सप्तरीमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि

पाँच पुरुष तीन महिला गरी ८ मा संक्रमण

  सरलपाटी सम्वाददाता

 217 पटक हेरिएको

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहका अनुसार वडा नम्बर ९ हनुमाननगर बजार निवासी एकै परिवारका ३ महिलासहित ८ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको हो ।

केही दिन अघि सोही परिवारका २८ वर्षीय एक पुरुषमा संक्रमण देखा परेको थियो । उनी किराना पसल व्यवसायी हुन् । उनकै कन्ट्याक ट्रेसिङको आधारमा परिवारका सदस्यहरुको साउन २८ गते स्वाब संकलन गरी परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको मेयर साहले बताए ।

मेयर साहका अनुसार संक्रमण पुष्टि हुनेमा ६५, ५५, ३८, ३६ र १० वर्षीय पुरुष तथा ५०, ३० र २४ वर्षीया महिला छन् । संक्रमण पुष्टि भएका सबै एकै परिवारका सदस्य भएकाले उनीहरुलाई होम आइसोलेसनमै राखेर निगरानी गरिने मेयर साहले बताए ।

यसअघि संक्रमण पुष्टि भएका २८ वर्षीय युवक अधिकांश समय पसलमै बस्ने गरेको पाइएको छ । उनी बाहिर कतै नगएको पाइएको मेयर साहले जानकारी दिए । उनलाई कुनै ग्राहकबाट सरेको हुन सक्ने आशंका गरिएको छ ।

एकै परिवारका ८ जना र हनुमाननगर कंकालिनी नगरपालिकाका अन्य तीन जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १ का ४० वर्षीय पुरुष, वडा नम्बर ७ की ३१ वर्षीया महिला र वडा नम्बर १० का ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार