इलाम । समाजमा जनचेतना जगाउन सके आत्महत्याको समस्यालाई रोकथाम गर्न सकिने आइतबार आयोजना भएको एक कार्यक्रमका बक्ताले बताएका छन् । मनोसामाजिक मनोविमर्शकर्ता सञ्जाल प्रदेश नम्बर एकको आयोजनामा भएको कार्यक्रमका बक्ताले समाजमा विकराल समस्याको रूपमा देखा परेको आत्महत्याको समस्यालाई सरोकारवालाले ध्यान दिन सके न्यूनिकरण गर्न सकिने तर्क गरेका छन् ।
मानसिक स्वाथ्य तथा आत्महत्या जस्ता सामाजिक समस्या रोकथाम गर्न स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँदै समस्या समाधान गर्न मानसिक समस्यालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जका मनो चिकित्सक श्रीराम उपाध्ययले बताए ।
आत्महत्या गर्नु अघिको पहिलो लक्षणको रूपमा रहेको मानसिक समस्यालाई ध्यान दिएर मनोविमर्श गर्न सकेमा रोमथाम गर्न सकिने डाक्टर नगेन्द्र ठगुन्नाले बताए । उनले रोकथामको सम्भावना भएपनि जनचेतनाको अभावका कारण यसको बारेमा कार्यक्रम हुन नसकेको औल्याए ।
सञ्जालको संयोजक रूद्र थेबेको अध्यक्षतामा भएको कार्यक्रममा समाजका विभिन्न धार्मिक, सांस्कृतिक रूपमा रहेको अन्धविश्वासले आत्म हत्याको घट्नालाई प्रोत्साहन गरिहरहेकोले, यसको विषयमा सरोकारवालाले रोकथामको कार्यक्रम सञ्चालन गर्नुपर्ने माग समेत गरे ।
पछिल्लो समयमा बढ्दै गएको मनोसामाजिक समस्या र आत्महत्या रोकथामको बारेमा आम नागरिकमा जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा प्रदेश भरीको मनोविद, मनोविमर्शकर्ता लगायतको सहभागिता रहेको सञ्जालको सदस्य जितेन राईले जनकारी गराए ।
समस्यामा परेको व्यक्ति वा परिवारले मानसिक स्वाथ्यको क्षेत्रमा काम गर्ने त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पताल महारागंजको सम्पर्क नम्बर १६६००१२१६०० पाटन मानसिक अस्पतालको सम्पर्क नम्बर ११६६, टिपीओ नेपालको शुल्क नलाग्ने सम्पर्क नम्बर १६६००१०२००५ र ९८०१५७४४५५ मानव अधिकार मञ्च नेपालको सम्पर्क नम्बर १६६०२७५२१११ र ०२७५२०८०० मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । कार्यक्रमको सञ्चालन सञ्जालका सदस्य गोविन्दराज कट्टेलले गरेका थिए ।