इलाम । कोरोना भाइरस (कोभिड –१९) को प्रकोप रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोषमा ५१ लाख भन्दा बढी रकम जम्मा भएको छ । इलाम नगरपालिकाले स्थापना गरेको कोरोनाको जोखिम केन्द्रित नागरिक सुरक्षा कोषमा हालसम्म ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा भएको नगरपालिकाले जानकारी दिएको छ ।
पालिकाले कार्यक्रम खर्चको ५ लाख, पदाधिकारीको तालिम तथा भ्रमण खर्च बापतको ५ लाख रुपैया गरी १० लाखबाट कोष स्थापना गरेको हो । पालिका प्रमुख महेश बस्नेतका अनुसार, स्थानिय सरकारका जनप्रतिनिधिको तलब र दाताहरुको सहयोग रकमले हालसम्म कोषमा ५१ लाख ३२ हजार पाँच सय ६६ रुपैँया रकम जम्मा भएको छ ।
जिल्लामा क्रियाशिल रहेका विभिन्न संघ संस्था तथा व्यवसायीहरु समेतले कोषमा रकम सहयोग गरेका छन् । कोषको रकमलाई कोरोनाबाट हुन सक्ने सम्भावित जोखिम न्युनिकरण तथा विपन्न र असंगठित मजदुरको दैनिकी सहज बनाउन आवश्यकता अनुसार खर्च गरिने प्रमुख बस्नेतले जानकारी दिए ।
जिल्लाका १० पालिकाका जम्मा आठ हजार नौ सय ७८ घरधुरीलाई राहात वितरण गरिएको छ । यसमध्ये इलाम नगरपालिकामा मात्रै दुई हजार पाँच सय ३४ घरधुरीलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय इलामका प्रशासकिय अधिकृत तथा सूचना अधिकारी सफल पोर्तेलले बताए । हाल पहिलो चरणको राहात वितरण भईरहेको छ ।



472 पटक हेरिएको 






