आमुख
गुरुङ रामप्रसाद समथिङ पाँचथरको नागिनमा जन्मिएका श्रष्टा हुन् । उनी वर्तमान समयका एकजना पेशेवर लेखक हुन् । उनले नेपाली साहित्यको विभिन्न विधामा कलम चलाएका छन् । पछिल्लो पल्ट उनको कथा जिन्दगीका नामक कथा स्रग्रह २०७६ प्रकाशनमा आएको छ । यो उनको ५१ औं कृति हो । यस अघि पनि उनको मान्छेका पीडा र याक्सा भित्रको कथाहरु नामक कथाकृतिहरु प्रकाशित भइसकेका छन् ।
प्रस्तुत आलेखमा रामप्रकाशको नयाँ कृति कथा जिन्दगीका कथा संग्रहमाथि समालोचकीय पर्यवेक्षण गरिएको छ ।
कथा परिचय
प्रस्तुत कथा संग्रहमा जम्मा १२ वटा कथा संगृहित छन् । दोषी कर्म, रातो झण्डा, बम्बै यात्रा, कमरेडको सपना, सडक जिन्दगी, मिशन पैसा, मायाँको रड्ग, अन्तिम सहारा, जँड्याहा कवि, चकुसेको जिन्दगी, डलरको ताप र जनयुद्धको उपहार आदि यस संग्रहमा रहेका कथा शीर्षकहरु हुन् । कथकारले यी कथाहरु २०७५ कार्तिक २१ ग्तेदेखि २०७५ पौष १८ गते बीचको समयावधिमा लेखेको देखिन्छ । आफूले देखे भोगेका र अनुभूति गरेका विषयलाई कथानक बनाएर पाँचथरको रानीटार र फिदिममा बसेर कथा लेखनकार्य सम्पन्न गरेको देखिन्छ । यसरी हेर्दा पनि रामप्रकाश पेशेवर लेखक हुने भन्ने पुष्टि हुन्छ ।
संग्रहमा समावेश भएको पहिलो कथा हो ( दोषी कर्म । यो कथाको नायिका प्रमिला हो । जँड्याहा लोग्ने प्रदिपको उत्पीडनमा परेर कारुणिक जीवन बाध्य छिन् प्रमिला । जँड्याहा प्रदिपले आफ्नै छोरीलाइ बलात्कार गर्छ । त्यही कारण सन्जुले आत्महत्या गर्छे । यी सारा पीडालाइ सहेर भए पनि प्रमिला बाच्न चाहन्छे तर , उसले लोग्नेको खराब आचरणलाइ नभइ आफ्नै कर्मलाइ दोषी ठान्छे । यो नेपाली समाजमा हुने एक कुरुप कथा हो ।
संग्रहको दोश्रो कथा हो–रातो झण्डा । चट्टान पार्टीको एक इमान्दार कार्यकर्ता हो । तर चट्टान मर्दा उसलाइ उसको पार्टीले रातो झण्डा ओढाएर औपचारिक श्रद्धाञ्जली बाहेक केही दिन सक्दैन । यो विषयमा लिम्बू बुढाले आफ्नो धारणा राख्छन् । यो एक सामाजिक राजनीतिक कथा हो । यस्तै बम्बै यात्रा संग्रहको तेश्रो कथा हो ।
दलालको फन्दामा फसेर बम्बैको कोठीमा नारकीय जीवन भोगेर आफ्नै गाउँमा फर्केर तिरस्कृत अवस्थामा बाच्न बाध्य भएकी पुर्णिमाको कथा हो यो । यो कथा निकै कारुणिक र मार्मिक छ । नेपाली समाजमा यस्ता प्रसस्त घटना हुन्छन् । कथाकारले यस प्रकृतिको घटनालाइ विषय बनाएर कथा लेखेका हुन् । चेतनाको अभावमा , पैसा र सुखसयलको आश्वासनमा परेर नेपाली हज्जारौं छोरीचेलीले दलालको शिकार हुनुपरेको यथार्थ चित्रण प्रस्तुत कथाले गरेको छ ।
