‘लक डाउनमा चिया प्रशोधन गर्न सक्दैनौ’

चिया उद्याेगीले भने

  सरलपाटी सम्वाददाता

 806 पटक हेरिएको

फाइल तस्बीर

इलाम । चियाको राजधानी मानिने इलामको सूर्योदय नगरपालिकाले लक डाउनकै बीच चिया टिपाइ शुरु गर्ने निर्णय गरेपनि उद्योगीहरुले भने लकडाउनको अवस्थामा चिया उद्योग सञ्चालन गर्न नसक्ने बताएका छन् ।
नगरपालिकाले चिया टिपाइ शुरु गर्ने निर्णय गरेको भोलीपल्ट सूर्योदय टि प्रोडुसर एशोसिएसनले विज्ञप्ती जारी गर्दै नगरपालिकाले लक डाउनको बेला चिया टिपाई र प्रशोधनको लागि तयार गरेको मापदण्ड पालना गर्न नसकिने भन्दै उद्योग सञ्चालन नगर्ने उद्योगीहरुले बताएका छन् । सूर्योदय टि प्रोडुसर एशोसिएसनका सचिव गोपाल कट्टेलले विश्व स्वास्थ्य संगठन सहित नगरपालिकाले जारी गरेको मापदण्ड पालना गरेर चिया प्रशोधन असम्भव रहेको बताए ।
‘ठूलो उद्योगमा ५०–६० कामदार नलगाई चिया प्रशोधन गर्न सम्भवनै हुँदैन, एउटै उद्योगमा १२–१५ वटा गाडीमा हरियो पत्ति ढुवानी गर्नुपर्ने हुन्छ’, कट्टेलले भने,‘दुई तीन जना कामदार राखेर चिया प्रशोधन सम्भव हुँदैन ।’ चिया प्रशोधन शुरु गर्दा चिया उद्योगमा ठूलो जमघट हुने र त्यसले संक्रमण सर्ने बढि सम्भावना भएकाले पनि लक डाउनको बेला उद्योग सञ्चालन गर्ने सम्भावना नहुने बताए । ‘उद्योग चलाउँदा भिडभाड हुँन्छ, कसैलाई कोरोनाको संक्रमण देखिए उद्योगीले जिम्मा लिन सक्दैनन् ।’ उद्योगीहरुले चिया प्रशोधन थाल्दा किसानलाई हरियो पत्तिको मुल्य समेत तिर्न सक्ने अवस्थामा नभएको बताएका छन् । नेपाली चियाको ठूलो बजार भारतमा निर्भर छ । भारतमा समेत चिया प्रशोधन शुरु नभएकाले तयारी चिया समेत विक्ने अवस्था नभएको कट्टेलले बताए ।
सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने निर्णय गरेपछि किसान हरियो पत्ति विक्री हुने आशामा थिए । उद्योगहरुले चिया प्रशोधन नगर्ने भएपछि किसानको हरियो पत्ति विक्री हुने सम्भावना पनि टरेको छ । राम्रो भाउ पाइने सिजनको पहिलो टिपाइकै चिया विक्री नहुने भएपछि किसानले ठूलो आर्थिक क्षति व्यहोर्नु पर्ने भएको छ । पहिलो टिपाई बोटमानै हुर्किएकाले बर्षभरनै हरियो पत्तिको उत्पादनमा प्रभाव पर्छ । हरियो पत्ति बोटमानै हुर्किएकाले वर्षभरनै चियाको उत्पादनमा गिरावट आउने भएपछि किसान झन चिन्तित बनेका छन् । हरियो पत्ति विक्री नहुने भएपछि व्यवसायिक चिया खेती गर्ने इलामका पाँच हजार पाँच सय भन्दा बढि किसान प्रभावित भएका छन् । अहिले सम्ममा इलाममा मात्रै १० देखि १२ लाख किलो हरियो पत्ति खेर गइसकेको अनुमान गरिएको छ । इलाममा बार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो पत्ति उत्पादन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार