इलाम । प्रदेश १ मा शनिबार कोरोना भाईरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । पछिल्लो समय समुदाय स्तरमै पुगेको भाइरसको संक्रमण देश भर बढ्दै गएको हो ।
मृत्यु हुनेमा मोरङको विराटनगरका एक पुरुष, ग्रामथानकी एक महिला र सुनसरी रामधुनीका एक पुरुषको मृत्यु भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
यसैबीच प्रदेश १ मा शनिबार ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ ।
२१ महिला र २५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको बुढीगंगामा ५ महिला र ५ पुरुष, कटहरीमा ४ पुरुष, ग्रामथानमा १ पुरुष र सुन्दरहरैचामा १ महिलामा कोरोना देखिएको छ ।
सुनसरीको इटहरीमा २ महिला र ६ पुरुष, इनरुवा र धरानमा २–२ पुरुष, रामधुनी र दुहवीमा १–१ पुरुष र उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६९६ पुगेको छ । प्रदेश १ मा शनिबार ३६ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा शनिबार १ हजार २१२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म १ लाख ६ हजार ९८६ जनाको पीसीआर परीक्षण भइसकेको छ । शनिबार झापाका कसैलाई कोरोनाको संक्रमण नदेखिएको जनाइएको छ ।
यसैबीच देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुई जना कोरोना संक्रमित थपिएका छन्। प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।
थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप ८५२ जना कोरोना संक्रमण मुक्त भएका छन्। यससँगै कुल डिस्चार्ज हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ।