संक्रमितको परिवारलाई घरैमा पुगेर स्वास्थ्य सामाग्री वितरण

कोरोना कहर

  सरलपाटी सम्वाददाता

 265 पटक हेरिएको

इलाम । इलाम नगरपालिकाको वडा नम्बर ६ ले कोरोना संक्रमित परिवारलाई विभिन्न स्वास्थ्य सामाग्री वितरण गरेको छ । इलाम नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बजार, स्थानीय यातायात र नगरपालिका कार्यालय बन्द गराइएको छ ।

नगरपालिकामा संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला स्थित कोभिड–१९ व्यवस्थापन समितिले सम्बन्धित वडा अध्यक्षको संयोजकत्वमा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ र प्रहरी कर्मचारी सहितको अनुगमन समिति गठन गरेको छ । दैनिक रुपमा अनुगमन गरेर नगरपालिका कार्यालयमा प्रतिवेदन बुझाउनुपर्ने काम पाएको समितिले कोरोना संक्रमितको घर घरमा गएर स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

वडा नम्बर ६ ले संक्रमितको परिवारलाई एक प्याकेट मास्क, आधा लिटर सेनिटाइजर, ज्वरो, झाडा पखला, रुघामार्की र छाती दुख्दा प्रयोग गरिने एन्टिबायोटिक औषधी वितरण गरेको छ । औषधि वितरण संगै उनीहरुलाई समस्या परेमा मात्रै औषधी सेवन गर्न सुझाइएको उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।

वडा अध्यक्ष माधव भट्टराईको नेतृत्वको टोलीले संक्रमित परिवारका सदस्यलाई स्वाब परिक्षणको नतिजा नआइञ्जेल हिडडुल नगर्न, घरमा सुरक्षित रुपमा रहन आग्रह गरेको छ । समितिले नगरपालिका र डिसिएमसीको निर्णय कार्यान्वयन भए नभएको समेत अनुगमन गरेको छ ।

कोरोनाको जोखिम बढेपछि इलाम बजारमा २४ गतेसम्म बजार, स्थानीय यातायात र नगरपालिका कार्यालय बन्द गरिएको छ । यसले संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा कोरोना नसर्ने र संक्रमण दर कम हुने अपेक्षा गरिएको छ । यस अघि इलाम नगरपालिका वडा नम्बर ७ ले संक्रमित परिवारलाई स्वास्थ्य वद्र्धक औषधी वितरण गरेको थियो । वडा नम्बर ८ ले समेत संक्रमित परिवारलाई मास्क, सेनिटाइजर उपलब्ध गराउने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार