विषेशज्ञ नहुँदा ‘भेन्टिलेटर’ सञ्चालनमा कठिनाइ

उपचारमा समस्या

  सरलपाटी सम्वाददाता

 687 पटक हेरिएको

 

इलाम । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’ इलाम अस्पतालमा राखिएको छ । अस्पतालले खरिद गरेको दुई शैयाको आइसीयु, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्प लगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ ।

तीन महिना अघि स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा कोभिड–१९ का संक्रमित विरामीलाई लक्षित गर्दै यस अघि स्वास प्रस्वास सजिलो बनाउने किसिमका दुई वटा भेन्टिलेटर जडान गरिएको थियो । यो सँगै इलाममा पछिल्लो पटक जडान गरिएको भेन्टिलेटरले भने सिकिस्त अवस्थामा पुगेको विरामीको मुटुलाई जीवित राख्ने काम गर्छ । बच्चा र ठूला दुवै मानिसका लागि पछिल्लो पटक जडान भएको भेन्टिलेटर उपयोगी रहेको अस्पतालले जनाइएको छ ।

अस्पतालमा यी दुई किसिमका भेन्टिलेटर जडान गरिए पनि विषेशज्ञ जनशक्ति नहुँदा विरामीको निरन्तर उपचारमा भने समस्या देखिएको छ । केही दिन अघि मात्र छात्रवृत्ति करारमै एनेसथेसियोलोजिस्ट अस्पतालमा आएका छन् । यस्तै करारकै साइक्रेटिक (मनोरोग विषेशज्ञ) पनि आएका छन् । भेन्टिलेटर सञ्चालनकै लागि काडियोलोजिस्ट डाक्टर आवश्यक पर्ने अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए । ‘अन्य विषेशज्ञ पनि उत्तिकै आवश्यक छ, छात्रवृत्तिकै डाक्टरहरु भए पनि तत्काल भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ ।’

खतिवडाले भने ‘विशेषज्ञ व्यवस्थापनसँगै ब्लडको कल्चरल टेस्टका लागि ल्याब सेवा पनि विस्तार गर्नु पर्ने अर्को आवश्यकता छ ।’ भेन्टिलेटर आयो भनेर ढुक्क हुने अवस्था नभएको खतिवडाको भनाइ छ । सिकिस्त अवस्थामा पुगेको विरामीलाई कम्तिमा पनि तत्काल भेन्टिलेटरमा राख्ने र केही समय आराम गराएपछि अन्यत्र उपचारका लागि लैजान भने धेरै सहज भएको खतिवडाको भनाई छ ।

‘एनेथेसियोलोजिस्ट तत्काल उपलब्ध भए पनि, अरु डाक्टर र नर्सलाई तालिम दिनु पर्ने रहेछ, अस्पताल विकास समिति अध्यक्ष गणेश प्रसाद बरालले भने ‘जनशक्ति व्यवस्थापन गर्न समय लाग्ने रहेछ ।’ भेन्टिलेर राखेपछि इलाम सहित पाँचथर, ताप्लेजुङ, तेह्थुमसम्मका बिरामीले सुविधा पाउने बरालले बताए । सरकारले ०७२ सालमा इलाम अस्पताललाई ५० शैयाको अस्पतालको रुपमा स्तरवृद्धि गरि नौं जना विशेषज्ञ डाक्टरसहित १६ जना डाक्टरको दरबन्दी कायम गरेको थियो । तर, अहिलेसम्म दरबन्दी अनुसारका विषेशज्ञ डाक्टरहरुको व्यवस्था नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।

भेन्टिलेटर राखिए पनि दरबन्दी अनुसारका विषेशज्ञ डाक्टर आउने भने अझै अन्योल छ । अस्पातलमा नौं विशेषज्ञ सहितको १६ डाक्टरको दरबन्दी कायम भएको छ । नौं विशेषज्ञको दरबन्दीमा अहिले एक जना मात्र डाक्टर कार्यरत रहेको जनाइएको छ । आठ दरबन्दी खाली छन् । ‘अहिले स्त्री तथा प्रसुति रोगका दुई जना, मनोरोग विशेषज्ञ एक, जनरल फिजिसियन एक, मेडिकल अधिकृत चार, जनरल सर्जन दुई जना भने छात्र वृत्ति करारका डाक्टरहरु कार्यरत छन् ।’

प्रशासन शाखाका कर्मचारी कमल चापागाईंले भने ‘दरबन्दीका डाक्टर मन्त्रालयबाट व्यवस्था हुनुपर्नै हो, हामीले थुप्रै पटक माथि पत्र लेखेर पठायौं, अहिलेसम्म मन्त्रालयबाट रिक्त दरबन्दी पूरा भएको छैन ।’ कोभिडको संक्रमण बढ्न थालेपछि भने प्रसुति वार्डमा २५ शैया र सामान्यमा १५ शैया मात्रै सञ्चालन भइरहेको अस्पतालले जनाएको छ । बाल रोग, हाडजोर्नी, रेडियो लोजिस्ट लगायतका विशेषज्ञको दरबन्दी भने खाली छ ।

त्यसो त अस्पतालमा सेवा लिन आएका सेवाग्राहीले पनि डाक्टर नहुँदाको समस्या उस्तै झेल्नु परेको छ । ‘हातखुट्टा दुःखेर अस्पताल आउँदा उपचार भएन’ इलाम सोयाककी इन्द्रकला आचार्यले दुखेसो पोखिन् , ‘विरामी भएका बेला दुःख मात्र भयो, बरू उतैबाट विर्तामोड झरेको भए हुने रहेछ उनले भनिन् ।’

विशेषज्ञ बाहेक अन्य रोग सम्बन्धी बिरामी आउँदा भने अस्पतालले झापा, विराटनगर र धरान रेफर गर्ने गरेको छ । त्यस्ता बिरामीलाई सेवा प्रदान गर्न नसक्दा भने धेरै सेवाग्राहीले अन्यत्र गएर पनि समस्या झेल्नु परेको अस्पताल विकास समिति अध्यक्ष बराल बताउछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार