इलाम । इलामको जुविल्याण्ड इलाइट एकाडेमी बोर्डिङ्ग स्कूलको वार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । वार्षिक उत्सवका अवसरमा दुई दिने ज्यामबोरी (Jamboree) कार्यक्रमको आयोजना गरी शनिबार सम्पन्न गरिएको हो । कार्यक्रमको पहिलो दिन आध्यात्मिक कार्यक्रम र विभिन्न खेलकुदका कार्यक्रम गरिएको थियो भने दोस्रो दिन नाटक, नृत्य र वातावरण सम्बन्धिका गीत समेत प्रस्तुत गरिएको थियो । स्कूलका विद्यार्थीलाई उत्सवका लागि १८ राउण्डसम्म एक अर्कामा प्रतिष्पर्धा गर्न लगाइएको स्कुलका प्रिन्सिपल भूसान्त सुब्बाले जानकारी दिए ।
उनले भने,‘अभ्यासका क्रममा पहिलो देखि तेस्रो हुनेहरुलाई मात्र वार्षिक उत्सवको कार्यक्रममा सहभागी गराएका हौँ ।’ विद्यार्थीले भविष्यमा केही गर्न सकोस् भन्ने उद्देश्यले हरेक वर्ष स्कूलले यस्ता कार्यक्रमको आयोजना गर्ने गरेको छ । हरेक वर्ष उत्कृष्ठ एक जना विद्यार्थीलाई ब्लु कोट होल्डरको रुपमा छनोट गरी पुरस्कृत समेत गर्ने गरिएको छ ।
छनोटमा परेका दुई विद्यार्थीलाई उत्सवकै अवसरमा पुरस्कृत गर्दै सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा २०७५ को अस्मिता गुरुङ्ग र २०७६ को जोस्निला खड्का रहेका छन् । उनीहरुलाई ब्लु कोट लगाएर प्रमाणपत्र र ट्रफी प्रदान गरी सम्मान गरिएको छ । सम्मानित हुनेले १२ महिनासम्मको अध्ययन समेत छात्रावृद्धिमा नै पढ्न पाउने व्यवस्था रहेको समेत स्कूलले जानकारी दिएको छ । कार्यक्रम स्कूलका फाउण्डर दिपराज आङ्देम्बेको अध्यक्षता तथा आर्मीका मेजर रवि अधिकारीको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।