काठमाण्डौँ । गएको बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आउदो सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् ।
मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जतिसक्दो चाँडै डिस्चार्ज मागेका छन् । राउन्डमा रहेका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन् । तर, डिस्चार्ज दिएपछि घरमा आराम भन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमा राख्ने पक्षमा चिकित्सकहरू रहेको बताइएको छ ।
चाँडै डिस्चार्ज दिँदा विगतमा भेटघाट र कार्यक्रमले आराम नपाएको भन्दै यसपटक चिकित्सक केही दिन बढी प्रधानमन्त्रीलाई अस्पतालमै आराम गराउने पक्षमा देखिएका हुन् ।
प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यले पनि चिकित्सकलाई केही दिन अस्पतालमै आराम गराउन अनुरोध गरेको चिकित्सक बताउँछन् । उपचारमा संलग्न एक चिकित्सकले शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘विगतको अस्पताल बसाइ पनि निकै कम भयो, डिस्चार्ज दिएपछि उहाँलाई सचिवालयका मान्छेले आराम गराउने भन्दा पनि कार्यक्रममा बढी लैजाने गरे । त्यसैले यसपटक अस्पतालमै केही दिन राखिदिनुहोला ।’
संक्रमण नहोस् भनेर प्रधानमन्त्रीलाई चिकित्सकले गएको शुक्रबारदेखि फिजियोथेरापी सुरु गराएका छन् । फिजियोथेरापीलाई शनिबार पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए ।
फिजियोथेरापीमा ओलीलाई खोक्न लगाउने, हातखुट्टाका औँला चलाउने, खुट्टामा तेल लगाउने, हिँडाउनेजस्ता काम गराइएको छ ।