
आदरणीय आन्दोलनरत विद्यार्थीवर्ग,
महेन्द्ररत्न बहुमुखी (मरब) क्याम्पस, इलाम ।
विषय ः कार्वाही सम्बन्धमा ।
तपाईहरु विभिन्न माग राखेर लगभग तिन महिनादेखि मरब क्याम्पस, इलाममा आन्दोलनरत हुनुहुन्छ । म स्वयं यो वा त्यो आन्दोलनकै पृष्ठभुमीबाटै गुज्रिएर आएको हुनाले गुणात्मक परिवर्तननको लक्ष्य बोकेर हुने न्यायपूर्ण आन्दोलनप्रति मेरो जहिल्यै उच्च सम्मान, साथसहयोग रह्यो, छ र भइरहनेछ । तपाइहरुले विभिन्न माग अघि सारेर गर्नुभएको आन्दोलनप्रति पनि मेरो यस्तै सम्मान छ । क्याम्पसको उज्जवल भाग्य र भविष्यसँग जोडिएका आन्दोलनका शैक्षिक मुद्दाप्रति मेरो सधैं साथ र सहयोग रहने नै छ । आन्दोलनका क्रममा क्याम्पसमा विभिन्न घटना घटे र अझै घटिरहेका छन् । जारी आन्दोलनका दौरानमा लगभग एक महिनाअघि मसँग जोडिएर घटेका दुईवटा घटनाले चाहिँ मलाई बारम्बार घोचिरहेकाले ती घटनामा आधारित भएर आवश्यक कार्वाही प्रकृया अघि बढाइयोस् भन्ने माग सहित आज म तपाईहरुलाई यो खुला पत्र लेख्दैछु ।
घटना नं. १
पहिलो घटना हो, आन्दोलनरत विद्यार्थीका एकजना नेताले मरब क्याम्पस, इलाम “…अरुण नेपालले लेखेजस्तो भताभुङग भैगाको छैन…” भनेर अर्का एकजना व्यक्ति र मेरो नामै किटेरै सामाजिक संजालमा लेख्नु हो । त्यसरी मेरो नामै किटेर गरिएको टिप्पणीले मेरो गम्भीर ध्यानाकर्षण भयो । मैले क्याम्पसको भाग्य र भविष्यलाई केन्द्रमा राखेर गरेको चिन्ता र चासोलाई ती विद्यार्थी नेताले निकै नकारात्मक रुपमा ग्रहण गरेजस्तो लाग्यो । वास्तवमा मलाई उक्त टिप्पणीले निकै सोचमग्न बनायो । उक्त टिप्पणी मेरा दिलदिमागमा आजसम्म पनि उत्तिकै ताजा छ । त्यस्तो टिप्पणी पश्चात मेरो सोच्ने शैलीमै पो खोट छ कि भन्ने कुराले मलाई निकै सतायो । मेरो नीजि दावी र बुझाइ के हो भने मरब क्याम्पस, इलामका सम्बन्धमा मैले जेजति विचार प्रस्तुत गरें, ती सबै क्याम्पसको उज्जवल भविष्यलाई नै केन्द्रमा राखेर व्यक्त गरिएका कुरा नै थिए । अर्थात एउटा प्रतिष्ठित क्याम्पसको प्राध्यापक हुन पाए कस्तो हुन्थ्यो होला भन्ने मेरो एउटै मात्र उत्कट चाहना र रहरलाई मेरा मनभरि सजाएर नै मैले क्याम्पसका सम्बन्धमा त्यस्तो चिन्ता र चासो व्यक्त गरिरहेको छु भन्ने मेरो ठहर थियो । तर मेरो त्यस्तो ठहर विपरित विद्यार्थी नेताको विचार सामाजिक संजालमा पढेपछि म निकै झस्किएँ ।
त्यसरी आफैले प्राध्यापन गर्दै आएको क्याम्पसका सम्बन्धमा साच्चै नकारात्मक सन्देश नै प्रवाह गरिरहेको छु भने त म त्यस्तो गलत कदमप्रति उचित कार्वाहीको भागिदार बन्नैपर्छ भन्ने मेरो निष्कर्श रह्यो । त्यसकारण मैले व्यक्त गरेका कुनकुन विचारले क्याम्पसका सम्बन्धमा के कस्तो नकारात्मक सन्देश प्रवाह भयो भन्ने कुरा सामाजिक संजालमा किटिएको मेरो नाम झै स्पष्टसँग किटेर कारण र आधार सहित आवश्यक कार्वाही प्रकृया अघि बढाइयोस् भन्ने माग गर्दै यो खुला पत्र लेख्दैछु । यस्तो कार्वाही किन पनि आवश्यक छ होला जस्तो लाग्यो भने एउटा व्यक्ति समग्र क्याम्पसको अगाडि गौण हुन्छ र उसले संस्थाको अहित हुने कार्य त झन् गर्नै हुँदैन । एकजना व्यक्तिका कृयाकलापले संस्थाका बारेमा नकारात्मक सन्देश प्रवाह हुन्छ भने त्यस्तो व्यक्ति सजायको भागिदार बन्नैपर्छ भनेर पनि मैले त्यस्तो कार्वाहीको माग गरेको हो । तर कार्वाही प्रकृया अगाडि बढाउनुभन्दा पहिला मैले किन क्याम्पसका बारेमा त्यस्ता आलोचनात्मक धारणा राखें त भन्ने सवालमा समेत यहाँहरुसमक्ष केहि तर्क पेश गर्ने अनुमति चाहन्छु ।
पहिलो कुरा मेरो बुझाइ नै के रह्यो र छ भने मरब क्याम्पस, इलाममा जे जति प्रगति हुनुपथ्र्याे त्यति प्रगति हुन सकेको छैन । क्याम्पसको उन्नति र प्रगतिमा सबभन्दा निर्णायक भुमिका क्याम्पसमा प्राध्यापन गर्ने र समग्र क्याम्पसकै नेतृत्व गर्ने प्राध्यापकवर्गकै हुन्छ । दोष जति अरुकै थाप्लामा थोपरेर आफू चाहिँ पानीमाथिको ओभानो बन्ने गलत प्रवृत्तिले मेरो क्याम्पस मात्र नभएर सिंगो मुलुक नै आक्रान्त छ । मेरो क्याम्पस पनि यो राष्ट्रिय रोगबाट मुक्त छैन र म प्राध्यापक पनि त्यहि गलत प्रवृत्तिको सिकार हुनु हुदैन भन्ने मेरो बुझाइ रह्यो । परिवर्तनको यात्रा आफैंबाट शुरु गर्नुपर्छ भन्ने मान्यतालाई म स्वयंले चाहिँ किन कार्यान्वयन नगर्ने त ? भन्ने प्रश्नले पनि मलाई त्यसरी आफ्नै क्याम्पसका सम्बन्धमा आलोचनात्मक दृष्टिकोण राख्न उकासे जस्तो लागेको छ । मुलुककै सबभन्दा सचेत र जिम्मेवार नागरिक पैदा गर्ने विश्वविद्यालयको एकजना प्राध्यापक मैले चाहिँ तोकिएका जिम्मेवारी इमान्दारपूर्वक पूरा गर्ने प्रयास गर्दा के चाहिँ विग्रन्छ त ? भन्ने प्रश्नले पनि मलाई त्यस्ता धारणा व्यक्त गर्न उक्साएको अनुभुति भइरहेछ । मुलुकभर जिम्मेवारी र इमान्दारिताको व्याड राख्ने हो भने त्यो महान कार्यको थालनी विश्वविद्यालयकै प्राङगणबाट शुरु हुनु पर्छ भन्ने मेरो मान्यता रहँदै आयो । त्यसरी