कोरोनाको त्रास
दक्षिण कोरिया/चीनको हुवेईस्थित वुआन क्षेत्रबाट फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसले पछिल्लो समय विश्वका आम मानिसहरूमा त्रास बढिरहेको छ ।
पछिल्लो समय चीन पछि सबैभन्दा धेरै कोरोना प्रभावित मानिएको दक्षिण कोरियामा दिन प्रतिदिन संक्रमितहरुको संङ्ख्या बढिरहनु चिन्ताको विषय बन्दै गएको छ । राजधानी सौलबाट करिब २३५ किलोमिटर टाढा थेगु शहरस्थित एक क्रिश्चियन चर्चबाट फैलिएको आशंका गरिएको उक्त भाइरसले सबैभन्दा बढी सोहि क्षेत्र प्रभावित भएको छ । त्यसो त चर्चमा आएर प्रार्थना गरे कोरोना ठिक हुन्छ भन्ने अन्धविस्वासकै कारण एक बाट अर्कोमा संक्रमण फैलिएको तथ्य सार्वजनिक भए पछि सरकारले केहि व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने केहि व्यक्तिले आफुहरुमार्फत केहि गल्ती भएको भन्दै माफी मागिएको खबरहरु पनि आइरहेको छ ।
रोजगारी, शिक्षा, व्यापार लगायत विभिन्न पेसा गरी अहिले कोरियामा करिब ५० हजार बढी नेपालीहरु रहेका छन । यति धेरै नेपालीहरु भएसँगै कोरोनाको चर्चा परिचर्चा हुनु स्वभाविक हो । तर, पछिल्लो पटक सामाजिक संजाल मार्फत केहि व्यक्तिले आफ्नो फेसबूक स्टाटस मार्फत आफु नजिकको व्यक्तिलाई समेत कोरोना भाइरसले संक्रमण गरेको भनेर पोस्ट गरिए पछि कोरियामा रहेका नेपालीहरुमाझ थप आतंक सिर्जना गरेको छ । केहि दिन अघि एकजना व्यक्तिले २ जना नेपालीको नाम सहित कोरोनाकै कारण मृत्युु भएको झुटो पोस्ट समेत गरेका थिए,खोजतलासको क्रममा उक्त समाचार झुटो भएको प्रमाणित भएको थियो । अहिले पनि एक नेपालीले आफ्नो फेसबूक मार्फत कोरियाको ख्वाङ्जुस्थित एक कम्पनिमा कार्यरत सहकर्मी भाइरस संक्रमित भएको र उपचारका लागी अस्पताल भर्ना गरिएको कुरा आफ्नो फेसबूक वालमा सार्वजनिक गरेका छन । उक्त स्टाटस पछि कोरियास्थित नेपाली समुदायमा एक किसिमको भय सिर्जना भए पछि सत्य तथ्य पत्ता लगाउन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाले विषेश पहल गरेको थियो ।
संघका अनुसार उक्त समाचार पश्चात गरिएको अनुसन्धानमा हाल सम्म कोहि पनि नेपाली कोरोना बाट संक्रमित नभएको पुष्टि भएको छ । स्थानिय महानगरपालिका,पराराष्ट्र मन्त्रालय, सम्बन्धित निकाय लगायत स्टाटसमा उल्लेखित उपचाररत अस्पतालमा समेत सम्पर्क गरि बुझ्दा हाल सम्म संक्रमित कोहि पनि नेपाली उक्त अस्पतालमा भर्ना नगरिएको भनिए पछि यस्ता कपोल कल्पित र भ्रामक प्रचार प्रसार नगर्न र नगराउन संघले सबैमा अनुरोध गरेको छ ।
हाल कोरियामा कोरोना भाइरस सम्बन्धि झुटा,अतिरन्जित तथा अफवाह फैलाउने किसिमका समाचार प्रसारण प्रकाशन गरिएमा प्रचलित कानुन अनुसार हदैसम्मको दण्ड सजाय हुने उल्लेख भएकोले नेपालीहरु पनि यस विषयमा सचेत र जानकार रहन संघले अनुरोध गरेको छ ।
प्राणघातक कोरोना भाइरसका कारण कोरियामा हालसम्म मङ्गोलियाका एकजना विदेशी सहित २८ जनाको मृत्यु भइसकेको छ भने करिब ४ हजार ८ सय १२ जना भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ । त्यसो त केहि सङख्यामा उपचार पछि घर फर्किसकेका पनि छन ।
संक्रमितको संङख्या दिन प्रतिदिन बढ्दै गर्दा बजारमा सुरक्षाका लागि प्रयोगमा आउने माक्स अभाव भए सङ्गै सरकारले सहज र सुलभ मूल्यमा प्रत्येक हुलाक कार्यलय र कृषी विकास बैंक द्वारा संचालित पसलहरुमा एक व्यक्ती बराबर ५ वटा माक्स उपलब्ध गराउन थालेको छ । स्मरण रहोस कोरियाको राजधानी सौलमा रहेको तोङ्देमुनस्थित सुभेक्षा रेस्टुरेन्टकी संचालिका तथा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदकि मानार्थ परिषद सदस्य जुनु गुरुङले समेत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सुरक्षित रहनका लागि सल्लाह सहित धोएर पून प्रयोग गर्न मिल्ने कपडाको माक्स निशुल्क वितरण गरिरहेकी छिन ।