अब लगडाउनमा पनि इलाम बजारका पसल नियमित खोलिने

सटरका भाडामा न्युनतम २५ प्रतिशत छुट

  सरलपाटी सम्वाददाता

 647 पटक हेरिएको

इलाम । इलाममा अब नियमित रुपमा बजारका पसल खोलिने भएको छ । लगडाउनले उद्योग व्यवसायीलाई मात्र नभई सर्वसाधारणलाई समेत असर पर्न गएकाले विहीबारबाट इलाममा बजारका अधिकांश पसलहरु खोल्ने निर्णय गरिएको हो । बुधबार इलाम उद्योग वाणिज्य संघ इलामले पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य संगठन (डब्लु. एच. ओ.) र सरकारको मापदण्ड अनुसार नै सुरक्षित रहदै बजारका पसलहरु खोलिने बताइएको छ ।

हरेक दिन विहान सात बजेदेखि दिउँसो १२ बजेसम्म जोखिमपूर्ण पसल बाहेकका सबै पसल सञ्चालन गर्न पाइनेछ । यस्तै सम्पूर्ण वैँक, वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न पाइने उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरलाल चिपालुले बताए ।

उहाँले भन्नु भयो,‘होटल, व्युटिपार्लर, शैलुन, डान्स सेन्टर, मिठाई पसल, चिया पसल, व्यायम स्थल, रेष्टुरा, सार्वजनिक सवारी साधन र मनोरञ्जनका स्थलहरु चाँहि पूर्ण रुपमा बन्द नै रहनेछन् । यस बाहेकका पसललाई भने सञ्चालन अनुमति दिइएको हो । बजार खोलिने सीमित समय मात्र हुँदा बजारमा भीडभाड बढ्ने र जोखिम पनि हुने भएकाले नियमित रुपमा बजार सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ ।

पसल खोल्दा हरेक पसल अगाडी साबुन पानीको व्यवस्था गर्नु पर्ने, पसलका हरेकले माक्स, पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । पसलमा ह्याण्ड सेनिटाइजरको व्यवस्था अनिवार्य गरिएको छ । धेरै भीडभाड हुने स्थानमा सामाजिक तथा भौतिक दुरी कायम गर्दै सुरक्षा घेरा समेत व्यवसाय सञ्चालन गर्ने व्यक्तिले नै निर्माण गरेर मात्र व्यवसाय गर्न पाइने संघले जनाएको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण लगडाउनले व्यवसाय नै धरापमा पर्दै गएकाले नियमित रुपमा बजार सञ्चालन भए पनि शनिबार भने पूर्ण रुपमा बजार बन्द नै रहने अध्यक्ष चिपालुले जानकारी दिए ।

सटर भाडामा लिएर व्यापार व्यवसाय सञ्चालन गरीरहेकाका लागि घरधनीलाई न्युनतम २५ प्रतिशत र सो भन्दा माथि छुट दिन सबैलाई आग्रह समेत गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार