इलाम । इलामका किसानलाई निःशुल्क दाँते ओखरको बिरुवा वितरण गरिएको छ । इलामको इलाम नगरपालिकाका किसानहरुलाई आइतबार पहिलो पटक च्याङ्ग डलर जातको बिरुवा वितरण गरिएको हो ।
पालिकाका १, ३, ४ गरी ३ वडाका ५० किसानलाई तीन लाख ८५ हजार रुपैँया बराबरको बिरुवा वितरण गरिएको पालिकाका प्रशासकिय अधिकृत राम साहले जानकारी दिए । उनका अनुसार, यो बिरुवा टर्कीबाट ल्याइएको हो । स्थानीय नागरिकको अर्थतन्त्र सुधार गर्नको लागि सतप्रतिशत छुटमा विरुवा वितरण गरिएको पालिकाले जनाएको छ ।
यो बिरुवा समुन्द्र सतहबाट १२ सय माथिदेखि २३ सय मिटरसम्मको भौगोलिक क्षेत्रमा फस्टाउने पालिकाको कृषि वैज्ञानिक उपेन्द्र नेपालले जानकारी दिए । उनले किसानलाई प्राविधिक सल्लाह दिदै भने, यो हल्का बलौटे दोमड माटोमा रोप्दा मज्जाले सप्रन्छ । विरुवा रोप्नु भन्दा ३० दिन अगाडी खाडल खन्नुपर्छ । जुन तीन फिट गहिरो खन्ने र मात्रै रोप्न उपयुक्त हुने बताइएको छ ।
खनिएको खाल्डोमा पोटास, युरिया र कुहिएको गोबर मलको उचित मात्रा मिलाउने र रोप्ने गर्नु पर्छ । यसले रोपेको पहिलो वर्षबाटै फल दिन सुरु गर्छ । तेस्रो वर्षबाट भने नियमित फल दिन थाल्ने कृषि वैज्ञानिक नेपालले बताए ।
यसको फललाई प्रतिकेजी सात सयदेखि आठ सय रुपैँयासम्ममा विक्री गर्न सकिने भएकाले दाँते ओखरलाई आम्दानीको मूख्य स्रोत नै बनाउन सकिने बताइएको छ । पालिकाको १ नम्बर वडाका किसानलाई भने यस अघि नै वितरण गरिसकिएको छ । आज भने ३ र ४ नम्बर वडाका किसानलाई बिरुवा वितरण गरिएको हो ।

पालिकाले कृषिमा निरन्तर लगानी गरिरहेको पालिका प्रमुख महेश बस्नेतले बताए । उनले किसान मेहेनत गर्न तत्पर रहे जस्तोसुकै परिस्थितीमा पनि सदाबहार साथ दिन पालिका तयार रहेको प्रतिबद्धता समेत जनाए ।
पालिकाकाकै लागि नयाँ जातको विरुवा रोप्ने पहिलो किसानका रुपमा सहभागीहरुलाई पाएको भन्दै अन्य किसानका लागि प्रेरणाको स्रोत बन्न उनले सबै किसानलाई आग्रह गरे । पाएका यी बिरुवाको समुचित उपयोग होस् । समस्या आए पालिकामा खबर गर्ने र निरन्तर प्राविधिकसँग निकट रहेर कृषिमा अब्बल किसान भएर देखाउन पालिका प्रमुख बस्नेतले किसानलाई आग्रह गरे ।
आज भएको वितरण कार्यक्रममा आवेदन भर्ने सबै किसान बिरुवा लिन नआएकाले ल्याइएका यी बिरुवालाई कहाँ लगेर रोप्ने भन्ने चिन्ता देखिएको उनले दुखेसो समेत पोखे ।


635 पटक हेरिएको 






