इलाम । इलामको माईखोला किनारमा एक पुरुषको वेवारिसे अवस्थामा शव फेला परेको छ ।इलाम नगरपालिका – ८ को नामसालिङ जाने बाटोस्थित माईखोलाको पक्की पुल नजिकैको खोला किनारमा सो पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।
मृत पुरुषको शरीरमा चोट लागेको पाइएको छ । टाउको र निधारमा निल डाम र चोट लागेकाले केही शंकास्पद रहेको जिल्ला प्रहरी कार्यलय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले बताए।
उनका अनुसार, घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ । घटनास्थलमा भेटिएको लाशको हालसम्म नाम, थरवतन केही नखुलेकाले सनाखत हुन सकेको छैन ।
निजकाबारे कसैलाई केही जानकारी भए जिल्ला प्रहरी कार्यालय इलाममा जानकारी गराइदिन समेत सबैमा उपरीक्षक सुबेदीले अनुरोध समेत गरेका छन् ।
घटनास्थलमा पुगी लाश जाँच मुचुल्का लगायतका सम्पुर्ण प्रारम्भिक कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि इलाम अस्पतालको शव गृहमा राखिएको छ ।
करिब ३२ वर्षको जस्तो देखिने मृत पुरुषको दाहिने हातको नाडिमा रातो पहेलो डोरा बाँधेको र गलामा रातो डोरीमा पहेलो जन्तर(बुटी) लगाएको पाइएको छ । अन्दाजी ५ फिट ७ ईन्च उचाई भएको, रातो वर्णको, तालुमा पातलो केश भएको उनको हुलिया रहेको प्रहरीको भनाई छ ।