कैदीबन्दीको स्वास्थ्य उपचारमा दैनिक समस्या

अहेवको दरबन्दी डेढवर्ष यता रिक्त

  सरलपाटी सम्वाददाता

 457 पटक हेरिएको


इलाम/सुधार गृहका रुपमा सञ्चालन ल्याइएको इलाम कारागारमा अहिले कैदीबन्दीले स्वास्थ्य उपचारमा समस्या झेल्नु परेको गुनासो गरेका छन् । कारागारमा एक जना अहेवको दरबन्दी डेढवर्ष यता रिक्त छ ।
लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा सामान्य ज्वरो आएमा अथवा ‘ब्लडप्रेसर’ जाँच गर्नु परेमा इलाम अस्पतालनै पठाउनु पर्ने बाध्यता छ । कारागारमा अहिले त मानसिक सम्बन्धी समस्या रहेका केही कैदी बन्दी पनि छन् । उनीहरुलाई अस्पताल पठाउनु पर्ने समस्या अर्को छ । ‘यहाँ रहेका स्वास्थ्यकर्मी सरुवा भएपछि हामीले सम्बन्धित निकायमा पटक–पटक स्वास्थ्यकर्मी माग गर्याे डेढ वर्ष भयो हाम्रो माग कतैबाट सुनुवाइ भएन ।’ कारागार प्रमुख प्रदिप श्रेष्ठले भने ‘स्वास्थ्यकर्मी नहुँदाको मात्र समस्या होइन, विरामी कैदीबन्दीलाई अस्पताल पठाउन हामी सँग सवारी साधनको पनि व्यवस्था छैन । दिउसो राती जुनसुकै समयमा भाडाको सवारी बोलाउँदा अर्को समस्या छ ।’ स्वास्थ्यकर्मी नहुँदा र सवारी साधन पनि नहुँदा कैदीबन्दी पटक–पटक स्वास्थ्य उपचारको अधिकारबाट पनि बञ्चित हुनुपरेको श्रेष्ठको बुझाइ छ ।
कारागारमा कैदीबन्दीलाई उपचारका निम्ति यातायात खर्चको छुट्टै खर्च व्यवस्था छैन । भाडामा लिएका गाडीको भुक्तानी समेत अल्झिएको छ । कारागारमा अघिल्लो वर्ष सम्म सामाजिक सुरक्षा अन्तर्गत रकम आउने गरेको थियो । यो वर्ष कैदीबन्दीको रासन, लुगा, सिरकडस्नालगायतका शिर्षकमा रकम आएको कारागार प्रशासनले जनाएको छ ।
त्यसोत कारागारमा केन्द्रबाट पाँच वर्ष अघि पठाइएको एउटा र दुईवर्ष अघि पठाइएको अर्को गरि दुईवटा सवारी साधन थन्किएका छन् । केन्द्रबाट थोत्रै अवस्थामा आएका ती दुवै सवारी मर्मत गर्न पनि खर्चले नधान्ने भएपछि थन्क्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । युनिटी अस्पतालको लागि आएको नयाँ एम्बुलेन्स पनि कारागारकै आँगनमा राखिएको छ । तर, काम लाग्ने सवारी नहुँदा एक जना विरामीलाई अस्पताल पुर्याउन ६ सय रुपैयाँ यातायात खर्च हुने गरेको बताइएको छ । एक सय २५ कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले दुई सय ४३ कैदीबन्दी छन् । यी मध्ये १९ जना महिला र आठ जना विदेशी नागरिक रहेको कारागार प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार