इलाम । ‘सम्बन्ध जोडे जस्तो सजिलो तोड्न त कहाँ हुन्छ र ?’ २३ वर्षीय राधिका (नाम परिवर्तन) ले भनिन्, ‘छुटेका सम्बन्धले सोच्दै नसोचेको बाटोतिर धकेल्दो रहेछ ।’ राधिका सम्बन्ध जोगाउन, परिवारको सुन्दर भविष्य बनाउन र बाँकी जीवन सुखैसुखमा बिताउन भन्दै परदेश गएकी थिइन् । तर फर्कंदा न परिवार रह्यो न त साँचेका सपना । परदेशले भनौं या जिन्दगीको खेल, परदेशमा बसेर भविष्यका लागि पसिना बगाउँदा बगाउँदै एक्लो भइन् ।
इलामको माइनगरपालिका–१ की राधिकाले मनले खाएको मान्छेसँग १६ वर्षकै उमेरमा बिहे गरिन् । उनको २०७० साल पुसमा आफू भन्दा सात वर्ष जेठा २३ वर्षका पुरुषसँग भागी विवाह भयो । साँच्चै भन्दा त्यो बेला उनलाई बिहेको महत्व पनि राम्रो थाहा थिएन । न भविष्यको चिन्ता, न वर्तमानको । माया थियो र सँगै जीवनका उकाली ओराली गर्ने बाचा र अठोट थियो ।
१७ वर्षमा छोरो जन्मियो । बच्चा भएपछि घरबार चलाउन गाह्रो भयो । छोरो १५ महिनाको हुँदा श्रीमान् रोजगारीका लागि कतार गए । श्रीमानको परदेश बसाई राम्रो भएन । कमाइ नभएपछि १५ महिना नबित्दै श्रीमान नेपाल फर्किए । श्रीमान रित्तो हात घर फर्किएपछि राधिकालाई सासुससुराले भने – ‘छोरोले कमाउन सकेन, अब तिमी नै जाउ बुहारी ।’ परिवारका मानिसले नै कमाउन जाउ भनेपछि नाई भन्नु कसरी । काखे सन्तान छाडेर परदेश जाने मन त थिएन राधिकालाई । तर परिवारको खुसी र सुखका लागि नाई भन्ने आँट आएन । २०७२ सालमा १९ वर्षकै उमेरमा काखे सन्तान छाडेर उनी यूएई गइन् । तर नेपालमा भने अनुसारको काम र कमाइ भएन । दुई महिनामै नेपाल फर्किनु प¥यो ।
कमाउनु त जसरी पनि थियो । एउटा देशमा असफल भए पनि अर्को देशमा कमाउने आशा बोकेर उनी फेरि ओमान लागिन् । ओमानमा भने काम मिल्यो । परदेशमा बल्ल काम र कमाइ मिल्दै गयो । तर घरमा श्रीमानसँगको सम्बन्ध भने बिग्रंदै गयो । ओमान पुगेको १५ महिनापछि श्रीमानसँग कुराकानी बन्द भयो ।
‘किन मसँग टाढा भएको होला भन्ने लागिरहन्थ्यो, मनमा अनेक प्रश्नहरु थिए, पछि आफन्तबाट थाहा पाए, उनको त अरुसँगै सम्बन्ध रहेछ, कतिले त बिहे नै गरेको हो, तर बाहिर भने भनेका छैनन् भन्ने कुरा पनि सुनाए’ राधिकाले नमिठो क्षणको स्मरण गर्दै सुनाइन् । ओमानको बसाई सकाएर उनी नेपाल फर्किइन् । घर आउँदा न कमाइ थियो न त घर परिवार नै ।
यो खबर सुन्दा राधिकालाई लाग्यो परदेश नआएको भए धन नभए पनि आफ्नो माया साथै हुन्थ्यो । आफ्नो परिवार हुन्थ्यो । पछुतोले मन भरियो । जे नहुनु पर्ने त्यो भइसकेको थियो । बाँकी त पछुतो मात्रै थियो । ओमानको बसाई सकाएर नेपाल फर्किइन् । घर आउँदा सवै लथालिङ्ग भइसकेको थियो ।
‘अनौपचारिक रुपमा विवाह गरेका श्रीमानलाई माफी दिएकै हुँ, विगत जे भयो भयो अब राम्रो सम्बन्ध बनाऊँ भन्ने मेरो प्रस्ताव स्वीकार गरिएन, अन्ततः सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेँ’ उनले सुनाइन् । बिग्रिएको सम्बन्धलाई फेरि गाँस्नु भन्दा उनले छुट्टिएरै खुसी जीवन जिउने निधो गरिन् र भावनात्मक रुपमा टुटिसकेको सम्बन्धलाई २०७६ मंसिरमा कानुनी रुपमा मान्यता दिलाइन् ।
दुई वर्षको बच्चा छाडेर परदेश जानु, काम र भाषा नजान्द १२ घण्टासम्म एउटै कोठामा राखेर साहुले दुःख दिंदाको पीडा सहनु । दुःख त कति हुन् कति । तर फर्कंदा हात लाग्यो शून्य । भविष्य बनाउँला भनेर विदेशिएको योजना भताभुङ्ग भयो । ‘आफ्नै छोरोलाई समेत छोरा भन्न पाइन, सम्झिए कत्ति हो कत्ति मन भक्कानिएर आउँछ, के गर्नु ? बहुलाउनु भन्दा बाँच्नै निको रैछ भन्छु अनि आफूलाई सम्हाल्छु,’ उनी भन्छिन् ।
अहिल्यै उनको पहिलेको जस्तो नयाँ रहर छैन । दुःखै गर्न जन्मेको दुःखै गर्छु भन्छिन्, उनी । राधिकालाई विवाह भन्ने शब्दले पनि हिजोआज बिझाउँछ । पछुतोले भतभती पोल्छ । ‘नजानेरै बिहे गरियो, तर विवाह गर्दाका जिम्मेवारी के – के छन् ? यो बुझेर मात्र विवाह गर्नु, बरु नत्र नगरेकै राम्रो ।’ उनको सुझाव छ ।
इलामको माईनगरपालिका–६ की सुधा (नाम परिवर्तन) को पीडा पनि उस्तै छ । १८ वर्षकै उमेरमा विवाह अनि १९ वर्षमै आमा बनिन् । श्रीमानकै करकापमा परेर साढे तीन वर्षको बच्चा छाडेर परदेशिनु प¥यो । जिन्दगीले दिनुसम्मको दुःख दियो । भेट भएकै दिन २०५६ मा विवाह भयो । एक अर्कामा राम्रो चिनजान हुनै पाएन । विवाहपछि सम्बन्ध राम्रो भएन । घर झगडा भइराख्थ्यो ।
जीवन कहिलेसम्म त्यसैगरी चल्छ उनले केही अड्कल काटेकी थिइनन् । विवाद, असन्तुष्टि र कलहकै बीचमा उनलाई श्रीमानले विदेश जान करकाप गरे । दिनरात रोएर बस्नु भन्दा जे होला भनेर २०६१ सालमा कुवेत लागिन्, साढे तीनवर्षको छोरोलाई माइतीमा छाडेर । सानो बच्चा चटक्कै छाडेर परदेशीनु पर्दा मन गह्रौं भएको थियो ।
रोएको थियो । तर खै किन हो कुवेत पुगेपछि उनलाई मनका सबै भारी बिसाएझैं हलौं भयो । उनी अघि सुनाउछिन्, ‘मलाई, त्यही कुवेतले पागल बनेर सडकमा हिँड्नबाट बचायो, त्यसैले होला मलाई मेरो घर भन्दा कुवेतको बढी माया लाग्छ ।’ कुवेत पुगेपछि कमाइ त भयो । तर सम्बन्ध भने फाटिंदै गयो । ‘श्रीमानको अर्कैसँग सम्बन्ध छ भन्ने थाहा भयो, त्यसपछि लाग्यो अब श्रीमानकोबारेमा होइन, मैले मेरो छोरोको लागि सोच्नु पर्छ, उनी थप्छिन् ‘त्यसपछि मैले पैसा पठाउनै छाडेँ ।’
घरमा श्रीमानले अर्को बिहे गरे । सुधाले कुवेतमै १० वर्ष यसै बिताइन् ।। फर्किएपछि उनलाई लाग्यो नामको मात्र सम्बन्ध के काम । बरु कानुनी रुपमा पनि छुट्टिएकै जाति । सम्बन्ध बिच्छेदका लागि प्रक्रिया अघि बढाइन् । तर मुद्दा लड्दा लड्दै परदेशको कमाइ मात्रै सकियो ।
मेलमिलापको प्रयास नभएका होइनन् । सात पटकसम्म त प्रहरी चौकी नै धाइन् । सहारा नै नपाएपछि उनका लागि सम्बन्ध विच्छेद नै अन्तिम विकल्प बन्यो । अबको बाँकी जीवन छोरोकै लागि दुःख गर्ने लक्ष्य छ । ११ कक्षामा पढ्दै गरेका छोरोको सुन्दर भविष्य हेर्ने मन छ उनलाई । एक्लो हुँदाका समयमा समाजका अनेक आलोचना सुन्दा मन खिन्न भए पनि आफ्नै नाममा छोरोको नागरिकता निकाल्न पाउँदा भने खुसी लागेको छ उनलाई ।
अहिले ३८ वर्ष लागिन् सुधा । जीवनका ३८ औं वसन्तमा भोगाईलाई जोड्दै उनी भन्छिन्, ‘जोडिएर छुट्टिनु भन्दा सम्बन्धमा नजोडिएकै जाती, जीवनका हरेक पाइला सोचेर मात्र चालौँ ।’केही कारणमा बाहेक सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानको अंशबाट अंशियार मध्येकोे एक भाग पाउने अधिकार कानुनले सुनिश्चित गरेको छ । तर पछिल्लो समय आफ्नो अधिकार नलिइ सम्बन्ध विच्छेद गर्ने महिला बढी रहेको पाइएको छ ।
इलाम जिल्ला अदालतको तथ्याँङ्क अनुसार, आर्थिक वर्ष २०७४/०७५ देखि अहिलेसम्म छ सय ६० सम्बन्ध विच्छेदका मुद्दा छन् । जसमा २०७४/०७५ मा एक सय ६३ महिला र एक पुरुष गरी एक सय ६४, २०७५/०७६ मा दुई सय महिला र ६२ पुरुष गरी दुई सय ६२, २०७६/०७७ मा महिला एक सय ४९ र पुरुष ६१ गरी जम्मा दुई सय १० र चालु आर्थिक वर्ष २०७७/०७८ मा महिला १८ र पुरुष ६ गरी २४ थान मुद्दा परेको छ ।
चालु वर्षको अहिलेसम्ममा २४ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये १८ वटा मुुद्दामा अंशको माग दावी नै नरहेको जिल्ला अदालत इलामका शाखा अधिकृत गंगा कुँवरले जानकारी दिइन् । कुँवरका अनुसार ६ वटा मुद्दामा मात्रै अंशको माग दावी गरिएको छ । अघिल्लो आर्थिक वर्षमा जिल्ला अदालतबाट भएको न्याय सम्पादन सम्बन्धि जानकारी दिदै न्यायाधीश हरिश्चन्द्र इङ्गनामले एक सय ७४ सम्बन्ध बिच्छेद सम्बन्धी मुद्धा दर्ता हुँदा ५० वटा मुद्धामा अंशको मागदावी नभएको जानकारी दिएका थिए । आर्थिक वर्ष २०७५/०७६ बाट ०७६/०७७ का लागि ७० वटा सम्बन्ध बिच्छेदका मुद्धाको जिम्मेवारी सरेको थियो । ती मध्ये ५० वटा मुद्धामा अंशको मागदावी थिएन ।
चार आर्थिक वर्षमा ६ सय ६० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमा पाँच सय तीन जना महिलाले दर्ता गराएका हुन् भने एक सय ३० वटा पुरुषले दर्ता गराएका हुन् । अंश सहितको मुद्दा दर्ता गर्दा बढी समय लाग्ने भएकाले धेरैजसोले अंशको माग दावी नै नगर्ने गरेका अधिकृत कुँवरको भनाई छ ।
सम्बन्ध विच्छेद सम्बन्धी मुद्दामा अदालतले एक वर्षसम्म मेलमिलापकै प्रयास गराउँछ । त्यति समयमा पनि मेलमिलाप नभए वा सम्बन्ध तोड्नको लागि श्रीमान श्रीमती तयार भए बढीमा १८ महिनासम्ममा सम्बन्ध विच्छेदको प्रक्रिया टुङ्गिने कानुनी प्रावधान छ ।
घरेलु हिंसाबाट कसरी छुटकारा पाउने ? भन्ने मात्र सोच्ने, मुद्दालाई छोटो अवधिमा टुङ्गो लगाउने सोच र कतिको चाहिँ दावी गर्ने व्यक्तिसँग सम्पत्ति नै नहुने भएकाले पनि अंश दावी नै नगर्ने गरेको पाइएको अधिवक्ता याम लिम्बू बताउछन् । महिलाले परपुरुषसँग सम्पर्क गरेको पुष्टि हुँदा, अर्को व्यक्तिसँग बिहेवारी गरे या नियमित तीन वर्ष घर छाडेर हिँडेको अवस्थामा मात्रै अंश नपाउने व्यवस्था छ । सम्बन्ध विच्छेदको लागि बाध्य भएका महिलाहरुसमेत आफूलाई कानुनले दिएको अधिकार पनि, छाड्न थालेका छन् ।
वैदेशिक रोजगारीमा जाने चलन ह्वात्तै बढेपछि बहुबिवाहको मुद्दा दर्तामा समेत वृद्धि भएको देखिन्छ । वैदेशिक रोजगारी, घरेलु हिंसा, सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पनि सम्बन्ध विच्छेद बढ्न थालेको लिम्बुको भनाई छ ।
सम्बन्ध विच्छेदका कारण ठूला हुँदैनन् । साना कमजोरीलाई पनि क्षमा दिन नसक्नु, आ–आफ्नो जिम्मेवारीलाई बोध नगर्नु, एक अर्कामा सम्झौता गर्न र विश्वास गर्न नसक्नुले यस्ता निर्णयमा पुग्न सहयोग गरेको मनोपरामर्शदाता कल्पना बराईलीको भनाई छ ।


625 पटक हेरिएको 






