इलाम । कपाललाई सुन्दरतासँग जोडेर हेरिन्छ । पछिल्लो समय फेसनका लागि समेत कपालमा धेरै खर्च भइरहेको पाइन्छ । सुन्दरता र व्यक्तित्वसँग जोडिने कपालको सौन्दर्यमाथि विभिन्न खोज अनुसन्धान पनि तीव्र गतिमै भइरहेको छ । नयाँ प्रविधिको विकाससँगै कपालमा आउने समस्या समाधानका लागि सजिलो बनाइदिएको छ ।
कपाल झर्नु मुख्य समस्या हो । कपालमा प्रयोग गरिने विभिन्न सामग्री र स्वास्थ्य अवस्थाका कारण अधिकांशले कपाल झर्ने समस्या भोगिरहेका हुन्छन् । यसबाहेक कपाल झर्नुका दुई कारण हुन सक्छन्, अस्थायी खालको कपाल झर्ने र स्थायीखालको कपाल झर्ने समस्या । अस्थायीखालको कपाल झर्ने समस्यालाई विभिन्न औषधिको प्रयोगबाट निको पार्न सकिन्छ । स्थायी खालको समस्यामा कपाल रोप्नुको विकल्प हुँदैन । कपाल झर्ने समस्या महिलामा भन्दा पुरुषमा बढी हुने गर्दछ । यसको प्रमुख कारण पुरुषमा हुने टेस्टोजोन हार्मोन हो । यो हार्मोन महिलामा एकदमै कम मात्रामा पाइने हुँदा महिला कम प्रभावित हुन्छन् । पुरुषमा ८० देखि ९० प्रतिशतसम्म तालुको रौँ झर्ने समस्या हुन्छ, जसलाई एन्ड्रोजेनिटिक एलोपेसिया भनिन्छ ।
सामान्यतः तालुमा एउटा इन्जाइम हुने गर्छ, टेस्टोजोन हार्मोनलाई डाइहाइड्रो टेस्टोरोनमा परिवर्तन गरिदिन्छ । बिस्तारै हार्मोनका कारण कपालको जरा सुक्दै जाने भएकाले कपाल झर्दै जाने हुन्छ । डाइहाइड्रो टेस्टोरोनको मात्रा बढी हुँदै गएमा कपालको जरामा असर पर्ने भएकाले नउम्रिने समस्या हुन्छ । जसको एक मात्र उपचार कपाल प्रत्यारोपण हो ।
हार्मोनका आधारमा शरीरमा दुई किसिमका रौँ हुन्छन्, एन्ड्रोजोन सेन्सेटिभ र एन्ड्रोजोन ननसेन्सेटिभ । सामान्यतः तालुमा हुनै रौँको जरामा हार्मोनले प्रभाव पारिरहेको हुन्छ । तर, टाउको पछाडि भागमा रहेका कपाललाई हार्मोनले कुनै असर पार्दैन । जसकारण कपाल प्रत्यारोपण गर्दा टाउको पछाडि वा दायाँबायाँ भागबाट कपाल ल्याइन्छ । जुन प्रत्यारोपण गरिसकेपछि झर्ने सम्भावना रहँदैन ।
प्रायः पुरुषमा उमेर बढ्दै जाँदा तालुका रौँको जरालाई असर गर्ने हार्मोन सक्रिय हुँदै जाने भएकाले यो समस्या उमेर बढ्दै जाँदा देखिन्छ । यसबाहेक वंशानुगत गुण पनि कपाल झर्नुको अर्को मुख्य कारण हो । हार्मोनका कारण कपाल झर्ने समस्या औषधि उपचारबाट नियन्त्रण सकिँदैन । यसबाहेक एन्ड्रोजोन ननसेन्सेटिभ कपाल पनि झर्न सक्दछ, यसमा मुख्यतया व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था र जीवनशैलीमा भर पर्छ । दैनिक ५० देखि एक सयवटा कपालसम्म झर्नु सामान्य मानिन्छ । तर, अस्वस्थ जीवनशैलीका कारण धेरै कपाल झर्न थालेमा सम्बन्धित चिकित्सकको सल्लाह लिनुपर्छ ।