इलाम । चियाबाट लगानीअनुसार आम्दानी नभएपछि किसान चिन्तित छन् । हरियो पत्ती उत्पादन गर्न हुने लगानी त्यही पत्ती बेचेर नउठ्ने भएपछि किसानलाई उत्पादनमा घाटा हुने गरेको छ ।
उद्योगहरूले हरियोपत्तीको मूल्य कम दिने भएकाले किसानले मूल्य पाउन नसकेका हुन् । पहिलो टिपाइमा केही बढी मूल्य दिने गरेपछि दोस्रो, तेस्रो टिपाइ हुँदै गएपछि उद्योगहरूले मूल्य घटाउँदै निकै तल झार्ने गरेको किसान बताउँछन् ।
किसानले हरियो चिया अहिले हरियो पत्तीको मूल्य ठाउँअनुसार २० देखि ४४ रुपैयाँ प्रतिकिलोसम्म पाउँदै छन् । तर, त्यसअनुसारको लगानीले आम्दानी नै हुन नसकेको किसान बुद्धिमान राई बताउँछन् । ‘चिया उत्पादन गर्न धेरै मेहनत पर्ने भएपनि हरियोपत्तीको मूल्य निकै कम मात्र हात लाग्छ,’ उनले भने, ‘कम्तीमा हरियो पत्तीको मूल्य ५० रुपैयाँ प्रतिकिलो नभएसम्म फाइदा हुँदैन । अर्गानिक चिया उत्पादकले हरियो पत्तीमा प्रतिकिलो ६५ देखि ८० रुपैयाँसम्म पाउने गरेपनि यो चियाको परिमाण नै कम छ । ठूलो संख्याका किसान र व्यवसायी आबद्ध रहेको नन्अर्गानिक हरियो पत्तीबाट चाहिँ लगानी नै उठाउन नसकेको किसान बताउँछन् ।
पूर्वी गाउँका किसानका अनुसार एक किलो हरियो चिया उत्पादन गर्न भन्डै ४५ रुपैयाँजति खर्च हुन्छ । तर, आफूले पाउने मूल्य नै त्यति नभएको उनीहरू बताउँछन् । ‘चियाबाट फाइदाको कुरा त के गर्नु, लगानी उठाउनै धौ धौ छ,’ अर्का किसानको तोया रिजाल भन्छन्, ‘कम्तीमा प्रतिकिलो ५० रुपैयाँ नभई चियाबाट फाइदै नहुनेरहेछ ।’ किसानले हरियोपत्तीको न्यूनतम् मूल्य तोक्न सरकारलाई यसअघि पनि पटक–पटक माग गरेका थिए । तर, अहिलेसम्म सरकारले सबै किसानका लागि हरियो पत्तीको समर्थन मूल्य तोक्न सकेको छैन ।
चियाको बिरुवा नर्सरी गरी रोपेर र टिप्नेसम्मको बनाउन बढी मेहनत लाग्छ । रोपेको ३ वर्षपछि मात्रै आम्दानी दिन थाल्ने भएकाले चियामा लगानी बढी हुन्छ । तर, मूल्य राम्रो भए चिया खेतीबाटै व्यावसायिक बन्न सकिने भएपनि मूल्य नै लगानीअनुसार पाउन नसकेको किसान बताउँछन् । ‘चियालाई रोप्नेदेखि पैसा लिनेबेलासम्मको बनाउन निकै मेहनत लाग्छ,’ किसान अमर सापकोटाले भने, ‘बेच्ने बेलामा भाउ आइदिँदैन, कारखानाले जति मूल्य दिन्छ, त्यसैमा चित्त बुझाउनुपरेको छ ।’
जिल्लाको सूर्याेदय नगरपालिकाले मात्रै चियाको न्यूनतम् मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेर लागू गरेको छ । सूर्याेदयले चिया तथा कफी विकास बोर्डसँग समन्वय गरी हरियो चिया उत्पादनमा हुने लगानी अध्ययन गरी यो मूल्य तोकेको हो । अध्ययनअनुसार १ किलो हरियो चिया उत्पादन गर्न कम्तीमा ३८ रुपैयाँ लाग्छ । किसानले गतवर्षसम्म २५ देखि ३५ रुपैयाँ प्रतिकिलो मात्रै मूल्य पाएका थिए । सूर्याेदयले तोकेको मूल्य पनि लगानीअनुसार कमै भएको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र शर्मा बताउँछन् । ‘ज्यादै न्यून समर्थन मूल्य तोकेर भएपनि नगरपालिकामा हरियो चियाको मूल्यमा एकरूपता कायम चाहिँ गरेका छौं,’ उनले भने, ‘तर, किसानलाई फाइदा चाहिँ हुँदैन यो मूल्यले पनि ।’
नगरपालिकाले उद्योगी, किसान र चिया व्यापारीबीच आचारसंहितासमेत पालना गर्न सहयोग गरेको छ । ‘हरियो चियाको मूल्य किसानको लगानी उठ्नेगरी बनाउनु आवश्यक छ,’ नगरपालिकाका मेयर रणबहादुर राईले भने, ‘नगरपालिकाले नै विभिन्न स्थानमा चिया प्रशोधन कारखाना खोल्ने पनि योजना छ तर अलि पछि मात्र हुन्छ होला ।’ उनले चियालाई नै व्यावसायिक खेती बनाएका किसानलाई त्यसैबाट जीविकोपार्जन गर्न सक्ने बनाउन नगरले सहयोग गर्ने बताए ।
किसानले हरियो पत्तीको मूल्य सरकारले नै निर्धारण गर्नुपर्ने, हरियो पत्ती विक्रीका लागि उचित बजार व्यवस्था गर्नुपर्ने, बिरुवा, मलखाद, मेसिनरी औजारलगायतमा सरकारी अनुदान दिनुपर्नेजस्ता माग राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र केन्द्रीय तथ्यांक विभागसमक्ष पनि राखेका थिए । ‘स्थानीयस्तरमा नयाँ प्रविधि तथा गुणस्तरीय प्राविधिक सेवा सहज उपलब्ध हुनुपर्छ, व्यवसाय प्रवद्र्धनका लागि तालिम, अध्ययन भ्रमण आदि आवश्यक छ,’ किसानले बोर्डलाई दिएको सुझावमा उल्लेख छ, ‘सरकारले सहज तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्छ, मलखाद, विषादी, तथा औजार उपकरणको सहजता, सुलभ उपलब्धता गराउनुपर्छ ।’ किसानले सरकारले चिया प्रशोधनका लागि स्थानीयस्तरमा चिया उद्योग नै स्थापना गरिदिनुपर्ने माग पनि किसानको छ ।


616 पटक हेरिएको 






