
इलाम । इलाम नगरपालिका ४ की कमलादेवी सेढाईं ओझालाई कामको अभाव छैन । छुट्टी नपाइएला कि भन्ने पीर छैन । कोरोना महामारीका कारण व्यवसाय चौपट भयो, तलब पाइएन भन्ने चिन्ता छैन । र परदेशमा काम नपाउँदा औँला भाच्दै नेपाल उडान हुने दिन गन्नुपर्ला भन्ने पीर पनि छैन । आफ्नो व्यवसाय, आफ्नै खटन र आफ्नै छ कमाई । भन्छिन्, ‘आफ्नो जिन्दगीको मालिक आफैं हुँदाको फाइदा नै यही हो ।’
परदेशमा कमाएर देशमा केही गरौंला भनेर उनी पनि परदेश गएकी थिइन् । तर इजरायलमा ९ वर्ष बिताएर स्वदेश आएपछि उनलाई आफ्नै घर प्यारो लाग्न थाल्यो । त्यही आफ्नै घरदेशको प्यार र परदेशको अनुभवले नै उनलाई स्वदेशमै काम गर्न सक्ने बनायो । २०६२ मा उनी इजरायल गएकी थिइन् । घरेलु श्रमिकका रुपमा इजरायल पुगेकी कमलाले ९ वर्ष परदेशमै बिताइन् ।
दुःख गरेर कमाएको रकम बचत भयो । यही बचत रकम नै उनले स्वदेश फर्किएर व्यवसायमा लगानी गरिन् । ‘अर्काको बारीमा काम गर्नु र आफ्नो बारीमा काम गर्नुमा आकाश पातालको फरक पर्दो रहेछ,’ कमलादेवी भन्छिन्, ‘विदेश भन्दा त स्वदेशमा कत्ति हो कत्ति सहज रहेछ ।’

स्वदेशमै काम थाल्न त्यो काममा सफलता हात पार्न त सजिलो छैन । मेहनत गर्नु पर्छ । नाफाघाटा सहनु पर्छ । एकैपटक धेरै खोजेर पनि हुँदैन । कमलादेवीको अनुभवले यही भन्छ ।
उनले पनि पाँचथरको फिदिममा दुई वर्ष किराना पसल चलाइन् । पाँच वर्ष होटल र चार वर्ष कुखुरा फार्म सञ्चालन गरिन् । यी काममा भने जस्तो मुनाफा भएन । तर पनि उनले हार मानिनन् । त्यसपछि व्यवसायकै सिलसिलामा केही वर्ष झापाको बिर्तामोडमा बसिन् । र पनि सफलता हात परेन ।
थालेका र आँटेका काममा असफलता हात परे पनि मन हारेन । इलाम आएर मल्टी व्यवसाय सुरु गरिन् । यसले भने राम्रै भयो । २०६९ सालमा ओझा किबी फार्म र विजय अजय पोल्ट्रिफार्म एकैसाथ दर्ता गरिन् । व्यवसाय राम्रो पनि भयो । आफूलाई मात्रै होइन, अन्य ६ जनालाई समेत रोजगारी दिन सक्ने बनिन् । परिवारका सबै सदस्य पनि यही व्यवसायमा लागे ।
सरकारी जागिरबाट अवकाशप्राप्त कमलादेवीका श्रीमान् महानन्द ओझा समेत यही व्यवसायमा रमाएका छन् । महानन्द निमावि शिक्षक थिए । २०७० सालमा उनले अवकाश पाएका हुन् । श्रीमानले अवकाश पाएपछि कमलादेवीलाई काम गर्न सजिलो भयो ।
कोरोना महामारीमा घाटा भयो, तर डराउनु भएन
कोरोना महामारीका कारण सबै ब्यवसाय धरापमा परे । कमलालाई पनि असर नगरेको होइन । यातायात ठप्प भयो । बजारमा कुखुराको दाना आएन । दानाको अभावमा चार सय कुखुरा मरे । झण्डै चार लाख २० हजार रुपैयाँ घाटा भयो । कोरोनाको डरले काम गर्दै गरेका तीन जनाले काम समेत छोडे । यत्ति हुँदा समेत उनी आत्तिनन् । व्यवसायमा आत्तिनु हुन्न भनेर विदेश छदा सिकेको ज्ञान यो समयमा भने काम लाग्यो ।
कमलादेवी भन्छिन्, ‘डराएर, आत्तिएर हैन, सोचेर बुझेर कुनै पनि कदम चाल्नुपर्छ ।’ त्यही दुःख र अप्ठेरो परिस्थितिमा नआत्तिएकै कारण कमलादेवीलाई जस्तो परिस्थितीमा पनि अघि बढ्न सहज भयो । अहिले सरकारले लकडाउन हटाएसँगै फेरि व्यवसायले गति लिन थालेको छ । उनी पनि खुसी छिन् ।
अहिले त कमलादेवीको व्यवसायमा लगानी एक करोड रुपैयाँ पुगेको छ । उत्पादित सामान स्थानीय बजारसँगै फिदिम, ताप्लेजुङ्गसम्म पुग्छ । गाडी आफ्नै भएकाले सामान बजार पु¥याउन भने उत्ति गाह्रो छैन । दुई महिला सहित तीन जनालाई अहिले पनि उनले रोजगारी दिएकी छिन् ।
बाँचेसम्म कुखुरा व्यवसाय गर्ने
व्यवसाय सुरु गर्दै नगर्नु, गरेपछि निरन्तरता दिनु । यो कुरा कमलादेवीले विदेश छँदै सिकिन् । कोरोना महामारीका कारण व्यवसायमा घाटा भयो । भएको घाटालाई उकास्न पाँच हजार कुखुरा थप्ने उनको अबको योजना छ ।
दिगो आम्दानीको स्रोत नै कुखुरा फार्म हो भन्ने लाग्छ उनलाई । ‘कुखुरा फार्मबाटै व्यवसाय जन्मियो, अब अन्त्य पनि यसैबाट हुन्छ, मेरो स्वाश रहेसम्म कुखुरा व्यवसाय गरी नै रहनेछु,’ उनी भन्छिन् ।
रोजगारी दिने र परदेशिन रोक्ने योजना

रहरैमा परदेशिन जति सजिलो छ, उता अरुको खटनपटनमा बस्न उत्ति नै बढी गाह्रो छ । कमलादेवीलाई लाग्छ, भरसक कोही परदेश जान नपरोस् । उनको फार्ममा अहिले तीन जना छन् कामदार । तिहारपछि थप तीन जना कर्मचारी थप्ने उनको योजना छ ।
कामका लागि एक व्यक्ति मात्रै होइन परिवार नै राख्ने गरिएको कमला बताउछिन् । कर्मचारी थप्ने योजनासँगै २०७७ सालबाटै बाख्रा पालन पनि सुरु गरेकी छिन् । तत्काल १५ वटा बाख्राबाट सुरु गरिएको व्यवसाय अर्को वर्ष बढाउने उनको सोच छ । र दर्ता पनि गर्ने योजना छ । भन्छिन्, ‘मलाई यही देशमा पसिना बगाउन मन र परदेशिन लागेकालाई रोक्न सकौँ भन्ने चाहना छ ।’


755 पटक हेरिएको 






