
इलाम । आफ्नो छाला सुन्दर होस् भन्ने चाहना सबैलाई हुन्छ। यसका लागि हामी अनेक प्रयास गरिराखेका हुन्छौँ। जाडो बढेसँगै छालामा विभिन्न समस्या देखिने गर्छन्। यसका लागि सर्तकता अपनाउन जरुरी छ।
काठमाडौँको महाराजगञ्जस्थित डर्मापर्फेक्ट स्किन लेजर एण्ड प्लाष्टिक सर्जरी सेन्टरकी छाला रोग विशेषज्ञ डा. अपर्णा शाहका अनुसार जाडो महिनामा वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन्।
जाडोमा चिसोले गर्दा नाक रातो हुने, कपालमा अत्याधिक चाया आउने, आँखीभौँमा कत्ला आउने लगायत समस्या देखा पर्ने डा.शाह बताउँछिन्। यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन्।
डा.शाहका अनुसार कतिपय अवस्थामा लुतो पनि देखिन्छ। लुतो आउँदा विशेषगरी औँलाका काप र पेटमा राति चिलाउने गर्छ। चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने ,झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन्।
जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने

— धेरै तातो र धेरै चिसो पानीले छालालाई असर गर्ने भएकाले नुहाउँदा वा मुख धुँदा मनतातो पानीको प्रयोग गर्ने।
— नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर प्रयोग गर्ने।
— साबुनले छालालाई सुख्खा बनाउने भएकाले मोस्चराइज हुने खालको साबुन मात्र प्रयोग गर्ने।
— छालालाई मुलायम राख्नका लागि भिटामिन ‘ई’ भएको क्रिम वा लोसन नियमित प्रयोग गर्ने।
— इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउने भएकाले धेरै समयसम्म हिटरको छेउमा नबस्ने।
— घाममा धेरैबेर नबस्ने। किनकी घामको अत्यधिक रेडिएसनले गर्दा छालाको क्यानसर हुन सक्छ।
— घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने।
— बाक्लो, न्यानो अनि सफा कपडाको प्रयोग गर्ने।
— हातखुट्टामा बाक्लो खालको पञ्जा र मोजाको प्रयोग गर्ने।
— राति सुत्नुभन्दा अगाडि सधैँ फेसवासले मुख धुने।
— छालामा अन्य समस्या देखापरे तुरुन्त चिकित्सकको सल्लाह लिने।


933 पटक हेरिएको 






