इलाम । इलाम नगरपालिका बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाण्डौंको साझेदारीमा २७ परिवारलाई ५२ हजार बराबरको राहत मंगलबार वितरण गरेको हो ।
पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगुले जानकारी दिए ।
उनका अनुसार, कोरोना महामारीका कारण जीवनयापन गर्न असहज बनेका परिवारलाई चामल ३० केजी, तेल १ लिटर, दाल १ केजी, नुन २ केजी, साबुन २ प्याग र मास्क पाँच / पाँच थान प्रति परिवारलाई वितरण गरिएको हो ।
इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडानम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलाल, पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगु, पूर्व अध्यक्ष गंगा भूर्तेल, वडानम्बर ४ का सदस्यहरु सीता बराल, ज्ञानेन्द्र निरौला, सुशीला विकको उपस्थितीमा राहत वितरण गरिएको हो ।