वर्तमान सन्दर्भमा जवजको सान्दर्भिकता

मदन भण्डारीको ६९ औं जन्मदिन

  डा. देवी क्षेत्री दुलाल

 885 पटक हेरिएको

आज जननेता मदन भण्डारीको ६९ औं जन्मदिन । भण्डारीले नेपालको राजनीतिक रंगमञ्चमा जनताको बहुदलीय जनवादको विचार प्रतिवाद गरेर आफूलाई एक नवीन राजनीतिक विचारकका रूपमा उभ्याएका छन् ।
आज मदनको अनुपस्थितिमा नेकपाले आफ्नो राजनीतिक आधिकारिक विचारको रूपमा जबजलाई आत्मसात नगरेको हो कि भन्ने देखिन्छ । नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच एक बर्षपहिले एकता हुँदा दुबै पार्टीले आ–आफ्नो आधिकारिक राजनीतिक विचारलाई मुल्तबीमा राखेर जनताको जनबाद आफ्नो पार्टीको आधिकारिक राजनीतिक विचार हुने भनेको छ । यसमा जबजमा अन्तरनीहित विचारबाट कति साभार गरिएको छ । र,२१ औं शताब्दीमा जनताको जनबादबाट कति साभार गरिएको छ ?
जबज र २१ औं शताब्दीमा जनबादको विकासबाट बराबर मिल्दो विचारको अंशहरूलाई समायोजन गरेर नयाँ विचारको रूपमा जज बनाइएको हो ?पार्टी एकतापछिको यात्रामा नेकपाले यस विषयमा पार्टी कार्यकर्ताब्यापी रूपमा प्रष्ट पार्न सकेको देखिदैन ।
जनताको बहुदलीय जनबादले आत्मसात गरेको नवीन मान्यताहरूलाई पृथक राखेर जजले पूर्णता पाउन सक्ला ?या नयाँ विचार बनाउने नाममा विचारको नाम एउटा राखेर जबजको सम्पूर्ण विचारलाई कपी–पेष्ट गरेर अर्को विचार बन्न सक्छ ?
आजको सन्दर्भमा ती प्रश्नहरू ज्वलन्त बनेर आएका छन् । कुनैपनि जीवन्त राजनीतिक पार्टीमा विचारको प्रष्टता भएन भने उसको लक्ष्यहरू अस्पष्टता हुन्छन् । अस्पष्ट लक्ष्यहरू बोकेर हिड्ने पार्टी अन्ततःआफै विचारहीन यात्री जस्तो हुन पुग्छ ।
आज एकीकृत नेकपाको सरकार छ । जनताको जनबादको वैचारिक ओलोकमा बनेको सरकारले देश र जनतालाई अग्रगमनको दिशातिर लैजाने जुन भगिरथ प्रयत्न गरिहेको छ । त्यो आफैमा सान्दर्भिक भएरपनि विचारको एकतामा स्थापित नेकपा आफैमा वैचारिक अस्पष्टताले अन्य मनष्कताको सिकार बनेको देखिन्छ ।
पार्टीबीचमा एकता भएरपनि पूवर्वत पार्टीको गुटहरू अस्तित्वमा रहेको देखिन्छ । दुई आम पार्टी कार्यकर्ताबीचमा वैचारिक र भौतिक अन्तर्घुलन भएको देखिदैन । त्यसैको परिणाम स्वरुप अहिले पनि नेतादेखि कार्यकर्तासम्म पूर्व फलानो पार्टीको भागवण्डा खोज्ने प्रवृत्ति हावी भएको छ । आज नेकपा यसरी वैचारिक, कार्यक्रमिक र सांगठनिक रूपमा अन्तर्घुलन नहुनुको मुल कारण भनकै विचारको अस्पष्टता हो ।
एउटा राजनीतिशास्त्रको विद्यार्थीको आँखाबाट हेर्दा वर्तमान नेपालको सत्तारुढ पार्टी नेकपाभित्र देखिएको प्रमुख वैचारिक समस्यालाई निम्न दुईवटा वँुदामा राख्न सकिन्छ :


