सुरु भयो इलामका चिया बगानमा काम

बगानमा चिया टिप्न शुरु

  सरलपाटी सम्वाददाता

 600 पटक हेरिएको

                                                                             फाइल तस्बीर

इलाम । लकडाउनका कारण चियाको उत्पादनमा समस्या पर्ने भएको भन्दै इलामका चिया बगानमा काम सुरु भएको छ । नेपाल चिया विकास निगमले भाडामा सञ्चालन गरिरहेको सांघाई गु्रपले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्ने अनुमति दिएसँगै इलामका चिया बगान आंशिक रुपमा खोलिएको हो ।

ग्रुपले बगानलाई सुरक्षा सामाग्री उपलब्ध गराएपछि बगानमा काम सुरु गरिएको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ जिल्ला समिति अध्यक्ष रमेश खड्काले बताए । उनले भने, ‘कन्याम चिया बगानमा ग्रुपले सेनिटाइजर, साबुन, माक्स, पञ्जा, पानी लगायतका सामाग्री उपलब्ध गराएको छ ।’ ग्रुपसँगै स्थानिय तहले समेत सञ्चालनको अनुमति दिएकाले अहिले व्यक्तिगत सुरक्षा अपनाएरै चियाको पत्ति टिपाई भईरहेको छ ।

अध्यक्ष खड्काका अनुसार, सबै कामदारलाई सुरक्षाका आवश्यक सामाग्री उपलब्ध भएको छ । आइतबारबाट कन्याम बगानका सबै कामदारले काम सुरु गरेका छन् । काम निरन्तर हुने भएकाले पछिल्लो समयमा भने सुरक्षा सामाग्री अभाव हुनसक्ने उनको भनाई छ ।

इलाममा मात्रै ६ हजार ९ सय ९५ बगान रहेका छन् । यी मध्ये चार वटा बगान ग्रुपले सञ्चालन गरी रहेको छ । ग्रुपबाटै सञ्चालन भईरहेको इलामको इलाम चिया बगानमा भने हालसम्म सुरक्षा सामाग्री आइ नपुगेकाले सञ्चालन नभएको बगानकी नायिके तथा युनियन अध्यक्ष सरस्वती चम्लागाईले बताइन् । इलाम र झापामा रहेका सात वटा सरकारी चिया बगान सरकारले भारतको सङ्घाइ ग्रुपलाई भाडामा दिएको हो ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार, नेपालमा कुल ११ हजार ४१ वटा चिया बगान छन् । १४ जिल्लामध्ये पाँच जिल्लामा चिया उत्पादन बढी हुन्छ भने चियाको बगान र किसानको संलग्नता अनुसार इलाम सबै भन्दा अगाडि रहेको बोर्डले जनाएको छ ।

देशभर चियाखेती हुने १४ जिल्लामा नौ हजार दुई सय ३६ किसान व्यवसायिक चिया खेतीमा संलग्न छन् । केन्द्रीय तथ्यांक विभागले प्रकाशन गरेको व्यवासायिक चिया खेती सर्वेक्षण, २०७५ अनुसार नेपालमा कुल १० करोड ८० हजार केजी हरियो चियापत्ती उत्पादन हुने गरेको छ । जसमा इलाममा मात्रै वार्षिक १५ हजार नौ सय ७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुन्छ ।

जिल्लाका कुल तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती गरिदै आएको छ । जसमा पाँच हजार पाँच सय ८२ साना किसान संलग्न छन् । लकडाउनका कारण अहिले सम्ममा इलाममा मात्रै १२ लाख किलो भन्दा बढी हरियो पत्ति खेर गइसकेको चिया विकास कार्यालय फिक्कलका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार