प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्ने अन्तरनीहित अधिकार छैनः खनाल

नेता खनाल

  सरलपाटी सम्वाददाता

 441 पटक हेरिएको

इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्न पाउने अन्तरनीहित अधिकार नहुने बताएका छन् । शनिबार इलाम सदरमुकाममा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खनलले राजकिय सत्ता र सार्वभौम सत्ता जहाँ हुन्छ त्यहाँ मात्रै त्यस्तो अन्तरनीहित अधिकार हुने भएकाले प्रधानमन्त्रीमा प्रतिनिधिसभा विघटन गर्ने अधिकार नहुने बताए ।

‘पहिले राजा माहाराजाहरुले राजकिय सत्तिको प्रयोग गरेर संसदको विघटन गरे होलान्, अहिले राजकीय सत्ता र सार्वभौम शक्ति जनतामा हुन्छ’, नेता खनालले भने, ‘त्यस्तो अधिकार जनतामा हुन्छ, सदनमा हुन्छ, प्रधानमन्त्रीसंग हुँदैन ।’ नेता खनालले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार नभएको भन्दै उनले भने,‘संविधानलाई एउटा व्यक्तिले खेलौना बनाउन पाउँदैन ।’ सरकार बनाउने चारवटा शर्तहरु पुरा भएपछि मात्रै सदनको सहमतिमा संसद विघटनसम्बन्धि व्यवस्था संविधानमा राखिएको प्रष्ट्याए ।

नेता खनालले केपी ओलाीलाई असाधारण मौका पाएको भएपनि ओलीले त्यसलाई लत्याएको बताए । समाजवाद तर्फको यात्राको लागि ओलीले कुनै नयाँ नीति कार्यक्रम ल्याउन नसकेकाले ओलीले असाधारण मौकालाई खेर फालेको खनालको भनाई छ । परोपकारीहरुले संकटको बेला काठमाण्डौको सडकमा खाना खुवाउँदा सरकारले सडकमा खान खुवाउन पाइदैन भनेको प्रसंग कोट्याउँदै नेता खनालले कस्तो अचम्मको कम्युनिष्ट भन्दै टिप्पणी गरे । ‘मुलुकमा कम्युनिष्ट पार्टीको सरकार छ संकटको बेला सडकमा खाना बाडेको समाचार हेर्नुपर्छ, आफैलाई लज्जाबोध हुन्छ’,उनले थपे,‘अर्कोतिर सडकमा खाना खुवाउन पाइदैन भनेर कम्युनिष्ट पार्टीको सरकारले भन्छ, कस्तो अचम्मको कम्युनिष्ट ? चिडिया खानामा राखेर देखाउनुपर्ने कम्युनिष्ट ।’

गृहमन्त्री राम बहादुर थापा बादलले शुक्रबार चिडिया खानामा थुन्ने अभिब्यक्ति दिएको प्रसंग जोड्दै खनाले पछि थपे,‘चिडिया खानामा राख्ने बादल र ओलीलाई हो ।’ नेता खनालले कुर्सीको लागि पार्टी एकता गरेको आरोप लगाउँदै खनालले ओलीलाई फ्याकेपछि पार्टी एकिकरणले गति लिएको बताएका छन् । तीन वर्षसम्म पार्टीको कार्यकर्तालाई गतिहीन बनाएको भन्दै उनले अहिले पार्टी कार्यकर्ता गतिशिल भएको बताए ।

प्रधानमन्त्री ओलीले विकासको नाममा यति किलोमिटर सडक बनायौ भन्ने गरेको बताउँदै खनालले कति किलोमिटर सडक बन्यो भनेर समाजवाद ननापिने टिप्पणी गर्दै भने, ‘हामीले समाजवादी विकास खोजेको हो ।’ ओली नेतृत्वको सरकारले भद्धा पुजीवादको विकास र उनीहरुकै संरक्षणमा लागेको नेता खनालको टिप्पणी छ ।

नेकपाको स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्माले भने पार्टीभित्र बैचारिक बहस हुनुपर्नेमा जोड दिएका छन् । यथास्थितिमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै नेता शर्माले आफैभित्र भएको केपी प्रबृतिको विरुद्धमा अघि बढ्न सकेमात्रै आन्दोलन अघि बढ्ने बताए । ‘भोली यो पार्टीमा सर्वसत्तावादी र निरंकुशताबादी शैली पैदा हुँदैन भन्ने के ग्यारेन्टी छ, पार्टी भित्रै देखिने यस्तो प्रबृतिको विरुद्ध लड्छौ र लड्ने हिम्मत गर्छौ भने मात्रै आन्दोलन अघि बढ्न सक्छ’, उनले थपे,‘छैन भने कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन ।’ बैचारिक बहसमा केन्द्रित नहुने भए यस्तो प्रबृति दोहोरिने नेता शर्माको ठम्याई छ ।

उनले पार्टीको संगठन संरचना कस्तो हुने, आर्थिक मौद्रिक नीति कस्तो हुने, उत्पादन शक्तिको विकास कस्तो हुने भन्नेमा बहस हुनुपर्ने बताए । उनले अहिल आन्दोलन मात्रै प्रधान नभएकाले बैचारिक बहसमा समेत केन्द्रित हुनुपर्ने बताए । ‘भन्ने समाजवादी बाटो, हिड्ने पुजीवादमा कसरी समाजवादमा पुगिन्छ’, नेता शर्माले भने,‘समाजवादको कोरा नाराले मात्रै समाजवादमा पुगिदैन, कुन बाटो हिड्ने हो बाटो तय हुनुप¥यो, विधि तय हुनुप¥यो ।’

एक नम्बर प्रदेशसभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो (मौसम)ले अब केही सातामानै प्रदेशमा नयाँ सरकार गठन हुने बताए । अविश्वासको प्रस्तावमा कांग्रेस सहमत भएकाले माघ अन्तिमसम्म मात्रै बर्तमान सरकार रहने उनको भनाई छ । ‘प्रदेश सभामा अविश्वासको प्रस्ताव टेवल हुन्छ, कांग्रेससंग सहमति भएको छ’,उनले भने, ‘यहि महिना भित्र सरकारको विदा गर्छौ, अर्को महिनाको पहिलो साता प्रदेशमा नयाँ सरकार बन्छ ।’ उनले मुख्यमन्त्री राईले टोलको गुण्डाजस्तै अभिब्यक्ति दिन थालेको आरोप लगाए । कार्यक्रममा केन्द्रीय सदस्य धिरेन शर्मा रमण, मणि कुमार लिम्बु लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार