महामारीमा योग किन आवश्यक ……

योग

  स्वामी कृष्णमोहन

 366 पटक हेरिएको

इलाम । शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र आध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग हो । योग एक किसिमको अनुभूति र रूपान्तरण हो, जुन हरेक उमेरसमूह, रोगी र निरोगी सबैका लागि आवश्यक छ ।

-योगमार्फत रोगी व्यक्ति स्वस्थ बन्छ, तन्दुरुस्त व्यक्तिको जीवन पद्धति पनि स्वस्थ रहन्छ । महामारीको समयमा स्वस्थ जीवनशैलीका लागि योग झनै आवश्यक भएको छ । स्वस्थ रहन स्वस्थ खानपान, व्यायाम र पर्याप्त निद्रा आवश्यक हुन्छ ।

-महामारीले सबैको जीवनशैली प्रभावित बनाएको छ । क्वारेन्टाइनमा बस्दा शरीरले आवश्यकताभन्दा बढी विश्राम पाएको छ । निष्क्रिय जीवन, असन्तुलित खानपान, तनाव र एन्जाइटी बढ्नु यतिवेला सामान्यझैँ बनेका छन् । यी सबैबाट मुक्ति पाउने माध्यम योग हुन सक्छ।

किन गर्ने ?

-योगले सकारात्मक सोच बढाउँछ । संक्रमणको डर, तनाव र अभावबाट सिर्जित मानसिक असर हटाउन योग सहयोगी हुन्छ।

– शरीरमा अक्सिजनको मात्रा पूर्ति गर्न योगले सघाउँछ । बिहान ४ देखि ५ बजेबीचमा पृथ्वीमा अक्सिजनको मात्रा अन्य समयभन्दा बढी हुने अध्ययनहरूले देखाएका छन् । त्यो समयमा योग गर्न सके शरीरले पर्याप्त अक्सिजन पाउँछ ।

– योग व्यायाम पनि हो, शरीरका सबै जोर्नी चलायमान बनाउन र रक्तसञ्चार बढाउन मद्दत पुर्‍याउँछ । शरीरका सबै अंगमा अक्सिजन पुग्नाले रोगप्रतिरोधी क्षमतासमेत बढ्छ ।

– स्वस्थ रहन, आत्मविश्वास बढाउन, सफल बन्न र प्रतिभा प्रस्फुटन गर्न योग उपयुक्त माध्यम हो ।

-योगले एकाग्रता बढाउँछ, जसबाट तनाव सजिलै व्यवस्थापन हुन्छ ।

– हरेक बिहान कम्तीमा आधा घन्टा योग गर्न सकिन्छ । एकदेखि डेढ घन्टासम्म योग गर्न सक्दा निरोगी रहन मद्दत मिल्छ ।

– बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र व्यायामको कमीका कारण मानिसमा स्वास्थ्य समस्या निम्तिन्छ । योगले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई जोड्छ ।

कसरी गर्ने ?

– शरीर स्वस्थ राख्न सामान्य व्यायाम गर्न सकिन्छ । महामारीको समयमा मानसिक स्वास्थ्य सन्तुलित राख्न सामान्य व्यायाम उपयुक्त हुन्छ ।

– सुरुदेखि नै जटिल आसनमा योग गर्नुपर्छ भन्ने छैन । वार्मअपका लागि सूक्ष्म व्यायाम गर्ने, शरीर तन्काउने तथा दायाँ–बायाँ र अगाडि–पछाडि मोड्नुपर्छ ।

-योगका विविध तरिका छन् । शरीरलाई अप्ठ्यारो नहुने आसन नै उपयुक्त हुन्छ ।

– सूर्यनमस्कार, गोमुखासन, सिंहासन, मार्जरीआसन, नौकासन, धनुरासन, ताडासन, बज्रासन अपनाउन सकिन्छ ।

– सामान्य आसनका लागि युट्युबमा भिडियोहरू उपलब्ध छन् । तर, नसामा समस्या आउन नदिन सुरुमा सामान्य आसन नै
उपयुक्त हुन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार