इलाम । इलाममा यस वर्ष धान उत्पादन एक प्रतिशतले बढेको छ । पर्याप्त वर्षा पर्नु, समयमै रोपाइँ हुनु, मलखादको राम्रो प्रयोग, रोग किरा नदेखिनु, जमिनको क्षेत्रफल विस्तार हुनु जस्ता कारणले प्रमुख खाद्यान्न बाली धानको उत्पादनमा वृद्धि भएको हो ।
यस वर्ष कुल खेतीयोग्य जमिन ४४ हजार सात सय ५४ हेक्टर क्षेत्रफलको १४ हजार सात सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । उनका अनुसार, धान भने ४६ हजार पाँच सय २८ मेट्रिकटन उत्पादन भएको छ ।
गएको वर्ष १४ हजार तीन सय ३ दशमलव ७७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३७ हजार एक सय ८३ दशमलव ३७ मेट्रिकटन उत्पादन भएको थियो । गएको वर्ष ६ दशमलव ९८ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस वर्ष भने ७ दशमलव ८५ मेट्रिकटन उत्पादकत्व भएको ज्ञान केन्द्रले जानकारी दिएको छ ।
इलाममा यस वर्ष माथिल्लो भू–भाग सुक्खा क्षेत्रमा पानीको पर्याप्तताले राम्रै धान फलेको छ भने तल्लो भू–भाग चिसो क्षेत्रमा भने पानीको मात्रा बढी भएकाले अपेक्षा गरे अनुसार धान उत्पादन भएन । सलहको प्रकोप, भौगोलिक विविधताको प्रभाव रहे पनि गएको वर्षको तुलनामा भने एक प्रतिशतले धानको उत्पादन बढेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी गणेश राईले बताए ।
यो वर्ष गएको वैशाख–जेठ महिनामै धान रोपाइँका लागि पर्याप्त वर्षा भएकाले किसानले समयमै रोपाइँ गर्न पाएका थिए । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को असर । सहर–बजार तथा विदेशबाट गाउँ फर्किएका युवा खेतीबाली लगाउने कार्यमा जुटेकाले आवश्यक जनशक्ति उपलब्ध हुँदा खेतीमा सहज भएको माङ्गसेबुङ्ग गाउँपालिका १ का किसान सोम लिम्बुको भनाइ छ ।
लिम्बूको १५ रोपनीमा गतसाल ३५ मुरी धान फलेको थियो भने यस वर्ष ४५ मुरी फलेको उनले जानकारी दिए । गतसाल गाउँमा ५० बोरा धान किनबेच गरिएको माङ्गसेबुङ्गमा यस वर्ष ८० बोरा चामल संकलन गरी बिक्री गरेको स्थानिय व्यापारी तथा किसान सुवास भट्टराईले बताए । उनी भन्छन्, यो गतसालको तुलनामा ३० बोराले बढी हो ।
कुल एक लाख ७१ हजार सात सय २५ हेक्टर क्षेत्रफल रहेको इलाममा यस वर्ष १४ हजार सात सय ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । दुई हजार चार सय ५० हेक्टर खेत र पाँच हजार चार सय ५० पाखा बारी गरी कुल सात हजार एक सय ८५ हेक्टर निजी जमिनमा खेती गरिएको महेन्द्र रत्न बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. योगेन्द्रमान श्रेष्ठले बताए ।
चार नगरपालिका र छ वटा गाउँपालिका रहेको इलामको सबै ठाउँमा धानखेती हुँदै आएको छ ।
यी पालिकामध्ये जिल्लाका माई, इलाम, देउमाई नगरपालिका, चुलाचुली र माङ्गसेबुङ्ग गाउँपालिकालाई धान खेतीका लागि पकेट क्षेत्रका रूपमा चिनिन्छ । इलाममा स्थानिय चुल्ठे, भंगेरे, हर्दिनाथ–१, राधा–१२, मनसुली, मकवानपुर–१, चिराँखे, बेलगुठी जातका धान रोप्ने गरिन्छ । पछिल्लो समय रामतुलसी, ननिया, सावित्री जातका धान समेत रोपिन थालिएको अधिकारी राईले जानकारी दिए ।
१३ लाख मेट्रिकटन भन्दा बढी धान उत्पादन
चौध जिल्ला रहेको १ नम्बर प्रदेशमा यस वर्ष १३ लाख मेट्रिकटन भन्दा बढी धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी यस प्रदेशमा १३ लाख ११ हजार दुई सय ४५ मेट्रिकटन धान उत्पादन भएको हो ।
१ नम्बर प्रदेशमा यो वर्ष सबै भन्दा बढी धान उत्पादन भएको कृषि विकास निर्देशनालय विराटनगरले जानकारी दिएको छ । निर्देशनालयका अनुसार, यो उत्पादन गतसालको तुलनामा एक लाख १२ हजार पाँच सय पाँच मेट्रिकटन बढी हो । गतसाल ११ लाख ९८ हजार सात सय ४० मेट्रिकटन धान फलेको निर्देशनालयको तथ्याङ्कले देखाउछ ।
निर्देशनालयका अनुसार, उच्च पहाडी जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बु गरी २४ हजार एक सय १३ हेक्टर जग्गामा २३ हजार छ सय ७७ हेक्टर जग्गामा रोपाइँ भई कूल ६० हजार सात सय १४ मेट्रिकटन धान उत्पादन भएको छ ।
यस्तै मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार नौ सय १६ हेक्टर जग्गामा ८८ हजार सात सय ९० हेक्टर जग्गामा रोपाइँ भई कूल दुई लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको छ ।
साथै तराईका झापा, सुनसरी, मोरङ गरी दुई लाख २५ हजार आठ सय हेक्टर जग्गामा दुई लाख २० हजार चार सय ५१ हेक्टर जग्गामा धान रोपाइँ भई कुल नौ लाख ९५ हजार तीन सय ७७ मेट्रिकटन धान उत्पादन भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिइन् ।


647 पटक हेरिएको 