१)जनताको बहुदलीय जनबादभन्दा के कुरामा जनताको जनबाद भिन्नता छ ?प्रष्ट हुन जरुरी छ ।
२)जनताको जनबादले जनताको बहुदलीय जनबादको सम्पूर्ण अन्तरवस्तु आत्मसात गरेपछि जज मात्र राख्नुको सान्दर्भिकता देखिदैन ।
हो, आज नेकपाले यी दुईवटा प्रश्नको दार्शनिक, वैचारिक, सांगठनिक र कार्यक्रमिक प्रष्टता पार्न जरुरी हुन्छ । पार्टीले एकता महाधिवेशनबाट यी प्रश्नको निरुपण गर्ने भनेको छ । स्वभाविक रूपमा राजनीतिक पार्टीहरूले आफ्नो विचारको परिमार्जन र विकास आफ्नो अधिवेशनबाटै गर्ने हो । यति बेला नेकपाले आफ्नो एकता महाधिवेशनको आधिकारिक तीथि,मितितय गरिसकेको छैन । तर, नेतादेखि कार्यकर्ता स्तरसम्म नेकपाले अगालेको जनताको जनबाद बारे बहस होस् भन्ने चाहनामा देखिन्छन् । र, जनताको जनबादमा भएको वैचारिक अस्पष्टताको अन्त्य होस् भन्ने चाहन्छन् । यति बेला सत्ताको बागडोर आफ्नो पार्टीले समालेर पनि वैचारिक प्रष्टता नहुनु पार्टी जीवनमा सिर्जित ठूलो समस्या हो । यही कारण पार्टीभित्र देखिने विविध खाले समस्याहरू सतहमा आइरहेको देखिन्छ । दुईजना पार्टी अध्यक्षबीच नै बेमेलको अवस्था घनिभूत हुँदै छ । सचिवालय बीचमा अनेकताका स्वरहरू छरपष्ट भएका छन् । स्थायी समितिको बैठकले नियमितता पाउन सकेको छैन । विधान र नियमावलीमा व्यवस्था भए अनुरुप केन्द्रदेखि सेलतहसम्मका पार्टी कमिटीहरू नियमित हुन सकेका छैनन् । सांगठनिक एकताका कामहरूले पूर्णता पाउन सकेका छैनन् । पार्टी सत्ता र राजनीतिक सत्ताका बीचमा सुमधुर सम्बन्ध हुन सकेको छैन । पार्टी र सरकारकाबीचमा वैमनश्यताकोस्थिति घनिभूत बन्दै गएको छ । पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टी चलाएको जस्तो देखिन्छ ।
राष्ट्रियताको विषय र राष्ट्रिय महामारीजस्ता विषयमा समेत मत एकता रहेको देखिदैन । यसको प्रमुख कारक तत्व भनेकै पार्टीले अंगिकार गरेको राजनीतिक विचारको अस्पष्टतानै हो भन्ने देखिन्छ ।यसकारण नेकपाले जतिसक्दो छिटो पार्टी व्यापी रूपमा विचारको बहसलाई खुला गरिदिनु पर्छ । र, एकता महाधिवेशनमा गएर यसको छिनोफानो गर्नुपर्छ । भण्डारीको जन्मजयन्तीमा मैले यो विषयलाई राजनीतिकशास्त्रीय दृष्टिकोणबाट उठाएको हुँ ।
जनताको बहुदलीय जनबादले माक्सबादको सिर्जनात्मक ब्याख्या , विश्लेषण र विकास गरेर नेपालको सन्दर्भमा नवीन विचारको रूपमा आफूलाई स्थापित गरेको हो । संस्थागत रूपमा यस विचारको विकासमा तत्कालीन नेकपा (माले) र पछि एमाले पार्टीले ठूलो योगदान पु¥याएका छन् । त्यसमा व्यक्तिगत र सांगठनिक नेतृत्वको हिसाबमा तत्कालीन महासचिव मदन भण्डारीलाई प्रमुख नेतृत्व प्रदान गरेको देखिन्छ ।
नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय बादलाई पार्टीको आधिकारिक विचारको रूपमा विकास गरेर नवौं महाधिवेशनमा आइपुग्दा जनताको बहुदलीय जनबादलाई नेकपा एमालेले नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रूपमा विकास गरेको थियो । उता, नेकपा माओबादी हुँदै पछि नेकपा माओबादी केन्द्रको रूपमा स्थापित पार्टीले मालेमाबाद, प्रचण्डपथ हुँदै पछिल्लो समयमा आएर आफ्नो आधिकारिक राजनीतिक विचारको रूपमा २१ औं शताब्दीमा जनताको जनबादको विकासबारे नामक राजनीतिक विचारलाई अघि सारेको थियो ।
हो, त्यही अवस्थामा यी दुई पार्टीको बीचमा राजनीतिक एकता भएर नेकपा बनेपछि दुवैपार्टीले आत्मसात गरेको आ–आफ्नो राजनीतिक विचारलाई छाडेर जनताको जनबादलाई एकीकृत पार्टीको नयाँ विचार हो भन्ने घोषणा गरेका छन् । मदन भण्डारीले प्रतिपादन गरेको राजनीतिक विचार जनताको बहुदलीय जनबादमा अन्तर्निहित आवधिक निर्वाचन, कानुनी शासन , स्वतन्त्र प्रेस, जनतामा सार्वभौम सत्तानिहित, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, लोककल्याणकारी शासन व्यवस्था लगायतका मौलिक विशेषताहरू भन्दा कुन चाहिँ भिन्न विशेषता समेटिएर वनेको हो त जनताको जनबाद ?


होइन, विचारको सारजत्ति सबै जनताको बहुदलीय जनबादकै हुने र नाममात्र अर्को राख्ने हो भने त्यसको सत्यापन कसरी हुन्छ ?अर्कातिर तत्कालीन नेकपा माओबादी केन्द्रले आत्मसात गरेको २१ औं शताब्दीमा जनताको जनबादको विकास बारे नामक पार्टीको प्रस्तावित विचारमा भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनबादको मौलिक विशेषताभन्दा कुन चाहिँ विचार भिन्न र मौलिक थियो ?नत्र प्रचण्डपथको परित्याग गर्न पर्ने औचित्य र आवश्यकता नै किन पथ्र्यो ?यसरी हेर्दा तत्कालीन माओबादी केन्द्रले अघि सारेको विचारमा पनि भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनबादको सार प्रतिबिम्बन भएको देखिन्छ । माओबादी पार्टी संविधान सभाको चुनाब हुँदै आम चुनाबमा आएर आफ्नो पार्टी र विचारलाई व्यालेटमार्फत जनअनोमोदित गराएर सत्तासञ्चालन गर्न मञ्जुर हुनु नै यसको पुष्टि हो ।
यस कारण जनताको बहुदलीय जनबाद आजको सन्दर्भमा नेपालको राष्ट्रिय राजनीतिमा स्थापित एक नवीन राजनीतिक विचार हो । जसमा माक्सबादको सिर्जनात्मक विकास भएको छ । यो विचार आफैमा विज्ञान भएको हुनाले देशको धरातलीय यथार्थतामा परिमार्जित विकसित र कार्यन्वित हुन्छ । यसर्थ आजको नेकपाले आत्मसात गरेको जनताको जनबाद पनि जनताको बहुदलीय जनबादको सार नै हो ।
यही कारण जननेता मदन भण्डारीद्वारा प्रतिबादित राजनीतिक विचार जनताको बहुदलीय जनबादको सान्दर्भिकता अझ प्रखर बनेर आएको देखिन्छ । यो विचारलाई नेकपाले निसंकोच आफ्नो आधिकारिक विचारको रूपमा आत्मसात गरेर जानु पार्टी, देश र जनताको सर्वोपरी हित हुन्छ । विचारक भण्डारीलाई सच्चा रूपमा सम्झिएको ठर्हछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार