चार सय भन्दा बढी चिया मजदुरले राहात नपाउदा भोकभोकै

संगठित चिया मजदुर मारमा

  सरलपाटी सम्वाददाता

 842 पटक हेरिएको

इलाम । इलामका सरकारी बगानमा काम गर्दै आएका चार सय भन्दा बढी मजदुरले लकडाउनका समयमा राहत नपाउने भएका छन् । जिल्लाका तीन सरकारी बगानमा काम गर्दै आएका चार सय ८९ जनालाई स्थानिय तहले राहत पाउनेको नामावलीमा नाम नै नराखेपछि उनीहरुले राहत नपाउने भएका हुन् ।

मजदुरी गरेरै एक जनाले पाँच जनासम्मको परिवार पाल्नु पर्ने श्रमिक समेत चिया बगानमा आश्रित छन् । यो महामारीको संकटमा सांघाई ग्रुपले पाउनु पर्ने तलब त नदिएको अवस्थामा स्थानिय तहले समेत राहात पाउने नामावलीमा नामै नराखेकाले भोकभोकै बस्नु पर्ने अवस्था सृजना भएको इलाम चियाबगान अन्तर्गत स्वतन्त्र चिया मजदुर युनियनका अध्यक्ष सरस्वती चम्लागाईले बताइन् ।

उनले गुनासो पोख्दै भनिन्, ‘इलाम नगरपालिका – ६ को वडाकार्यलयमा नाम टिपाउन जाँदा संगठित चिया मजदुर हुँ भनेपछि तपाईलाई ग्रुपले नै छुट्टै व्यवस्था गरेको छ भन्दै नाम नै नटिपी फकाई दिए । उनी थपमा भन्छिन्,‘इलाम चिया बगानमा काम गर्ने साथीहरुले मसँग विलौना गर्दै गुनासो पोख्छन् ।’

जिल्लाका तीन पालिका इलाम, सूर्योदय र माईनगरपालिकाका चार चिया बगान नेपाल चिया विकास निगमले भाडामा सञ्चालन गरिरहेको सांघाई गु्रपले नै सञ्चालन गर्दै आएको छ । इलामको माईनगरपालिकाको चिलिमकोट बगानमा ४० स्थायी र दुई सय अस्थायी, सूर्योदय नगरपालिकाको कन्याम बगानमा ६९ स्थायी र एक सय अस्थायी तथा इलामको इलाम चिया बगानमा २२ स्थायी र ५८ अस्थायी मजदुरले काम गर्छन् ।

यी मध्ये एक सय २२ घरपरिवार भने अति विपन्न परिवारमा पर्छन् । माईनगरपालिकाकै सोक्तिम चिया बगान भने घाटा लागेको भन्दै गु्रपले केही वर्ष अघि नै सञ्चालन गर्न छोडेकाले हाल बन्द अवस्थामा रहेको छ ।

ग्रुपबाट राहत÷तलब केही पाइन्छ की भनेर जिल्लाबाट केन्द्रमा कल गरेर बुझ्दा कम्पनीले हामी नै लकडाउनमा परेका छौँ, बैंक जान नै पाएका छैनौँ कसरी पाउनु पर्ने तलब उपलब्ध गराउन सक्छौँ त ? भन्ने जवाफ पाएको इलाम चिया बगानका मेनेजर सवन सुब्बाले जानकारी दिए । अति विपन्न परिवारका व्यक्ति समेत चिया बगानमा आश्रित छन् भन्दै मजदुरको पीडालाई स्थानिय तहले बुझेर राहात दिदैमा के हुन्थ्यो र ? हामी सौतेनी सन्तान होइनौ नी भन्दै मेनेजर सुब्बा गुनासो गर्छन् ।

इलाम नगरपालिकाले गएको सोमबारबाट दुई हजार पाँच सय एक घरपरिवार, माईनगरपालिकाले गएको मंगलबारबाट एक हजार आठ सय १० घरपरिवारलाई राहात वितरणको कार्य सुरु गरेको छ । संगठित चिया मजदुरलाई सांघाई ग्रुपले नै संकटमा गुजारा टार्ने व्यवस्था मिलाउछ भन्ने सूचना, केन्द्रबाटै आएकाले राहत वितरणको नामावलीमा संगठित चिया मजदुरको नाम नराखिएको माईनगरपालिका प्रमुख दिपककुमार थेवेले बताए ।

सूर्योदय नगरपालिकाले भने एक हप्तापछिबाट मात्रै राहत वितरण गर्ने जनाएको छ । एक हजार जनाले नाम टिपाएका छन् पाउनै पर्ने अवस्था भएका जो कोहीले राहात पाउने पालिका प्रमुख रण बहादुर राईले जानकारी दिए । यस पालिकामा भने संगठित श्रमिक पर्छन् पदैँनन् भन्ने कुरा भने निश्चित भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार