इलामको सन्दकपुर गाँउपालिका वडा नम्बर २ माइमझुवामा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । अविरल बर्षासँगैे घरमाथिबाट आएको पहिरोले स्थानीय धनराज राई र कुमार राईको घरमा क्षति पुगेको हो ।
पहिरोले धनराज राईको घरमा र कुमारको भान्छा घरमा क्षति पुगेको वडा नम्बर २ वडाध्यक्ष गिरिराज खनालले जानकारी दिएका छन् । सोमबार दिउँसो करिब १२ बजे खसेको पहिरोले धनराज राईको घर ढल्किएको र बस्न सक्ने अवस्थामा नभएको र कुमारको घरमा सामान्य क्षति भएको वडाध्यक्ष खनालले बताए ।
पहिरोले पीडित बनेका धनराज आफन्तको शरणमा रहेको र वडावाट त्यस क्षेत्रमा राहत लैजाने तयारी भइ रहेको खनालले जानकारी दिए । निरीक्षण पश्चात क्षतिको मापन गरिने उनले बताएका छन् ।