इलामको पशुपतिनगर नाका अनिश्चितकालिन बन्द

दैनिक दुई सय सवारी साधन पुरै ठप्प

  सरलपाटी सम्वाददाता

 1169 पटक हेरिएको

इलाम । भारतले इलामको पशुपतिनगर नाका बन्द गरेपछि नेपाल भित्रिने र बाहिरिने सवारी साधन अनिश्चितकालको लागि ठप्प भएको छ । नोबल कोरोना भाइरस (कोभिड १९) को कारण देखाउदै भारतले पूर्वी इलामको पशुपतिनगर नाका बन्द गरेपछि आउजाउ गर्न नपाइने भएको हो । शनिबारबाट पशुपतिनगरको नाका हुदै नेपालतिरबाट भारत र भारत हुदै नेपालतर्फ कुनै पनि सवारी साधन भित्रन नपाउने भएको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी जवान दुर्गा बस्नेतले बताए ।

उनले भने, ‘दिनमा करिब दुई सय वटा गाडी यस नाकाबाट आउजाउ गर्ने गरेको थियो । विभिन्न देशका पर्यटक यहि नाका भएर आउने जाने भएकाले सवारी साधनको चाप निकै थियो, तर अहिले भने भारतीय प्रहरीबाट अर्को आदेश नआएसम्म सवारी साधन पुरै ठप्प रहेको छ ।

सीमामा रहेको भारतीय प्रहरीले अनिश्चितकालका लागि नाका बन्द गरेको भन्ने जानकारी दिएपछि सवारी साधन ठप्प हुदाँ आवश्यकीय दैनिक उपभोग्य सामान ल्याउने र लैजाने काम समेत रोकिएको बताइएको छ । सवारी साधन मात्रै होइन टाढाबाट आउ–जाउ गर्ने मानिसलाई समेत रोक लगाइएको छ । तर स्थानीयलाई भने आवश्यक कामका लागि सीमावारी र पारि आउ–जाउ गर्न दिइरहेको उनले जानकारी दिए ।

नाका बन्द भएपछि पशुपतिनगरको बजार समेत सुनसान देखिएको छ । कोरोना नियन्त्रणकै लागि इलामको सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेको छ । यी डेक्सबाट नाका हुदै आउजाउ गर्ने मानिसको तापक्रम जाँच गर्ने गरिन्छ । २ वटा ‘थर्मल गन’ प्रयोग गरी यहाँ दैनिक करिब ६ सय जनाको तापक्रम जाँच भइरहेको थियो । ‘अहिले भने छिटफुट मात्रामा आउ–जाउ गर्ने स्थानीयको मात्रै तापक्रम जाँच भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

सूर्याेदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्स समेत तयार रहेको बताए। हेल्प डेस्कमा एम्बुलेन्स नराखिएता पनि आवश्यकता अनुसार परेका बेला विभिन्न अस्पताल, स्वास्थ्य सस्थामा रहेका एम्बुलेन्सलाई प्रयोगमा ल्याउने गरी व्यवस्था भने गरिएको छ । प्रमुख यादवका अनुसार,‘हालसम्म करिब साढे ६ हजारको तापक्रम जाँच गरिएको छ । जसमा कसैमा पनि शंकास्पद लक्षण भने नभेटिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार