इलाम । इलामको इलाम नगरपालिकाले किसानलाई गाई पालनका लागि साढे २७ लाख अनुदान दिएको छ । पालिकाका ११ वटा वडाका किसानलाई दुग्ध उत्पादनमा व्यवसायिक बनाउन २७ लाख ५० हजार रुपैँया अनुदान दिएको हो ।
प्रति वडाका १०÷१० जना गरी एक सय १० जना किसानलाई ५० प्रतिशतका दरले अनुदान दिएको पालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, रकम पाउनका लागि किसानले करिब ५० हजार रुपैँयाको गाई खरिद गर्नुपर्छ । यसको ५० प्रतिशतका दरले हुन आउने २५ हजार रुपैँया रकम भने पालिकाले किसानलाई भुक्तानी गर्नेछ ।
अनुदान रकम पाउनका लागि किसानले गाई खरिद गरेर बिमा गर्नुपर्ने जस्ता पक्रिया पूरा गर्नुपर्ने पालिकाले जनाएको छ । यो आर्थिक सहयोगले दुग्ध उत्पादनलाई व्यवसाययिक बनाउनमा सहयोग पुग्ने र किसानलाई प्रोत्साहन मिल्नेमा पालिकाको विश्वास छ ।
वडा नम्बर ७ का किसानले भने गाईका लागि अनुदान रकम नपाएको बताइएको छ ।


410 पटक हेरिएको 