कमरेडको सपना संग्रको चौथो कथा हो । यो राजनीतिक विषयमा लेखिएको कथा हो । खास गरी नेपालमा चलेको दशवर्षे जनयुद्ध र यसबाट सृजित समस्यामध्ये एउटा घटना र पात्रका माध्यमबाट सामाजिक घटनाजन्य पीडा,घात,अभिघात र अनुभूतिहरुलाई कथामा आतमसात गरिएको छ । कथाको प्रमुख पात्र बलिहांग हुन् । उ जनयुद्धमा होमिएको पात्र हो । यसै क्रममा घाइते भएर एउटा खुट्टा बैशाखीको सहारामा बाचेको हुन्छ । जनयुद्धपछिको समयमा उ आबद्ध पार्टीले सत्ता चलाएपनि नेपाली समाजमा विद्यमान असमानता,अन्याय र शोषण कायमै रहेको देखेर खिन्न हुन्छ ।
बलिहांगले नेपालको राष्ट्रिय राजनीतिमाथि गरेको समीक्षा हो यो । राजनीतिक विषयमा लेखिएको स्रष्टा रामप्रकाशको अर्को एक सुन्दर राजनीतिक कथा हो यो । सडक जिन्दगी संग्रहको पाँचौ कथा हो । ‘के गर्छस मंगले ? आफ्नै ढंगले !’ भन्ने नेपाली उखानलाइ यो कथाले चरितार्थ गरेको छ ।
बलबहादुर हाकिम भएर पनि रक्सी, जुवातास र रण्डीबाजीको कारण सडकबासमा पुग्छ । छोरा बलबहादुरको कुकृत्य देखेर बुबा हुकुमबहादुरलाइ ठुलो पीर पर्छ । अन्तिममा बलबहादुरले आफ्नो गल्ती महसुस त गर्छ, तर त्यतिबेला समयले नेटो काटिसकेको हुन्छ । अन्ततः बलबहादुरको जिन्दगी दयनीय र बेहाल बन्छ । यो एक मार्मिक सामाजिक कथा हो ।
मिसन पैसा संग्रहको छैटौं कथा हो । पैसा नै सबैथोक हो भनेर नैतिकता र इमानजमान बेचेर पैसा नै विनोदलाइ गलपासो बन्छ । पैसाको लागि गरेको कुकर्मको परिणाम उसले भोग्छ । विनोदकी स्वास्नी ज्योति परपुरुषलम्पट पात्र हुन् । स्वास्नीले चाहेमा लोग्नेलाई कसरी थाङ्नामा सुताउन सक्छे भन्ने उदाहरणको रूपमा लेखकले यो कथालाई उभ्याएका छन् ।
कथा सटिक र मार्मिक भएर पनि कथानकको पुनरावृति हुँदा पाठकलाई भद्दा झैं अनुभूति हुन्छ । मायाको रंग संग्रहमा समाविष्ठ सातौं कथा हो । यौन तृप्तिका लागि मैयाले आफ्नो लोग्ने र नानीहरुलाई समेत त्याग्छे । आफ्नै लोग्ने भरतको सर्वनाश गर्छे । मानवसमाजमा लोग्ने मात्र परस्त्रीप्रति आकर्षक हुने नभइ स्वास्नी पनि परपुरुषप्रति आकर्षित हुन्छन् भन्ने एक उदाहरणीय कथा हो यो ।
यो एउटा कुरुप यौन कथा हो । अन्तिम सहारा संग्रहको आठौं कथा शीर्षक हो । नेपाली समाजको बदलिदो चरित्रको कुरुप पक्षलाई यस कथामा चित्रण गरिएको छ । आधुनिकताको नाममा छोराबुहारीले जन्म दिने बाआमालाई माया र सम्मान दिनको साटो घृणा, अपहेलना र तिरस्कार गर्ने र बृद्धाश्रममा लगेर छाड्ने प्रसस्तै घटना छन् । कथाकारले तिनै घटना र प्रवृतिलाइ विषय बनाएर यो कथा सृजना गरेको देखिन्छ । आधुनिक भनिएका मान्छेभित्र रहेको मानवीय समबेदनाहीनताको पराकाष्ठाको एउटा उदाहरण हो यो कथा ।
संग्रहमा रहेको नवौ कथा हो– जँड्याहा कवि । योकथाले साहित्यकार,लेखकहरुको परिवारमा हुने विकृत पक्षलाई चियाएको छ । कथालाई शीर्ष सुहाउदो पार्न लेकले कवि पात्रको प्रयोग गरेका छन् । यो कवितातमक कथा पनि हो । कथाको नायक किरण स्वयम् कवि हुन् । किरणले राज्य र सरकारबाट सहयोग,सद्भाव र सम्मान पाएन नै स्वयम् आफ्नै श्रीमतीबाट समेत माया,साथ र सम्मान पाएन । स्रष्टाले आफ्नै बर्गमा हुने समस्यालाइ विषय बनाएर यो कथा लेखेका छन् । हरेक स्रटालाइ स्वमूल्यांकन गर्न उपयोगी छ यो कथा ।
अपवाद बाहेक किरणले जस्तै पीडा नेपालका लेखक साहित्यकारले भोग्नु परेको तीतो यथार्थतालाई यो कथामार्फत देखाउन सफल भएका छन् । यस्तै यो कथाकृतिभित्र समावेश दशौ. कथा हो–चकुसेको जिन्दगी । चकुसे अर्थात चन्द्र,कुमार र सेसेमी । चकुसे आबारा अल्लारे पात्र हुन् , तिनैको जीवन भोगाइलाइ विषय बनाएर यो कथाको रचना भएको छ । जाँड रक्सीको कुलतमा फसेका युवाहरूको अवस्थालाई यो कथामा चकुसेमार्फत देखाइएको छ । नेपाली समाजमा यो यो उमेसमुहमा रहेका युवामा यस्ता समस्या विकराल छ, तिनै समस्यामा युवाको ध्यानाकर्षण होस् भन्ने धेयबाट यो कथा लेखेको देखिन्छ । कथा सन्देशमुक र उद्देश्यकेन्द्रित छ ।
यस्तै डलरको ताप यस कृतिमा समावेश एघारौं कथा हो । यो कथाको भावार्थ पनि मिसन पैसा शीर्षकको कथाको जस्तै रहेको छ ।
कथानक र परिवेश मात्र फरक रहेको छ । यौन उनमादमा परेर कविताले आफ्नो लोग्ने पुर्णलाइ आत्महत्या गर्न बाध्य पार्छे । आफूले यौन सुम्पेको किरणले पनि कवितालाइ छोडेपछि कविताको कन्तविजोक हुन्छ । अन्त्यमा कुकुर मराइ हुन्छ कविताको । नेपाली समाजमा सृजित यस्ताखाले समस्यालाइ विषय बनाएर स्रष्टाले यो कथाको सृजना गरेको देखिन्छ । यो पनि सन्देशमुलक सामाजिक कथा हो । जनयुद्धको उपहार यस संग्रहको बाह्रौं तथा अन्तिम कथा हो । यो राजनीतिक विषयमाथि लेखिएको कथा हो । जनयुद्धले नेपाली समाजमा ल्याएको जातीय समानताको चेतना र त्यसको प्रतिवादको कथा हो यो ।
संस्कृति बाहुन हो भने सूर्यमा कामीकी छोरी हुन् । उनिहरुबीचमा विवाह भएर बालबच्चा हुन्छ । तर, संस्कृतिको बुबा कट्टर जातिवादी भएकाले बुहारीलाई स्वीकारदैन । संस्कृतिको मृत्युपछि घरबाट सूर्यमा घरबाट निकालिन्छे । तथापि सूर्यमा हिम्मत नहारी बाँच्ने दृढतामा हुन्छे । यसरी हेर्दा यो प्रगतिशील जनवादी कथा हो । यसको कथा विषय निकै मार्मिक,कारुणिक र त्यतिकै सहासिक पनि छ । यसरी सरसर्ती हेर्दा प्रस्तुत कथाकृतिभित्र रहेका रामप्रकाशका कथाको सटिक परिचय यिनै र यस्तै नै रहेको देखिन्छ ।
रामप्रकाशका कथाकारिताका विशेषताहरु
नेपाली कथाको फाटमा रामप्रकाश आफ्नै निजत्वसहित देखा परेका छन् । यिनको कथामा कथा सिद्धान्तको स्थापित मूल्यहरूकै निरन्तरता छ , तर त्यसभित्र आफ्नै शैली,बान्की र विषय छनौटका कारण पृथकस्वादमा रहेका हुछन् । विषयको छनौट,पात्रको निर्माण र तिनको चरित्र चित्रणमा स्थानिकताले प्राथमिकता पाएका हुन्छन् । लेखकले देखेभोगेको विषयलाइ कथाको विषय बनाएर कथानकको विस्तार गरेका हुन्छन् । विषयमा स्थानिकता,चरित्र निर्माण र चित्रणमा स्थानिकता,भाषा शैली र प्रस्तुतिमा आञ्चलिकता भएर पनि मान्छेका जिनदगीका भोगाइहरु विस्वजनित छन,मानवजनित छन् । यसरी हेर्दा कथाकार रामप्रकाश स्थानीय विषय र परिवेशमा कथा लेखे तापनि मान्छेका भोगाइका अनुभूतिहरु समान हुन्छन भन्ने देखाइएको छ । यो रामप्रकाशको कथाकारितामा पाइने विशेषता हो ।
भाषा,शैली र प्रस्तुति सरल र सुस्वाद छन् । ठेट गाउँले शब्दको छनौट,छरितो वाक्य गठन हुनु यसको प्रमाण हो । शब्दको आडम्बर र क्लिष्ठता कतै भेटिदैन । पात्रको चेतनास्तरसँग मेल खाने खालका शब्दहरूको छनौट गरेर कथा लेख्न उनि सिपालु देखिन्छन् । कथा लेखनमा हुने वाद वा विचारको आलोकमा राखेर हेर्दा उनको कथा मिश्रितखालको रहेको देखिन्छ । मुलतः रामप्रकाश सामाजिक र राजनीतिक विषयमा कथा लेख्न रुची राख्छन् भने यौन कथा लेखनमा सर्वाधिक रुची रहेको पाइन्छ । यौनिक कथा लेखनमा प्रयुक्त हुने बिम्ब उपमा र प्रतीकको प्रयोगमा उनी बेखबर छन् या सिधै लेख्न रुचाउछन् ?समालोचकीय द्विविधा हुन्छ । यो पनि उनको कथा लेखनमा पाइने विशेषता हो । संरचनाका आधारमा हेर्दा उनी मझौला र लामो कथा लेख्छन् । कथाको विषय छनौट,उद्देश्य र विचारमा प्रष्टता हुँदाहुँदै पनि कला पक्षमा भने फितलो झै अनुभूति हुन्छ ।
उनले जुन विषयमा जस्तो परिवेश र चरित्र निर्माण गरेर कथा लेखे तापनि निमुखा जनताको पक्षमा, अन्यायको विरुद्धमा, उज्यालो, समृद्धि, विकास र समानताको पक्षमा हुनु, सोषण,अन्याय, अत्याचार, विचार, दुराचार, भ्रष्टाचारको विरुद्धमा आफ्ना पात्रहरुलाई उभ्याएर आफ्नो लेखकीय विचार सम्प्रेषण गर्नु उनको कथा लेखनको केन्द्रीय उद्देश्य रहेको देखिन्छ । लाग्छ, उनले कथा लेख्दा कुनै कथाकारको कथा पढेनन्, सिद्धान्त र सूत्रहरु प्नि पढेनन् । र, अर्काको अनुकरण पनि गरेनन् । जानेर भन्दा पनि आफैले देखे भोगेका अनुभूतिजन्य विचार र भावलाई मनैले अभिव्यक्त गर्दै गए । उनले त्यसैलाइ कथा ठाने, आफ्नो कथा हो भनेर पाठकका बीचमा ल्याइदिए । पाठक र समालोचकका अदालतमा पेश गरिदिए ।
यो कथाकृतिमाथि मेरो सामान्य पर्यवेक्षण मात्र हो,पूर्ण समालोचना होइन । सम्पूर्ण कथाको समालोचना त विश्वविधालयको सोधार्थीले आफ्नो अनुसन्धानमा गर्न सक्छन् । तिनका लागि विषयप्रवेश हो प्रस्तुत आलेख । उनको कथाहरूमाथिको परिचयात्मक समालेचकीय पर्यवेक्षण मात्र हो ।
पाँचथरको कथासाहित्यको इतिहासमा आज आएर रामप्रकाश एकजना सशक्त कथाकारको रूपमा देखा परेका छन्, यो आफैमा हाम्रा लागि महत्वपूर्ण उपलब्धि हो । यसबाट नेपाली कथाको भण्डारमा केही मुठ्ठी अन्नको आपूर्ति निश्चय नै हुनेछ । कथाकारलाइ अझै स्तरीय कथा लेख्ने प्रेरणा मिलोस् । यही शुभेच्छा साथ धन्यवाद ।


1050 पटक हेरिएको 