विश्वविद्यालयका प्राध्यापक नै सबभन्दा बढि इमान्दार र जिम्मेवार भएर क्याम्पस प्राङगण वा कक्षाकोठाभित्र प्रस्तुत हुन सक्यो भने मात्र विद्यार्थीवर्गमा जिम्मेवारी र इमान्दारिताको संस्कार हस्तान्तरण गर्न सकिने मेरो ठहर रह्यो । स्वयं प्राध्यापकले धेरै आदर्शका कुरा छाँटीछाँटी प्राध्यापन गर्ने तर आफू चाहिँ तिनै आदर्श विपरित व्यवहार प्रदर्शन गर्नमै रमाउने हो भने विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिमा पनि त्यहि रोग सर्ने खत्तरा पैदा हुन सक्छ भन्ने कुरा मलाई गहिरोसँग बोध भयो ।
विश्वविद्यालयमा देखेको र सिकेको त्यो जिम्मेवारीपना र इमान्दारिता मनभरि सजाएर आवश्यक ज्ञान सीप आर्जन गरेका गुणस्तरीय जनशक्ति राजनीति, निजामति प्रशासन, न्यायलय, प्रहरि प्रशासन, सेना, पत्रकारजगत, विद्यालय लगायत राज्यका विभिन्न तह र तप्कामा मुलुकको सेवा गर्न जानेछन् । उनीहरु सबैले आआफ्ना क्षेत्रमा तोकिएका जिम्मेवारी राम्ररी पूरा गरे भने त म एउटा प्रतिष्ठित क्याम्पस मात्र नभएर प्रतिष्ठित मुलुककै नागरिक बन्न पनि सम्भव होला कि भन्ने सोच र चिन्तनको प्रभावमा परेर पनि आफ्नै क्याम्पसका बारेमा त्यस्ता आलोचनात्मक विचार राख्न पुगेछु । यस्तैयस्तै भावनामा डुब्दाडुब्दै मैले थाहै नपाई आफ्नै क्याम्पसका बारेमा नै नकारात्मक सन्देश प्रवाह गरेको कुरा आन्दोलनरत विद्यार्थी नेताले सामाजिक संजालमा मेरो नामै किटेर टिप्पणी गरेपछि मात्र बोध भएकाले आज उक्त कमजोडीप्रति आवश्यक कार्वाहीको माग सहित यो खुलापत्र लेख्ने निश्कर्षमा पुगेको हुँ ।
घटना नं. २
दोश्रो कुरा माथि नै उल्लेख गरिए झैं विश्वविद्यालयमा प्राध्यापक, विद्यार्थी र कर्मचारीवर्ग प्रत्यक्ष रुपमा संलग्न हुने भएपनि कक्षाकोठा, प्रशासन र समग्र क्याम्पसको नेतृत्व तहमा प्राध्यापक नै रहने भएकाले क्याम्पसको भाग्य र भविष्य निर्धारणमा प्राध्यापककै कृयाकलापले निर्णायक भुमिका निर्वाह गर्ने कुरा नै मेरो ठहर रह्यो । त्यसकारण प्राध्यापक नै तोकिएका जिम्मेवारी पूरा गर्न इमान्दारपूर्वक कक्षाकोठामा प्रस्तुत हुने हो भने मात्र विद्यार्थीमाझ जिम्मेवारीपना र इमान्दारिताको सन्देश प्रवाह गर्न सकिन्छ भन्ने मेरो धारणा रह्यो । मेरो बुझाइ अनुसार हरेक विद्यार्थीले प्राध्यापकवर्ग जिम्मेवार र इमान्दार रहेको कुरा व्यवहारमै अनुभुति गर्न पाउनु पर्छ र मात्र उसले भविष्यमा आआफ्ना कार्यक्षेत्रमा त्यसरी नै इमान्दारपूर्वक तोकिएका जिम्मेवारी पूरा गर्नेछ । ठग, कामचोर प्रवृत्ति र भ्रष्टाचार जस्ता जघन्य अपराध गर्ने कुरा त परै जाओस उसले त्यस्ता कुरा सोच्नसम्म सक्ने छैन र एउटा उच्च संस्कारले भरिपूर्ण सभ्य समाजको स्थापना गर्न सम्भव हुनेछ भन्ने आदर्शले मलाई निकै प्रभाव पारेछ ।
फलस्वरुप पाठ्यक्रममै उल्लेख भएका आधुनिक विधि र प्रविधिको अधिकतम् उपयोग गरी पाठ्यक्रममै किटान गरिएका १५० घण्टी पूरा समय पढाउन सकियो भने पनि केहि न केहि जिम्मेवारीपना र इमान्दारिताको सन्देश प्रवाह गर्न सकिएला कि भन्ने मेरो विश्वासले मलाई त्यहि दिशातिर डो¥यायो । यो प्रयासले नियमित रुपमा पठनपाठन हुनुपर्ने तपाईहरुको पहिलो माग सम्बोधन भए जस्तो पनि लागेको थियो । मैले निकै दुःख, कष्ट, हप्कीदप्की, अनेक झन्झट र जोखिम मोलेरै भएपनि प्रोजेक्टरमार्फत प्राध्यापन गर्ने प्रयास गरेर तपाईहरुको अर्काे एउटा महत्वपूर्ण माग समेत कार्यान्वयन गरेजस्तो पनि लागेको थियो । त्यस्तै कमजोड विद्यार्थीका लागि क्याम्पसमै अतिरिक्त कक्षा संचालन गर्नुपर्छ भन्ने तपाइहरुको मागको कार्यान्वयन गर्नुपर्ने कुरामा पनि मेरो जहिल्यै जोड रहँदै आयो । तर त्यसका लागि कमजोड विद्यार्थीको पहिचान गर्नकै लागि भएपनि स्वयं विद्यार्थीवर्ग कक्षाकोठामा नियमित रुपमा उपस्थित भई क्याम्पसले गर्ने आन्तरिक परीक्षामा सक्रिय सहभागी हुनु एउटा अनिवार्य शर्त हुन्थ्यो । उक्त कुरालाई मैले क्याम्पसले प्रकासित गर्ने पत्रिका वा सामाजिक संजाल मार्फत सत्यतथ्य सहित पटकपटक ध्यानाकर्षण गर्ने प्रयास पनि गरें । तर मेरो त्यस्तो ध्यानाकर्षणले कुनै माखो मारे जस्तो लागेन । बरु विद्यार्थी नेताले नै क्याम्पस बाहिर ट्युसन सेन्टर खोलेर उक्त ट्युसन सेन्टरमा पढाइदिन गरेको आग्रहलाई मैले अस्वीकार गर्दा ती नेताले मसँग चित्त दुखाएको निकै बर्ष अगाडिको तितो अनुभव मेरा मन मष्तिस्कमा आजसम्म ताजै छ । त्यतिमात्र होइन तपाइहरुको आन्दोलनलाई पनि सहयोग पुग्न सक्ने गरी विदाका समयमा समेत क्याम्पस लगाउन त्रिवि ऐन नियमकै उल्लंघन गरेरै भएपनि विशेष निर्णय गर्न आतुर क्याम्पस सञ्चालक समितिका वर्तमान अध्यक्ष नै क्याम्पस प्रमुख छँदा नियमित पठनपाठनका लागि प्राध्यापकको नियमित उपस्थितिलाई नै थप व्यवस्थित गर्नकै लागि भनेरै होला वहाँले त्यतिखेरै विद्युतीय हाजीरीको खरिद गरी तत्काल लागु गर्ने सुचना नै प्रकाशित गरेर पनि लागु गर्न सक्नुभएको थिएन । अब तपाईहरुको आन्दोलनको परिणामस्वरुप उक्त विद्युतीय हाजिरिको व्यवस्था हुन सक्यो भने उक्त हाजिरिमार्फत आफ्नो उपस्थिति जनाउन पनि म प्रतिबद्धै छु भन्ने पनि लागेको थियो । तर मेरा यी मान्यता र विश्वास विपरित मेरै कक्षा भएन भनेर बिदाकै समयमा भएपनि कक्षा हुनुपर्ने दवाव दिदै मेरा कोठासम्म तपाइहरु नै आउनुपर्ने परिस्थिति पैदा हुँदा मेरो शिक्षण जीवनमै म सबभन्दा बढि दुःखी भएको अनुभुति भयो । सायद मेरो कक्षा भएन भनेर विद्यार्थीले गुनासो गर्नु नपरोस भन्ने मेरो आफ्नै मान्यतामा ठेस लागेकाले हो वा अन्य कुनै कारणले हो उक्त घटनाले म धेरै नै दुःखी भएँ । त्यस्तो दुःखबाट मुक्ति पाउन पनि मैले विद्यार्थीको चित्त दुखाएबापत उचित कार्वाही भोग्नै पर्छ भनेर उक्त कसुरबापत समेत आवश्यक कार्वाही होस् भन्ने निष्कर्शमा पुगेको हुँ ।
निष्कर्श
आदरणीय आन्दोलनरत विद्यार्थीवर्ग, मैले क्याम्पसको भलो चिताएरै क्याम्पसका सम्बन्धमा आलोचनात्मक विचार राख्दा मेरै क्याम्पसका सम्बन्धमा त्यस्तो नकारात्मक सन्देश प्रवाह भएको कुरा मलाई पत्तै भएनछ । त्यस्तै मेरै कक्षा भएन भनेर विद्यार्थीवर्ग नै मेरै कोठामा आउनुपर्ने परिस्थिति पैदा भएपछि मैले मेरो जिम्मेवारी समेत पूरा नगरेको कुरा महशुस भएको छ । त्यसकारण यी दुवै गल्तिप्रति आवश्यक कार्वाही भोग्न म तयार छु । मरब क्याम्पसको समग्र उन्नति र प्रगतिको अगाडि म एक जना व्यक्तिलाई गरिने यस्ता कार्वाही गौण हुन् । मरब क्याम्पस, इलामको उज्जवल भविष्यका लागि यहाँहरुले चाल्ने जुनसुकै कदममा मेरो पूर्ण साथ सहयोग रहनेछ । मेरा गलत कुराको किटान गरिदिनुभयो भने क्याम्पसको हित हुने मुल्यमा ती सम्पुर्ण गलत कदम सच्याएर अघि बढ्न म पूर्णरुपमा प्रतिबद्ध छु । मेरो प्राध्यापन अवधिमा नै मेरो क्याम्पस नेपालकै एउटा प्रतिष्ठित क्याम्पसको रुपमा स्थापित हुन सक्यो भने मेरा लागि त्यो भन्दा खुशीको क्षण अरु केहि हुनेछैन । मैले जानेर वा नजानेर क्याम्पसका बारेमा गरेका टीका टिप्पणी पनि यहि खुशी ल्याउने प्रयत्न बाहेक अरु केहि पनि थिएनन् भन्ने मेरो आफ्नो दावी हो । भलै मैले मेरो दावी सबैलाई बुझाउन नसकेको नै किन नहोस् । यहाँहरुको आन्दोलनले मरब क्याम्पस, इलामलाई एक प्रतिष्ठित क्याम्पसको रुपमा स्थापित गरेरै छाडोस् । हार्दिक शुभकामना । खुलापत्र लेख्ने क्रममा केही कमीकमजोडी भएमा क्षमाप्रार्थी छु । धन्यबाद् ।


849 पटक हेरिएको 






