इलाम । इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा साडे छ हजार घरपरिवार सुकुम्बासीले लाल पुर्जा पाउने भएका छन् । माई नगरपालिकामा चार हजार एक सय १५ घरपरिवार सुकुम्बासी रहेका छन् भने माङसेबुङ गाउँपालिकामा दुई हजार तीन सय २० घरपरिवारले लाल पुर्जा पाउने भएका हुन् ।
प्रदेश सरकारले सुकुम्बासी नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएसँगै इलामका छ हजार पाँच सय १५ घरपरिवारले लाल पुर्जा पाउने भएका छन् । प्रदेश १ का ३० वटा स्थानीय तहका एक लाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढेको भूमि सम्बन्धि समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली बताउँछन् ।
प्रक्रिया अघि बढेसँगै इलामका सुकुम्बासीले पनि लाल पुर्जा पाउने भएका हुन् । भूमि सम्बन्धि समस्या समाधान आयोगले भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेलाई लाल पुर्जा (धनीपुर्जा) वितरण गर्नको लागि स्थानीय तहका पदाधिकारी बिच समझदारी पत्र हस्तान्तरण भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए ।
माई नगरपालिकामा चार सय २१ दलित, पाँच सय ३६ अन्य गरी नौ सय ५७ र तीन हजार दुई सय ३८ घरपरिवार अव्यवस्थित रुपमा बसोबास गरेको गरी चार हजार एक सय ९५ घरपरिवार सुकुम्बासी रहेको प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै माङसेबुङ गाउँपालिकामा ४९ दलित, चार सय ७१ अन्य र एक हजार आठ सय अव्यवस्थीत गरी दुई हजार तीन सय २० घरपरिवार सुकुम्बासी रहेको पाइएको छ ।
सरकारले भूमि सम्बन्धि ऐन २०२१ को आठौं संशोधन गरेर नियमावलीको १८ औं संशोधनका आधारमा नौ वटा कार्यविधि तयार पारेर काम थालेको आयोग अध्यक्ष ज्ञावालीको भनाई छ । उनले भने, ‘आगामी असारसम्ममा लालपूर्जा उपलब्ध गराई सक्ने लक्ष्यका साथ अघि बढेका छौँ ।’
जसका लागि आउने फागुनसम्ममा लगत संकलनका लागि पालिकाले नागरिकको घरमै पुगेर फारम भराउनु पर्नेछ ।’ अव्यवस्थित बसोबासीलाई सेतो र भूमिहिन दलित तथा सुकुम्बासीलाई गुलाबी रंगको गरी दुई प्रकारको फारम भराईनेछ । सो लगत पहिचान र प्रमाणीकरण लागि प्रतिवेदन आयोगमा पालिकाले बुझाउनु पर्नेछ ।
कतिपय ठाउँमा बस्ती स्थानान्तरण गर्नु पर्ने अवस्था आएमा प्रदेश सरकारले जग्गा उपलब्ध गराएर भए पनि आयोगले लालपूर्जा उपलब्ध गराउने ज्ञावाली बताउँछन् ।


487 पटक हेरिएको 






