इलामका यी वडामा छैनन् विद्यालय बाहिर विद्यार्थी

शतप्रतिशत बालबालिका विद्यालय भर्ना

  सरलपाटी सम्वाददाता

 796 पटक हेरिएको


इलाम । इलाम नगरपालिकाको वडा नं. २, ४ र ५ लाई ५ देखि १२ वर्षका बालबालिका शतप्रतिशत विद्यालय भर्ना भएको घोषणा गरिएको छ ।
इलाम नगरपालिका वडा नं. ५ को कार्यालय बरबोटेमा बुधबार आयोजित कार्यक्रममा सो घोषणा गरिएको हो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख होमनाथ भण्डारीले शतप्रतिशत भर्ना भएको घोषणा गरेका थिए ।
घोषणा गर्दै इकाई प्रमुख भण्डारीले दिगो विकासको लक्ष्य प्राप्त गर्ने मध्येको एउटा सूचक आधारभूत तहका विद्यार्थीहरुको विद्यालय भर्ना पनि भएकाले यो सूचक पूरा हुनु उपलब्धी भएको बताए । उनले भर्ना भएका विद्यार्थीहरुलाई टिकाई राख्न चुनौति भएको र उनीहरुले विद्यालयमा टिकाई राख्न घरको भन्दा विद्यालयको वातावरण राम्रो बनाउनु पर्ने बताए ।


कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले भर्नासँगै शिक्षालाई गुणात्मक बनाउनु पर्ने बताए । इलाम नगरपालिकाका प्रवक्तासमेत रहेका उनले सामुदायिक विद्यालयहरुलाई अभिभावकको भरोसा र विश्वासयोग्य बनाउनु पर्ने पनि बताए । यसरीनै वडा नं. ४ का वडाध्यक्ष नुतनदेव दुलालले शिक्षाको गुणात्मक विकासका लागि विद्यालय स्वच्छ बनाउन आफूहरुले सहयोग गर्ने बताए । उनले शैक्षिक विकासका लागि तथ्याङ्कमा भन्दा व्यवहारमा विश्वास गरेर अघि बढ्नु पनि सुझाएका थिए । वडा नं. २ का वडाध्यक्ष नारद लम्सालले देशका लागि दक्ष जनशक्तिहरुलाई विद्यालयभित्र ल्याउनु ठूलो उपलब्धी भएको बताए ।
इलाम नगरपालिकाका यि तीन वडाहरुको घोषणासँगै इलाम नगरपालिका सबै वडाहरु शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको घोषणा गर्ने काम सम्पन्न भएको इलाम नगरपालिका स्रोत केन्द्रका स्रोत व्यक्ति रोम शर्माले जानकारी दिए ।
अन्तर्राष्ट्रिय साक्षरता दिवश भदौ २३ गतेका दिन शिक्षा सम्मेलनसँगै इलाम नगरपालिकालाई नै शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको नगर घोषणा गरिने भएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, अमर माविका प्रअ सोमनाथ निरौला, देवि आधारभूत विद्यालयकी प्रअ चम्पा भण्डारीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम अमर मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा तीनै वडाका विद्यालयका प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।


डष्टविन वितरण
सोही कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ ले आफ्ना वडाका सबै विद्यालयहरुलाई २–२ थान डष्टविन पनि वितरण गरेको थियो । कुहिने फोहोर र नकुहिने फोहोर छुट्टा छुट्टै राख्नका लागि २–२ थान डष्टविन विद्यालयहरुलाई दिइएको वडाध्यक्ष ठाकूर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार