विदेशबाट फर्केर थालेको डेरी व्यवसाय कोरोनाले संकटमा

जे गरे नी मनै पिरोलिने

  सुजता सुनुवार

 501 पटक हेरिएको

इलाम । आफ्नै ठाउँमा पाखुरा बजारेर खान्छु भन्नेलाई इलाममा उपयुक्त ठाउँ र वातावरण छ । यहाँका अनेक विकल्पमध्ये धेरैले दूग्धजन्य उत्पादनबाट नै गुजारा चलाउँछन् ।इलामका लागि डेरी उद्योग आर्थिक समृद्धिको आधार मानिन्छ । तर कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले इलामका डेरी उद्योगमा प्रत्यक्ष असर परेको छ । यसले धेरै उद्योग बन्द मात्र गरेन, सञ्चालन भएका अधिकांश उद्योगमा समेत आर्थिक भार परेको छ ।

इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाका केवल राईले पाँच वर्ष अघि तामाङसुङ्ग डेरी उद्योग खोले । तामाङसुङ्गले गाउँका ५९ जना किसानलाई पालेको छ । यति मात्रै होइन, विदेशको दुःख स्वदेशी सुखमा परिणत समेत गरिदिएको छ । तर अचानक, विश्वमा महामारी आयो, कोरोना भाइरसको ।

यसले उद्योगी केवललाई भने पर्नुसम्मको पीर परेको छ । लकडाउनले उत्पादित छुर्पी, घ्यू बिक्री नहुँदा २० दिन उद्योग नै बन्द गर्नु प¥यो । उत्पादित छुर्पी, घ्यूको माग आएपछि भने केवलले धमाधम उत्पादन गर्दै बिक्री गर्न थाले, तर उधारोमा ।

‘छ महिना भयो, रकम नै पाएको छैन, २५ लाख मेरो पेमेन्ट हुन बाँकी छ’ उनी थप्छन्, ‘दूध ल्याउने किसानलाई बैंकबाट लोन लिएको पैसाले रकम दिँदैछु ।’ उनले बैंकमा बुझाउनुपर्ने ब्याज समेत नबुझाई अहिले किसानलाई दूधको मूल्य दिदै आइरहेका छन् ।

केवलले उद्योगमा १५ लाख लगानी गरेका छन् । दिनमा तीन सय ५० लिटर दूध प्रशोधन हुन्छ । यसबाट साँडे १२ केजी घ्यू र १४ केजी छुर्पी उत्पादन हुन्छ । जसमध्ये महिनामा १० केजी घ्यू स्थानीय बजारमा र बाँकी सबै बाहिरी बजारमा पठाउने गरेको उनको भनाइ छ ।

पहिले उत्पादित घ्यू, छुर्पी जापान, भारतको दार्जीलिङ, मिरिक, सिलिगुढीसम्म जान्थ्यो, तर अहिले ठप्प छ । लकडाउनले गर्दा ५० प्रतिशत घाटा व्यर्होनु परेको उनले बताए ।

केवलले यो उद्योग सानो दुःखले खोलेका होइनन् । २०६० सालमा वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगे । उनले चार वर्ष उतै बिताए । तर सोचे जस्तो कमाई भएन । कमाउन गएको मानिस, कमाइ नै नभएपछि परदेशमा बस्ने कुरै भएन । त्यसैले परदेशको माया मारेर नेपाल नै फर्के ।

विदेशको दुःख भोगेर स्वदेश फर्किएपछि देशमै स्वरोजगार भएको पनि १७ वर्ष पूरा भइसक्यो । तर अहिलेको जस्तो विपत्ति कहिल्यै भोग्नु परेको थिएन । ‘विदेश गइयो प्रगति भएन, नेपाल आएर उद्योग खोलियो, यसले पनि घाटा लगाउला जस्तो भो, अब कसो गरेर व्यवहार सुधार्ने सोच्न सकेको छ्रैन ’ केवल भन्छन् । एक दिन अवस्था सामान्य होला र डेरी व्यवसाय पुरानै लयमा फर्किएला भन्ने आशमा छन् उनी ।

अरुलाई रोजगारी दिने योजना पूरा भएन सुकबहादुरको

सधैं हँसिला देखिने सुकबहादुर राईको अनुहारमा अहिले बादल लागेजस्तै भएको छ । लकडाउनले उद्योग चौपट बनायो । बनाएको योजना पूरा भएन । यसले साह्रै ठूलो पीर दिएको छ उनलाई । एक दिन त परिस्थिति सामान्य होला भनेर उनी मन बुझाएर बस्न बाध्य छन् । तर कहिले होला थाहा छैन ।

इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवामा छ, उनको डेरी उद्योग । एक वर्ष भयो डेरी सञ्चालन गरेको । आफू पनि स्वरोजगार हुने र गाउँमा रोजगारी पाइएन भन्दै परदेशिने तयारीमा रहेका युवालाई रोजगारी दिने योजना सहित सुरु गरेको उनको उद्योग कोरोनाको मारमा प¥यो ।

१७ वर्ष अघि रोजगारी खोज्दै यूएई पुगेका सुकबहादुरको परदेश बसाइ सुखद रहेन । यूएईमा पाँच वर्ष बिताए उनले । तर उनले परदेश बसाईमा देब्रे हातको बुढी औँला गुमाउन प¥यो ।
फेरि २०६९ सालमा कतारतिर हानिए उनी । एक वर्ष आठ महिना श्रम गरे । अनि परदेश बसाइ बिट मारेर सदाका लागि नेपाल आए ।

यी दुई देशमा भोग्नु परेका दुःख र हण्डरले नै उनलाई देशमै केही गर्ने आँट दियो । तर थालेको कामलाई कोरोनाले गलाउँदा उनी पनि नमज्जाले गलेका छन् ।

उद्योगमा महिनामा ११ सय लिटर दूध प्रशोधन हुन्छ । यसबाट ३२÷३२ किलो घ्यू र छुर्पी उत्पादन गर्छन् । यी सबै उत्पादन स्थानीय बजारमा नै बिक्री हुन्छ । तर अहिले कोरोनाले उनको उद्योगलाई असर गर्दा न त उनले व्यवसाय विस्तार गर्न पाए, न त उत्पादन नै बजारमा गएका छन् ।

सूर्योदय नगरपालिका – ३ स्थित लक्की डेरी उद्योगका प्रोप्राइटर तुलु तामाङको पनि उस्तै छ पीडा । लकडाउनका कारण एक महिना उद्योग बन्द भयो । यसको प्रत्यक्ष असर किसानमा प¥यो । बन्दपछि सुरु गर्दा उद्योगमा दुई हजार सात सय लिटर दूध घट्यो । व्यापार पनि डामाडोल भयो । उद्योग आसपासका तीन सय ५० जना किसान यसैमा निर्भर छन् ।

‘उद्योग खोलेपछिको पेमेन्ट गर्न पनि गाह्रो छ, जसोतसो दुई महिनामा एक पटक मात्रै पेमेन्ट गर्दैछौं,’ उनले भने ‘अपुग रकम आफ्नै गोजीको जाँदैछ, बैंकको ऋणको ब्याज तिर्न सकेको छैन ।’ वाणिज्य बैंकबाट लिएको लोनको ब्याज तिर्न सकेको छैन । उनलाई यो बेलामा बैंकको व्याजमा मात्र सहुलियत भए पनि व्यवसाय सञ्चालन गर्न सजिलो हुन्थ्यो भन्ने लागेको छ ।

ढुवानीको मूल्य दोब्बरले बढ्यो

लकडाउनका कारण केही महिना डेरी उद्योगहरु बन्द भए । कति त अझै पनि बन्द छन् । बन्दपछि सञ्चालन सुरु भएका उद्योगमा उत्पादित छुर्पी, घ्यू निर्यात त भए तर ढुवानीको मूल्य दोब्बर नै बढेर गएकाले समस्या भएको छ । इलाममा उत्पादन भएका धेरै जसो छुर्पी एग्रोकल्चर नेपाल नामको कम्पनी मार्फत विदेश निर्यात हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा निर्यात अहिले एकदम कम भइरहेको सेतो पहाड डेरी उद्योग तथा कम्पनी सञ्चालक मिलन खत्रीले बताए । उनी भन्छन्, ‘गत सालको तुलनामा ढुवानीको मूल्य दोब्बर नै बढेर गएको छ, यसको प्रत्यक्ष असर किसानलाई परेको छ, महङ्गीका कारण किसानलाई उचित मूल्य दिन नसक्नु र समयमा नै पेमेन्ट गर्न नसक्ने जस्ता समस्या भइरहेको छ ।’

उत्पादित छुर्पी, घ्यू अमेरिका र भारत निर्यात हुन्छ । यी देशमा कुकुरका लागि छुर्पी निर्यात हुन्छ । निर्यात सहज नहुँदा कम्पनीमा तीन हजार भन्दा बढी छुर्पी र घ्यू स्टकमा रहेको र दुई हजार भन्दा बढी छुर्पी र घ्यू बिग्रिएको सञ्चालक खत्रीले जानकारी दिए ।

व्यवसायिक गाईपालनले डेरी उद्योग बढ्यो

घरायसी प्रयोजनमा मात्रै सीमित हुने दूध विक्री हुन थालेपछि इलाममा व्यवसायिक गाईपालन सुरु भएको हो । केही वर्ष अघिसम्म दूग्ध संस्थान विराटनगरले संकलन गर्ने दूधको ८० प्रतिशत हिस्सा इलामले ओगट्थ्यो । तर, अहिले गाउँघरतिरै डेरी उद्योग सञ्चालन भएपछि भने दूग्ध विकास संस्थान बिराटनगरमा जाने दूधको परिमाण घटेको छ ।

‘गत सालको तुलनामा ढुवानीको मूल्य दोब्बर नै बढेर गएको छ, यसको प्रत्यक्ष असर किसानलाई परेको छ, महङ्गीका कारण किसानलाई उचित मूल्य दिन नसक्नु र समयमा नै पेमेन्ट गर्न नसक्ने जस्ता समस्या भइरहेको छ ।’जिल्लामा उत्पादन भएको दूधबाट घ्यू, छुर्पी, चिज, ललिपप, पनिर तथा मिठाइजन्य परिकार बनाइन्छ । साविक जिल्ला पशुसेवा कार्यालय इलामका अनुसार जिल्लामा बर्सेनि एक लाख २३ हजार सात सय मेट्रिकटन दूध उत्पादन हुन्छ ।

यसलाई हेर्दा इलाममा दैनिक तीन लाख ४० हजार लिटर दूध उत्पादन भएको देखिन्छ । आर्थिक वर्ष २०७२/०७३ को तुलनामा २०७३/०७४ मा दुई हजार एक सय ३८ मेट्रिक टन दूध उत्पादन बढेको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७०/०७१ सम्ममा इलाममा दुई सय १५ वटा डेरी उद्योग थियो । आर्थिक वर्ष २०७१/०७२ मा ५० वटा गाईफम र डेरी स्थापना भएका छन् । २०७२/०७३ मा २५ वटा, २०७३/०७४ मा ७३ उद्योग स्थापना भएको घरेलु तथा साना उद्योग विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा इलाममा ५८ डेरी उद्योग छन् ।

दुई हजार छ सय २३ विभिन्न किसिमका उद्योग रहेको इलाममा चार सय २१ डेरी उद्योग रहेको घरेलु तथा साना उद्योग विकास कार्यालय इलामको तथ्याङ्कमा देखिएको छ । पछिल्लो समय आर्थिक वर्ष २०७५/०७६ मा २२ र चालु आर्थिक वर्ष २०७६/०७७ मा ३४ वटा डेरी उद्योग मात्रै दर्ता भएको तथ्याङ्कले देखाएको छ । नवीकरण गर्न छुटेका उद्योगले समेत यस आर्थिक वर्षमा ३१ उद्योग र २५ गाई फार्म गरी ५६ वटाको नवीकरण भएको कार्यलयका सूचना अधिकारी युवराज घोर्साइले जानकारी दिए ।

ग्रामीण क्षेत्रमा उद्योग खुले पनि कतिपय उद्योग दर्ता नहुने उनको भनाई छ । इलाम जिल्लामा मात्रै झण्डै तीन लाख किलो छुर्पी उत्पादन हुन्छ । सरदर छ सय रुपैयाँका दरले मात्रै हिसाब गर्दा छुर्पीको बिक्रीबाट मात्रै वार्षिक एक अर्ब ८० करोड रुपैयाँ नेपाल भित्रिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार