इलाम।कोरोना भाइरसको संक्रमणबाट माङसेबुङ ६ का एक ६५ वृद्धको (सोमबार) गए राती मृत्यू भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
एडभान्स अस्पताल दमकमा उपचार गराइरहेका उनको कोरोना परीक्षण पोजेटिभ देखिएपछि घर फर्काउने क्रममा मृत्यू भएको बताइएको छ । उनको शव दमकबाट रातीनै एम्बुलेन्सबाट पञ्चमी नजिकै एकान्तमा राखिएको छ । जिल्लाबाट नेपाली सेनाको टोली गएर उनको अन्त्यष्टि गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यू भएको जिल्लाको यो दोस्रो घटना हो । यसअघि मृगौला रोगबाट पीडित सुर्योदय नगरपालिकाका ८ वर्षीय बालकको मृत्यू भएको थियो ।
पछिल्लो समय इलाममा पनि संक्रमणदर बढ्दै गएको देखिन्छ । सोमबार ६ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा संक्रमितको संख्या एक सय ४६ पुगेको छ । जाति हुनेको संख्या एक सय पाँच जना रहेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन कुलबहादुर पौडेलले बताए ।