नेपालमा कोरोना सङ्क्रमणको कारण थप ३ को मृत्यु

मृतकको सङ्ख्या ३८ पुग्यो

  सरलपाटी सम्वाददाता

 271 पटक हेरिएको

काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमणको कारण नेपालमा शनिबार थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाण्डौका दुईसहित तीन जनाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौ ठेगाना भएका दुई र सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौ महानगरपालिका १० शङ्खमुलका ६० वर्षीय पुरुषको असार २६ गते मृत्यु भएको हो ।

फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारण असार १६ गते पाटन अस्पताल भर्ना भएको ती पुरुषमा १७ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

यस्तै काठमाण्डौकै गोकर्णेश्वर नगरपालिका ४ का ५४ वर्षीय पुरुषको काठमाण्डौ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता गौतमले बताए । मिर्गौलाका बिरामी ती पुरुषको २५ गते निधन भएको हो । असार १९ गते ती पुरुष अस्पताल भर्ना भएका थिए । २१ गते स्वाबको नमुना सङ्कलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

यस्तै सिन्धुपाल्चोक पाँचपोखरी ६ का ४५ वर्षीय पुरुषको पनि २५ गते नै निधन भएको हो । असार १८ गते क्षय रोगको उपचारको लागि पाटन अस्पताल भर्ना भएका उनमा २२ गते कोरोना पुष्टि भएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार