
अन्तिम दाहसंस्कारका लागि तयार गरिएको थियो । शनिबार दिउँसो अढाइ बजेतिर होला इलाको फाकफोकथुम गाउँपालिकाको २ र ३ को सिमानामा रहेको खप्परे घाट नजिकको भिरबाट खसेर स्थानीय ४१ वर्षीय रामबहादुर लकान्द्रीको ज्यान गएको थियो ।
मृतकको शरीर फेला परेपछि कानुनी प्रक्रिया पूरा गर्न प्रहरीले शवलाई पोस्टमार्टमका लागि लगेको थियो । अन्तिम संस्कार पनि सोही घाट नजिक रहेको खोलामा गर्ने भएपछि आफन्तले त्यसतर्फ लगेका थिए ।
अन्तिम संस्कारकोे तयारी सकिएपछि उनलाई दाग बत्ती परिवारले दिएका थिए । तर, दाग बत्ती दिएको २ मिनेट नबित्दै नसोचेको बाढी आयो, स्थानीयबासी तथा राससका पत्रकार गोविन्द लामिछानेले भने, घाम लागिरहेको थियो, पानी पर्ने छाँटकाँट नै थिएन ।
बाढीले हेर्दा हेर्दै लकान्द्रीको शव केही क्षणमै बगाएर लग्यो । दाह संस्कारमा पुगेका आफन्त र मलामी के गर्ने, कसो गर्ने भन्नेमै अन्योलमा परे । बाढी नरोकिएपछि उनीहरु घर फर्किएका थिए ।
पत्रकार लामिछानेका अनुसार घाट नजिक पानी पर्ने संकेत थिएन । माथि सिरानतिर परेको हुनसक्ने उनको भनाइ छ । अहिले रातको ८ बजे पनि बाढी नरोकिएको उनले न्यूज सञ्जाललाई फोनमार्फत जानकारी दिए ।
अहिले पनि उक्त घटनालाई स्थानीयले अचम्म मानिरहेका छन् । लकान्द्रीको शव कहाँ पुग्यो, कस्ता अवस्थामा होला ? भनेर चिन्तित छन् ।