इलाम । इलामको देउमाई नगरपालिका–४ तल्लो बुधबारेमा सञ्चालित डेरी उद्योगमा आगलागी भएको छ । स्थानीय अशेष बुढाथोकीले सञ्चालन गरेको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी भएको हो । आगलागीका कारण डेरी उद्योगको भवन सहित, उत्पादित घ्यू, छुर्पी, प्रशोधन गर्ने मेसिन, भाडा वर्तन, विद्युत मिटर वक्स लगायतका सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर साहले जानकारी दिए । आगलागीबाट ७० लाख रुपैयाँ भन्दा बढिको क्षति भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।
उद्योगमा आगो लाग्दा दुई महिना देखिको उत्पादन नष्ट भएको सञ्चालक अशेष बुढाथोकीले बताए । ‘छुर्पी तयार भइसक्न दुई महिना जति लाग्छ, पछिल्लो दुई महिनाको उत्पादन त्यही थियो, त्यो सबै जल्यो’, बुढाथोकीले भने, ‘४० लाख हाराहारीको स्टगको सामान जलेर नष्ट भयो ।’ २ः ३० बजेतिरबाट शुरु भएको आगलागी एक घण्टा पछि नियन्त्रणमा लिइएको थियो ।
२०७३ सालमा स्थापना भएको डेरी उद्योगमा ७० लाख रुपैयाँ लगानी भएको बुढाथोकीले बताए । आगलागी भएका केही भाडाहरु पुन प्रयोग गर्न सकिने भएकाले उद्योगको भौतिक संरचना तर्फ ३० लाख हाराहारी नष्ट भएको उनले जानकारी दिए । डेरी उद्योगले दुईसय ५० किसानको दैनिक एक हजार लिटर दूध प्रशोधन गर्दै आएको थिाये ।
त्यसबाट मासिक एक हजार दुईसय किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुने गरेका थियो । बुढाथोकीले वैदेशीक रोजगारीबाट कमाएको रकम डेरी उद्योगमा लगाएका थिए । विदेशको कमाईमा वैंकबाट लिएको ऋण थपेर उनले शुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका थिए । लगानी थपिदैजाँदा अहिलेसम्म उद्योगमा ७० लाख रुपैयाँ लगानी भइसकेको बुढाथोकी बताउँछन् ।


415 पटक हेरिएको 






