छ वटा बीओपी निर्माण हुने

इलामका ६ वटा सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको थप बोर्डर आउट पोष्ट(बीओपी) निर्माण गर्ने भएको छ । सरकारले इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ कालपोखरी, वडा नं.५ जौबारी, सूर्योदय नगरपालिका १ मानेभञ्ज्याङ,वडा नं. ५ समालबुङ,सूर्योदय नगरपालिका ६ स्थित छब्बीसे र रोङ गाउँपालिकास्थित सलकपुरमा बिओपी राख्ने भएको हो । यसभन्दा अघि इलामको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरमा मात्र बिओपी स्थापना गरिएको थियो । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ ।

तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । थप ८९ वटा स्थानमा बीओपी राख्न सशस्त्र प्रहरीले तयारी गरिरहेको छ । तीमध्ये कतिपय ठाउँमा जग्गाको पनि टुङ्गो लागिसकेको छ भने केही स्थानमा भाडाको घरमा सशस्त्र प्रहरीले फौज राख्दैछ । गृह मन्त्रालयका अनुसार उत्तरी सीमामा ताप्लेजुङको ओलाङ्चुङगोलामा बीओपी राख्ने तयारी भइरहेको छ ।

हालै सशस्त्रले चीनतिर हुम्लाको हिल्सा नाकामा पनि बीओपी स्थापना गरिसकेको छ । यसअघि संखुवासभाको किमाथांका र मुस्ताङको लामान्थाङमा बीओपी स्थापना भइसकेको छ । सरकारले गत वर्ष मंसिरमा ११४ वटा बीओपी थप्ने निर्णय गरेपछि ती स्थानमा बीओपी राखिएका हुन् । त्यसअघि सशस्त्र प्रहरीले एक सय ७ स्थापनामा बीओपी राखिसकेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार