महामारीमा श्रीमान् परदेशमा अलपत्र, ऋणको भरमा चल्दैछ घरखर्च

वैदेशिक रोजगारी

   सुजता सुनुवार

 536 पटक हेरिएको

सन्ध्या गुरुङ्ग

इलाम । इलाम नगरपालिका ३ मा एउटा सानो पसल । त्यही पसलमा बसेर खुद्रा पैसासँगै ऋणको भारी चुक्ता गर्ने सपना बुनिरहेकी छिन् सन्ध्या गुरुङ । तर कोरोना कहरसँगै उनको सपनामा काँडेतार लागेको छ ।

वैदेशिक रोजगारीमा मलेसियामा रहेका श्रीमान् बेरोजगार भएर बसेपछि उनलाई घर खर्च चलाउन मुश्किल भएको छ । कोरोना महामारीका कारण श्रीमान्को जागिर छुट्यो । अहिले उनका श्रीमान् आफैं परदेशमा के खाउँ के लाउँ भन्ने अवस्थामा छन् । एक महिना तलब ढिलो आउँदा त समस्या पर्ने अवस्थामा पाँच, पाँच महिनासम्म आम्दानीको बाटो शून्य भएपछि स–साना सपना पनि पहाडजत्रा लाग्न थालेका छन् ।

उनका श्रीमान् धनबहादुर गुरुङ परदेशमा कमाउन गएका छन् । सबै कुरा राम्रै चलिरहेको थियो । छोराको भविष्यकै लागि भए पनि सन्ध्या आफ्नो पुख्र्यौली थलो छाडेर सहर बस्न थालिन् । सहरमा आफ्नो घर नभएपछि भाडामा बस्नु सबैको बाध्यता नै हुन्छ । सन्ध्यालाई पनि त्यही बाध्यता छ ।

दुई वर्ष भयो उनी सहरमा बस्न थालेको । उनका दुई छोरा छन् । राम्रो अंग्रेजी बोल्न जाने राम्रै जागिर खालान् भन्ने सोचेर उनले छोराहरुलाई बोर्डिङ स्कुलमा पढाउछिन् ।

गाउँमा काम गरेर बसेको बानी सहरमा आएर दिन भरी त्यतिकै बस्न मनले मानेन । श्रीमान्को कमाइले मात्र हुँदैन आफूले पनि केही गर्नुपर्छ भन्ने सोचेर उनले पसल खोल्ने सोच बनाइन् । अनि एउटा सटर भाडामा लिएर पसल खोलिन् । कोठा र सटर गरी महिनामा उनले घरबेटीलाई १२ हजार रुपैयाँ बुझाउनु पर्छ ।

तर अहिले कोरोना र लकडाउनले गर्दा न पसल चल्छ, न त परदेशमा रहेका श्रीमान्को नै कमाइको बाटो छ ।

छोराहरु ६ कक्षा र दुई कक्षामा पढ्छन् । कोठा र पसल छोडेर घर गए छोराहरुको पढाइ बिग्रिने डरले उनी घर जान सकेकी छैनन् । कोठा छोडौं भने छोराहरुको स्कुल लागिहाले फेरि नयाँ कोठा खोज्न कहाँ जाने भन्ने समस्या । नछोडौँ स्कूल लाग्दैन । पसल पनि चल्दैन । विदेशमा आफैं बेरोजगार भएर बसेका श्रीमानले पैसा पठाउनु होला भन्ने त झन् आशा नै भएन । सन्ध्याका समस्या धेरै छन् ।

‘कोरोना महामारीका कारण थोरै आशा र बढी अन्यौलमा छ जीवन,’ उनी भन्छिन्, ‘यस्तो अवस्थामा के गर्ने र ? साहुले मानेसम्म ऋणैको भरमा घरबार चलाइरहेकी छु ।’

‘श्रीमानलाई नेपाल फर्काउन पाए हुन्थ्यो’

सन्ध्या र धनबहादुर गुरुङ्ग

धनबहादुर २०६३ सालमा साउदी गए । त्यहाँ भनेको जस्तो कमाइ नभएपछि दुई वर्ष बसेर नेपाल फर्किए । पुनः २०६६ सालमा उनी कतार गए । कतारमा भने अलि बढी बसे । त्यहाँको चार वर्षको बसाइपछि उनी फेरि नेपाल फर्किए र २०७१ सालमा मलेसिया गए ।

छ वर्ष भयो उनी मलेसियामै छन् । महामारीका कारण कामविहीन बनेर बसेको पाँच महिना बितिसक्यो । यत्तिका समय भइसक्दा पनि न कम्पनीले काम दिएको छ, न त नेपाल आउन नै दिएको छ । कम्पनीले वास्ता नगरेपछि आफैं टिकट काटेर नेपाल फर्कन्छु भन्दा समेत नेपाल फर्कन पाएका छैनन् ।

कम्पनीकै क्वाटरमा बसिरहेका छन् । एउटै क्वाटरमा छ सय जना नेपालीहरु छन् । सबै जना नेपाल आउन पाउने प्रतिक्षामा भए पनि कम्पनीले कुनै ध्यान दिएको छैन । त्यतिका मानिस सँगै बस्दा कोरोनाको जोखिम पनि बढेको छ भनेर श्रीमान्ले खबर सुनाउँदा यता सन्ध्याको मनमा भूकम्प जान्छ । आफ्नो श्रीमानलाई केही नहोस् भनेर उनी भगवानको नाम जपिरहन्छिन् ।

सन्ध्याले आफ्ना श्रीमान्लाई नेपाल ल्याउने प्रयास गरिन्, तर उनको केही लागेन । आफ्नो श्रीमानलाई नेपाल ल्याउन पाइयो भने आफ्नो लागि ठूलो विजय हुने उनी बताउछिन् ।

‘नेपाल सरकारले मेरो श्रीमानलाई चाँडै नेपाल ल्याइदेओस् यसैमा मेरो मन खुसी हुनेछ’, सन्ध्या नेपाल सरकारसँग आग्रह गर्छिन् ।

उस्तै समस्या छ प्रनिश्का राईको पनि

प्रनिश्का राई र नानी

सन्ध्याको जस्तै समस्या छ, देउमाई नगरपालिका–८ की प्रनिश्का राईको पनि । छोराको पढाइकै लागि भनेर उनी इलाम छाडेर झापामा डेरा लिएर बस्छिन् ।

महिनाको दुई हजार रुपैयाँ कोठा भाडा छ । छोरा एलकेजीमा पढ्छ । कतै स्कूल पो लागिहाल्छ कि भनेर उनले कोठा छाडिनन्। लकडाउनपछि आफू घर गए पनि बन्द कोठाको भाडा नियमित दिइरहनुपर्छ ।

प्रनिश्काका श्रीमान् राजकुमार राई चार वर्ष अघि साउदी पुगेका हुन् । उनले महिनामा ७० हजारसम्म पठाउथे परिवारलाई । महामारीका कारण लकडाउन भयो । काम रोकियो । प्रनिश्काका अनुसार, केही वर्ष उतै दुःख गर्ने मन थियो उनको । तर अहिले बिना काम बसेको पाँच महिना भयो । अब नेपाल आउने तयारीमा छन् ।

आजसम्म पहिलेको बचतले घरखर्च चलाए पनि अब के चलाउने कसरी गुजारा गर्ने भन्ने पीर थपिएको छ प्रनिश्कालाई ।

‘हिजोसम्म त अलि–अलि भएको बचतले चलाइयो, अबको बाँकी समय ऋणकै भर पर्नुपर्ने बाध्यता छ’, उनले पनि आफ्नो दुखेसो पोखिन् ।

कोरोना महामारीको चुनौती यथावत रहे परिवारसँगै मिलेर व्यवसायिक नगदेबाली गर्ने योजना छ प्रनिश्काको । देउमाई नगरपालिकामा धान, मकै, चिया, अलैची, आलु, मटर, मुला, गोपी फस्टाउने बालीका रुपमा रहेका छन् । यिनै बालीलाई आधुनिक र व्यवसायिक बनाउने योजना रहेको उनले बताइन् ।

अभावले सिकाएको किसानी

पवित्र सुनुवार

देउमाई नगरपालिका – १ की पवित्र सुनुवारको भने दैनिकी अलि सहज छ अहिले । कोरोना महामारीका कारण परदेशमा रहेका श्रीमान्ले सात महिनासम्म पैसा पठाएनन् । उतै रहने वा नेपाल आउने अन्योल थियो । आर्थिक संकटका कारण समस्या पनि उत्ति नै थिए ।

आर्थिक संकटले दिएको पीडाले उनलाई भने सफल किसान बनाएको छ । पारिवारिक खर्च निकाल्न सक्ने भएकी छिन् । लागेको ऋण तिर्न विभिन्न नगदेबालीलाई विस्तार गरेकि छिन् उनले । उनको बारीमा गोपी, काउली, मुला, मटरको खेती विस्तार भएको छ । पछिल्लो समय आलु र लोक्ता खेती समेत विस्तार गरेकी छिन् ।

लोक्ता पाँच रोपनीबाट ३५ रोपनी पुगेको छ । काउली र गोपी चार प्यागबाट १० प्याग, गाई चारबाट पाँच माउ बढाएकी छिन् ।

पवित्र र लालबहादुर सुनुवार

उनका श्रीमान् लालबहादुर सुनुवार २०७४ सालमा मलेसिया गएका हुन् । त्यहाँ गएपछि उनले बेलाबखत पैसा पठाइरह । तर विभिन्न कारणले सात महिनासम्म पैसा पठाउन सक्नु भएन । लामो समयपछि भदौमा पैसा पठाउनु भएको र अहिले आफूमा उर्जा थपिएको पवित्र बताउछिन् ।

‘यसैको आम्दानीले घरखर्च चलाउँछु, श्रीमानले पठाएको रकम चाहिँ सकेसम्म बचत गर्ने योजना छ’, उनले भनिन् । उनका तीन छोरासहित आठ जनाको परिवार छ । अभावले योजना बनाउन सिकाउने उनको अनुभव छ । भन्छिन्, ‘आर्थिक संकट लागे पनि लकडाउनले मलाई भने सक्रिय बनायो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार