भारत लैजाँदै गरेका तीन किशोरीको पशुपतिनगर नाकाबाट उद्वार

मानव बेचविखन

  सरलपाटी सम्वाददाता

 300 पटक हेरिएको

इलाम । नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्वार गरिएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५/१६ वर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्वार गरेको हो ।

शंका लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्वार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ ।

काठमाडौं लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैयाँ तलवमा भारत दार्जिलिङ्गमा काम खोजिदिएको भन्दै काठमाडौबाटै ती महिलाले फोन गरेको र उक्त महिलाले दार्जिलिङ्गका एक ब्यक्तिलाई फोन गरेर बोलाएर उनकै साथमा पठाएको सोधपुछको क्रममा खुलेको ढकालको भनाइ छ ।

पशुपतिनगर ल्याएका ति किशोरीलाई लिन भारतबाट सिमानाकामा गाडी आएको भए पनि नाका प्रवेश गर्ने क्रममा शंका लागेर किशोरीलाई सोधपुछ गर्दा जागिरको प्रलोभनमा परेर उनीहरु भारत जान लागेको पाइएकाले उनीहरुलाई नाकाबाटै उद्वार गरिएको ढकालले बताए। उद्वार गरिएका तीनैजना किशोरीको परिवारलाई बोलाएर जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

भारतसँग सीमा जोडिएको पशुपतिनगर नाका हुँदै दलालहरुले विभिन्‍न प्रलोभन देखाएर बेचविखनका लागी भारत लैजाने गर्दछन् । नाका क्षेत्रका गाँउ–गाँउमा चेलिवेटी बेचविखन न्यूनिकरणका लागि समन्वय सञ्जाल तथा विद्यालयमा चेतनामुलक कार्यक्रमहरु संचालन गरिएपनि भारततर्फ जाने महिला तथा बालबालिकाको संख्यामा कमी आउन सकेको छैन ।

पशुपतिनगरको मुख्य नाकामा माइती नेपालका कर्मचारी र नेपाल प्रहरीको टोली खटिने भएपनि दलालले सीमा क्षेत्रका साना गोरेटोबाट नेपाली चेली सीमा कटाउने गरेको पाइएको ढकालले बताए । ‘मुख्य नाकाबाट भन्दा पनि सहायक नाकाबाट बढी नेपाली चेलीहरुलाई भारतका विभिन्‍न ठाउँमा लगेर यौन हिंसासँगै जोखिमपूर्ण काममा लगाइने गरेको छ,’ ढकालले भने,‘पश्चिम नेपालबाट इलाम घुम्न लाने भन्दै दलालले फकाउने र इलाम आएपछि दार्जिलिङ घुम्न लाने भन्दै सीमा कटाउने गरेका छन् ।’

पशुपतिनगर नाकाबाट मात्रै होईन सीमा क्षेत्रका अन्य बाटोहरुबाट पनि नेपाली किशोरी र महिलालाई दलालहरुले लैजाने गरेका छन् । नेपाल भारतका दुबै क्षेत्र पर्यटकीय क्षेत्र भएकाले दलाललाई श्रीमान–श्रीमती हो भनेर ओहोरदोहोर गर्न सजिलो हुने गरेको ढकालले बताए । मानव बेचविखन नियन्त्रणका लागि माइती नेपाल र प्रहरीको समन्वयमा सीमा क्षेत्रका विद्यालय, व्यापारिक केन्द्रका व्यापारी तथा यातायात व्यवसायीहरूलाई सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार