काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड-१९) संक्रमण भएको छ । मन्त्री डोरिसले विज्ञप्ति जारी गर्दै आफूमा कोरोना संक्रमण भएको जानकारी गराएकी हुन् । विज्ञप्तिमार्फत डोरिसले भाइरस संक्रमणको पुष्टि भएपश्चात आवश्यक परामर्श लिएर घरभित्रै एकान्तवासमा रहेको जानकारी गराएकी छिन् ।
आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन् । ६२ बर्षीया डोरिसले नर्सबाटै आफ्नो पेशागत जीवन शुरु गरेकी थिइन् । संक्रमणका कारण आफू खास नडराएको, तर आफ्नी ८४ बर्षीया आमाको स्वास्थ्यबारे उनले चिन्ता जनाएकी छिन्। डोरिस कोरोना संक्रमित हुने पहिली बेलायती सांसद रहेकी बीबीसीले उल्लेख जनाएको छ ।
कोरोना संक्रमणका कारण बेलायतमा अहिलेसम्म छ जना मानिसको ज्यान गइसकेको छ भने ३८२ वटा संक्रमणका मामिला भेटिएका छन् । पछिल्लोपटक स्वास्थ्यअवस्था निकै कमजोर भएका ८० बर्षीय बृद्धको ज्यान गएको थियो। बेलायतमा १० हजार मानिसहरुमा कोरोना संक्रमण भए÷नभएको परीक्षण गरिँदैछ, अहिलेसम्म १५ सय मानिसहरुमा परीक्षण गरिसकिएको छ ।