’मनको ६ हजार दिन्छु भन्दा नि आलुको बीउँ पाइएन !’

आलुको बीउँ अभाव

  सुजता सुनुवार

 902 पटक हेरिएको

इलाम । इलाममा यस वर्ष रोप्नको लागि आलुको बीउ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । बर्खे आलु रोप्ने मुख्य सिजनमा नै बीउ नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । हिउँ पर्ने क्षेत्रमा समेत आलु फल्ने भएकाले जिल्लाका अधिकांश किसान आलुखेती गर्छन् ।

यो समय बर्खे आलु रोप्नको लागि धमाधम माटो तयार गरिने समय हो । माथिल्लो भेगमा मंसिरमा माटो तयार गरिन्छ र पुस पहिलो हप्तासम्ममा रोपिसकिन्छ । तल्लो भेगमा पुसमा माटो तयार गरी माघदेखि फागुनको मध्यसम्ममा आलु रोपीसकिन्छ ।

किन्न खोजे बीउँ नै पाइन्न

बीउ नपाउने समस्याका कारण यस वर्ष आफ्नो मात्रै होइन धेरैको बारी बाँजै रहने भएको इलाम नगरपालिका ३ इलामका किसान गणेश सुनुवार गुनासो गर्छन् । उनी भन्छन्, ‘मनको छ हजार दिन्छु भन्दा पनि आलुको बीउ नै पाइन, त्यसैले यो वर्ष हिउँदे सिजनको आलु रोप्दै रोपिनँ ।’

उनको जस्तै समस्या देउमाई नगरपालिका १ का किसान कृष्ण राईलाई पनि छ । उनले गतसाल १४ मन आलु रोपेका थिए । यो साल भने बीउँको समस्या भएकाले १० मन मात्रै रोप्दैछन् । गतसालको मेहेनतले यो साल उनले खाने आलु २५ मन बेचे । बीउ आलु भने ४० मन बेचे । आफ्नै बारीको आधा र अरुको बारीमा फलाइएका आधा गरी आलु रोपिने भएकाले यस वर्ष पनि आधा अरुको बारीमा फलाइएका आलु लिएर रोप्ने मनसायले उनले तीन हजार दुई सयको भाउमा आलु बीउ बेचेका हुन् । तर अहिले रोप्ने सिजनमा भने आलु बीउ किन्नै पाएन ।

‘सबै किसान मेरैमा आलु बीउ किन्न आए । आफू कस्कामा किन्न जानु ? उबेला किन्न पाइन्छ भनेर बेचियो । अहिले आफ्नै बारी बाझो भो’, उनी भन्छन्, ‘अब यो साल यत्ति नै रोपेर चित्त बुझाउछु ।’

गएको सालको तुलनामा आलु उत्पादन बढेको छ । माइजोगमाई गाउँपालिका १ का किसान तथा व्यापारी पेम्बा शेर्पाले यो साल दुई सय मन आलु बेचे । ३० मनबाट फलेको आलु सो बराबर बेचेर आफ्नै लागि ४० मन बीउ रोप्नको लागि राखेका छन् । शेर्पाका अनुसार, माइजोगमाई १ मा मात्रै डेढ सय घरधुरी आलु खेतीमा आश्रित छन् ।

इलाममा उत्पादित आलु स्थानिय बजारसँगै झापा, मोरङ्ग, काठमाण्डौँ लगायतका बजारमा पुग्छन् । जिल्लामा एमएस, डेजिरे, बिटे, झ्याले, जनकदेव, खुमल उपहार, खुमल सेतो जस्ता जातका आलु रोपिन्छन् । यस वर्ष इलामको बागबानी विकास केन्द्र इलामले चार सय १२ मन आलु विक्री गरेको छ । यो गतसालको तुलनामा ४३ मन बढी हो । केन्द्र यस वर्ष एक सय ३७ मन रोप्ने तयारीमा छ ।

यस केन्द्रबाट जनकदेव, खुमल उपहार, खुमल सेतो जातका आलु विक्री गर्ने गर्छ । यो साल आलुको माग नै धेरै भएको बागबानी विकास केन्द्र इलामका गणेश खत्रीले जानकारी दिए । यो साल २४ सय मन आलु किसानले माग गरेको उनले बताए ।

आलु उत्पादनमा वृद्धि

कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार इलाममा आलु उत्पादनमा वृद्धि भएको छ । आलु रोपिने क्षेत्रफल वृद्धि भएसँगै उत्पादनमा पनि वृद्धि भएको तथ्याङ्कले देखाउछ । आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाको छ हजार आठ सय ३९ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । २०७५÷०७६ मा छ हजार आठ सय ५९ हेक्टर क्षेत्रफल र २०७६÷०७७ मा छ हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो ।

उत्पादन भने आर्थिक वर्ष २०७४÷०७५ मा ९९ हजार पाँच सय ८२, २०७५÷०७६ मा एक लाख नौ हजार सात सय ५०, २०७६÷०७७ मा एक लाख १० हजार नौ सय २९ मेट्रिकटन उत्पादन भएको केन्द्रको तथ्याङ्कमा रहेको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए ।

यस वर्ष कोभिडका कारण बाहिरबाट आलु नआएको र किसान जिल्ला बाहिर अन्य कामका लागि नगएकाले खेती विस्तार भएको, सहि तरिकाले जिल्लामा बीउको लागि आलु भण्डारण गर्न नसकिएको जस्ता कारणले यस वर्ष आलुको बीउ नपाउने समस्या भएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी गणेश राईले बताए । उनले भने, ‘यो अभाव हटाउनका लागि नै जिल्लाका विभिन्न पालिकामा रष्ट्रिक स्टोर (घर) निर्माणमा जुटेका छौँ ।’ यो स्टोर सञ्चालनमा आएपछि भने बीउको समस्या कम हुनेमा केन्द्र ढुक्क छ ।

बीउ अभाव हुन नदिन रष्ट्रिक स्टोर

आलुको बीउ अभाव हुन नदिन इलामका तीन पालिकामा बीउ भण्डारणका लागि रष्ट्रिक स्टोर (घर) निर्माण गरिने भएको छ । जिल्लाका १० स्थानिय तह मध्ये तीन स्थानिय तह फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा स्टोर निर्माण गरिने भएको हो ।

फाकफोकथुम गाउँपालिकामा भने गतसाल नै निर्माण सम्पन्न भएको छ । यो सालबाट सुचारु समेत गरिएको छ । यो वर्ष भने सन्दकपुर र माईजोगमाई गाउँपालिकामा निर्माण गरिने भएको केन्द्रका सूचना अधिकारी गणेश राईले जानकारी दिए । उनले भने, ‘यस स्टोरमा पाँच मेट्रिकटन आलुको बीउ भण्डारण गर्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार