पाँचथर । अविरलको बर्षासँगै वस्ती नजिकैबाट पहिरो झर्ने क्रम नरोकिए पछि फिदिम ७ असिने स्थित खर्क डाँडामा एक घरपरिवार विस्तापित भएको छ ।
स्थानिय रामकाजी राईको घर मुनिबाट निरन्तर रुपमा पहिरो झर्न थालेपछी उनको परिवार वस्तिबाट विस्थापित भएको हो । विस्थापित राईको परिवार हाल स्थानियको पहलमा खोला पारी गोठमा आश्रय लिईरहेको छ ।
प्रतिकुल मौसमका कारण पशु चौपाय भने अन्यत्र स्थानान्तरण गर्न नसकिएको यद्यपी प्रयास भने भईरहेको स्थानियले बताएका छन् । असोज मध्य हुनै लाग्दा वस्ती नै जोखिममा पर्ने गरि पहिरोका कारण जमिन फुटेर चिरा पर्न थालेपछी वस्तिमा त्रास फैलिएको पिडित राईको भनाई छ ।
वस्तिबाट करिब सय मिटरको दुरिमा रहेको पिप्ले घारी भन्ने स्थानबाट पहिरो शुरु भएको थियो । बाङदले राईको उपनामले परिचित उनका ८४ बर्षिय बाबुले बिगत सम्झाउदै भने ूबाटो खन्न जथाभावी मेसिन लगाएपछी त्यस्तै संकट अहिले वस्तिमा आईलागेको छ ।
उनको घरसँगै करेसाबारी तथा अलैँची बगानमा समेत जमिन फुटेर चर्किन थालेको छ । पहिरोका कारण लालीखर्क रानिटार जोड्ने मोटरबाटोमा समेत क्षती पुगेको छ ।
खोला नजिकै रहेको सो वस्तिका अरु थप तिन घर समेत जोखिममा परेका छन् । घना जङ्गल र भिरालो पाखा भएकाले केहि दिन बर्षा जारी रहे वस्ती नै स्थानान्तरण गर्नु पर्ने अवस्था आउन सक्ने स्थानिय नगेन्द्र अधिकारिको भनाई छ ।