पुग्यो । अब पनि पालिका चुप रहेर बस्दैन, अन्य पूर्वाधार खानेपानी विजुली पु¥याउने र त्यहाँ भएका स्रोतलई व्यवस्थापन गर्न जग्गा लिजमा उपलब्ध गराउने लगायतका कार्यमा समेत पालिका निरन्तर खट्नेछ ।

के हो पाटेनागीको मूख्य आकर्षण


समुन्द्री सतहदेखि तीन हजार मिटरको उचाईमा रहेको यस क्षेत्रबाट चाँदी झैं टल्कीएका हिमालको दृश्य नियाल्न सकिन्छ । सूर्योदय र सूर्योस्तको मज्जा लिन सकिन्छ ।

यहाँबाट आँखै अघि सगरमाथा, कञ्चनजंघा लगायतका हिमाल देख्न सकिन्छ । प्रदेश १ का धेरै जिल्लाका रमणीय भू–भाग नियाल्न सकिन्छ । यस क्षेत्रमा रेडपाण्डा पाइन्छ । विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको अवलोकनका लागि पनि यो ठाउँ महत्वपूर्ण रहेको स्थानीय बताउछन् ।

यो क्षेत्र सानु पुवाखोला, देउमाई खोला, ठूलो पुवाखोला लगायत खोलाहरूको उद्गम स्थल मानिन्छ । यहाँ नागढुङ्गा छ । त्यसैले यो क्षेत्र धार्मिक हिसावले समेत अव्वल छ । गाइ वस्तुले दुध दिएन भने नागढुङ्गामा पुजा गर्दा गोठ सप्रने र गाईले दुध दिने धार्मिक विश्वास रही आएको र स्थानीयले समेत यसै गर्ने गरेको वडाध्यक्ष गुरुङ्गले बताए ।

नागढुङ्गामा नाग, शंख लगायतका विभिन्न किसिमका आकृति देख्न सकिने गुरुङको भनाई छ । यस क्षेत्रमा १२ प्रजातिका गुँरास पाइन्छन् ।

पाटेनागीमा घना गुराँसे जंगल रहेकाले चैत्र बैशाखको समयमा जंगल नै राताम्ये भएको दृश्य देख्न पाइन्छ । पुवामझुवाको पाटेनागी देखि गोर्खेको मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरक–फरक रंगमा फुलेका गुराँसले जता हे¥यो त्यतै राताम्ये भएको दृश्यको अवलोकन गरी पर्यटकले मज्जा लिन सक्नेछ ।

इलामको इलाम नगरपालिकाको सदरमुकामबाट ४० किलोमिटर टाडा र बागखोर बजारबाट छ किलोमिटरको यात्रापछि पाटेनागी पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार