इलाम । चाडबाडको समय छ । तर यस वर्षको चाडबाडको भने त्यति रौनक छैन । गाउँ सुनसान छ । फाट्टफुट्ट मानिसहरु भेटिन्छन् । उनीहरु पनि चाडबाडको योजनाबारे भन्दा पनि कोरोनाको जोखिमबारे गफ गरिरहेका हुन्छन् ।
‘विदेशबाट आउनेसँग भन्दा पनि काठमाण्डौबाट आउनेसँग सचेत हुने समय भयो’, माइजोगमाई गाउँपालिकाका स्थानीय अनिल तामाङ्ले भने, ‘विदेशमा पो कम छ, काठमाण्डौमा त झन् धेरै फैलिसक्यो कोरोना ।’
विदेशबाट आएकासँग कोरोना परीक्षणको रिपोर्ट हातमा हुन्छ । स्थानीय तहको क्वरेण्टीनमा बसेर प्रक्रिया पुरा गरेर मात्रै गाउँ समाजमा घुलमिल हुन आउँछन् । तर काठमाण्डौबाट गाउँ प्रवेश गर्नेसँग न रिपोर्ट हातमा छ । न त क्वरेण्टीनको बसाइ नै । यस कारण पनि जोखिम बढेर गएको गाउँलेहरु तर्क गर्छन् ।
अध्ययन र कामका लागि लामो समयसम्म घर बाहिर रहेकाहरु गाउँ भित्रिने क्रम जारी छ । कत्तिले दशैँ भन्दा पनि तिहारलाई महत्वपूर्ण चाडका रुपमा लिन्छन् । दशैँमा घर आउदैनन् । तिहारमा मात्रै गाउँघर आउने गर्छन् । इलामको रोङ्ग गाउँपालिकाको वडा नम्बर ६ मा मात्रै हप्तामा पाँच जनासम्म भारतबाट नेपाल आउनेहरु भेटिन्छन् ।
यात्रा सहज नभए पनि परिवारसँग छुट्टिएर चाडबाड मनाउने मन कसैलाई हुँदैन । काठमाण्डौबाट घर आउँदा मनभरि डर छ । गाउँकाले के भन्लान् भन्ने ? तर परिवारसँग टाढा रहने मन नभएपछि कर्मचारी, विद्यार्थी, श्रमिक आ–आफ्ना घर आइ नै रहेका छन् ।
पहिलेको जस्तो विभेद छैन गाउँमा
विदेशबाट तथा बाहिर जिल्लाबाट गाउँ आउनेहरुलाई कोरोना महामारीको सुरुताका बेला गाउँमा हेर्ने दृष्टिकोण नै फरक थियो । कोरोना लिएर आयो भन्दै विभेदको नजरले हेर्थे । तर अहिले गाउँमा यो विषयमा निकै परिवर्तन आएको छ । गाउँमा अहिले जनचेतना बढेको छ । कोरोना महामारी सुरु हुँदै गर्दा जस्तो भेट्नै हुँदैन, विभेद नै गर्नुपर्छ भन्नेहरु अहिले बुझ्ने भएका छन् ।
‘सचेत बने कोरोनाबाट बच्न सकिन्छ, सचेत हुँदाहुँदै संक्रमण भइहाले पनि बाँच्न सकिन्छ भन्ने ज्ञान सबैमा छ’, रोङ्ग गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर ६ का वडाध्यक्ष सुवास तामाङ् भन्छन्, ‘यसले गर्दा अहिले गाउँ फर्किनेहरुलाई कसैले विभेद गर्दैनन्, नागरिक सचेत बन्न थालेका छन् ।’
उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौमा बस्दै आउनु भएकी माया राई दशैँ तिहारमा घर आएकी छिन् । उनी सङ्क्रमण क्षेत्रबाट आएको भनेर कतै गाउँमा प्रवेश गर्न समस्या हुने पो हो कि भनेर चिन्तित थिइन्, तर त्यस्तो भएन । ‘गाउँमा विभेद भएन, हामी आफै होम क्वरेण्टीनमा बस्यौँ’, उनले भनिन् ।
चाडबाडमा गाउँ प्रवेश गर्नेलाई पहिलेजस्तो विभेद नभएको बताउछन्, समाजसेवी हेमन सुनुवार ।‘संक्रमण फैलन नदिनको लागि सर्तकता भने अपनाइएको छ, तर छिछी र दूरदूर छैन’, उनले भने ।
यस्तै कोरोना सुरु हुँदै गर्दा मलेसियाबाट नेपाल फर्किएका इन्द्रमणि निरौलालाई पनि अहिले गरिने व्यवहारमा फरक आएको अनुभव छ । ‘सुरुमा गाउँमा रहन त्यति सजिलो थिएन, तर अहिले गाउँ आउनेहरुलाई निकै सहज भएको छ’, उनले भने ।
यस पटकको तिहारमा विगत झै विदेशबाट आएको भन्नसाथ के ल्यायो भनेर झुम्मिने चलन हटेको छ । फोनसम्पर्कको माध्यमबाट शुभकामना आदान प्रदान हुने क्रम बढेर गएको छ । यो सचेतनाकै ज्वलन्त उदाहरण हो ।