जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

१० महिना २२ दिन कैद भुक्तानको आदेश

  सरलपाटी सम्वाददाता

 292 पटक हेरिएको

इलाम । बालिकामाथि जबर्जस्ती करणी उद्योगका फरार दोषीलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ। इलाम नगरपालिका–११, सोयाकका ३९ वर्षे सन्तोष एक्तेन नगरपालिकाबाटै पक्राउ परेका हुन्।

२०५५ साल माघ १८ मा उनले १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको प्रहरीले जनाएको छ। उनलाई अदालतले १० महिना २२ दिन कैद सजाय हुनेगरी फैसला गरेको थियो।

२ दशकसम्म फरार रहेका एक्तेन माघ ९ गते आफ्नो नाम फेरिएको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका थिए। जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेका अनुसार अन्य कागजातबिनै आफ्नो नाम ‘सरु एक्तेन’ लेखिएको वडाध्यक्षको सिफारिस लिएर आएका सन्तोष प्रहरी देखेपछि भागेका थिए।

‘फरार सन्तोषले नाम फेरेर नागरिकता बनाउन लागेको बुझेपछि मेरै नेतृत्वमा जिल्ला प्रशासन गएर खोजी गर्दा उनी भागिसकेका रहेछन्,’ एसपी पाण्डेले भने, ‘त्यसपछि उनको खोजी तीव्र पारेपछि इलाममै फेला परे।’

प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले एक्तेनले उमेर छँदै नागरिकता नबनाएर किन ३९ वर्षपछि मात्रै बनाउन लागे भन्नेबारे प्रशासनले केरकार गरेपछि उनी ‘उम्किएको’ बताए। ‘नागरिकताका लागि सबै कागजात पुगेपछि मात्रै निवेदन दर्ता हुने भएकाले उनको निवदेन कार्यालयमा दर्ता चाहिँ भएन,’ प्रजिअ कार्कीले भने, ‘त्यहीबेला एक्तेनले नाम फेरेर नागरिकता बनाउन लागेको हल्ला भयो, उनी कागजात फोटोकपी गर्ने बहाना गरेर त्यहाँबाट भागेका थिए।’ एक्तेनलाई कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार