भेलबाढीका कारण भवन जोखिममा

पानी झरीको पिरलो

  सरलपाटी सम्वाददाता

 320 पटक हेरिएको

इलाम । इलाममा रहेको मानव अधिकारको लागि महिला, एकल महिला समूहको भवन जोखिममा पर्दै गइरहेको छ । इलाम नगरपालिका–६ नारायण स्थानमा सडक निर्माणका क्रममा अव्यवस्थित भेलबाढी पसेकाले सो भवन जोखिममा परेको हो ।

भवनको पर्खाल लड्न थालेकाले तत्काल रोकथाम हुन नसके भवनमा थप क्षति पुगी सबैलाई गम्भीर असर पर्ने देखिएको छ । यसको रोकथामका लागि सम्बन्धित निकायमा अनुरोध गर्दा समेत कुनै चासो नदेखाइएको एकल महिला समूहकी अध्यक्ष दीपा आचार्य ढकालले बताइन् ।

उनले भनिन्, ‘यो भवन क्षति भए हामी जिल्ला भरका चार हजार एकल महिलालाई प्रत्यक्ष असर पुग्नेछ ।’ १८ लाख रुपैँया लगानी गरी निर्माण गरिएको यस भवनमा क्षति पुगे यस भवन आसपासका सडक र रेडक्रसको भवनलाई समेत क्षति पुग्ने उनको भनाई छ ।

यो भवन निर्माणका क्रममा एकल महिलाको श्रमदान र सामाजिक सुरक्षा भक्ताको समेत रकम लागानी गरिएको बताइएको छ । यहि भवनबाटै एकल महिला मात्रै होइन घरायसी समस्यामा परेका सम्पूर्ण महिलाहरुको समस्या समाधानका विषयमा छलफल हुने गरेको छ । समस्या समाधानका लागि सम्बन्धित निकायसम्म पुग्न सहयोग गरिने कार्य हुदै आएको अध्यक्ष ढकालले जानकारी दिइन् ।

उनले भनिन् ‘जोखिम बढ्दै गएकाले गएको सोमबार पाँच गतेबाट भने सबै कामकाज बन्द गर्ने गरी अफिसमा नै ताला लगाइएको छ ।’

यता वडा नम्बर ६ का वडाध्यक्ष माधव भट्टराईले भने, गडीथुम्काबाट आएको भेलले सो भवनलाई असर गरेको बताए । उनले भने, ‘असर गर्ने सो भेल हिजो मात्रै कटान गरिएको छ, अब भने केही जोखिम कम भई नै सकेको छ ।’

भत्केको पर्खालमा भने, तत्काल केही गर्न नमिल्ने प्राविधिकको सल्लाह भएकाले अहिल्यै केही गरी हाल्न भने नसकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार