‘गुट भेला गरेर तर्साउन खोजियो’

नेकपा विभाजन

  सरलपाटी सम्वाददाता

 626 पटक हेरिएको

इलाम।अधिवेशनबाट निर्वाचित अध्यक्षले नबोलाएका भेला र बैठकहरु अवैध हुने र त्यस्तो भेलाले अधिवेशनबाट निर्वाचित अध्यक्षलाई हटाउन नसक्ने भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले बताएका छन् ।
इलाम नगरपालिका संसदीय दल र ओली पक्षको नेकपा नगर कमिटीको संयुक्त आयोजनामा शनिबार भएकोे भेलालाई सम्बोधन गर्दै मन्त्री रानाले अघिल्लो दिन प्रचण्ड पक्षको भेलाले जिल्ला अध्यक्ष र कार्यालय सदस्यहरु मनोनित गरिएको कुरा तर्फ लक्षित गर्दै मन्त्री रानाले गुटको भेला गरेर तर्साउन खोजिएको बताए । ‘हामी पार्टी भत्काउने होइन बनाउनेमा लागेका छौं ।’ उनले भने, ‘गुटको भेला गरेर तर्साउन खोज्नेहरुलाई राम्ररी जवाफ दिइनेछ ।’
मन्त्री रानाले आफ्नै दल र विदेशी शक्तिले सरकारलाई काम गर्न नदिएपछिको बाध्यात्मक कदम संसद विघटन र नयाँ जनादेश भएको पनि बताए । सरकारले राष्ट्रियता र समृद्धिका लागि काम गरिरहेको बेला दलभित्रकै पदलोलुप नेताहरुका कारण यो वर्तमान राजनीतिक परिस्थितिको सिर्जना भएको पनि उनले बताए । ‘जनादेशमा जानु भनेको अधिनायकवाद होइन, जो जनादेशबाट भाग्न खोजिरहेका छन् उनीहरु अधिनायकवादी हुन् ।’ मन्त्री रानाले भने, ‘हाम्रो एकताले मात्र अधिनायकवादको सामना गर्न संभव छ ।’
भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बहुमतको सरकारले संसद विघटन गर्न नपाइने व्यवस्था संसारमा कहि नभएको बताए । उनले जनादेश बिना मुलुकको समृद्धिको यात्रा अघि बढ्न नसक्ने भएकाले जनादेशमा जानुको विकल्प नभएको पनि बताए । प्रमुख बस्नेतले माधव नेपाल र खनाल प्रचण्डको कारोबारी भएको आरोप लगाएका छन् । ‘कारोबारीको जिम्मेवारी पूरा नगरेको दिन प्रचण्डले उहाँहरुलाई साथै राख्दैनन् र यतै आउँनु हुन्छ ।’ उनले भने, ‘त्यसैले धेरै गाली नगरौं उहाँहरुलाई ।’
यसरीनै केन्द्रीय सदस्य पदम भण्डारीले जनादेशमा जानका लागि सबै तयार हुनुपर्ने बताए । केन्द्रीय सदस्य नरेन्द्र भट्टराईले आफ्नै दलको नेताहरुको पदीय महत्वाकांक्षले सिर्जना गरेका अप्ठ्यारो परिस्थितिबाट मुलुकलाई जोगाउनका लागि जनादेशमा जाने निर्णय भएको बताए । जिल्ला समन्वय समितिका प्रमुख तथा केन्द्रीय सदस्य गणेश बरालले निर्वाचनमा जानुको विकल्प नरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार