भएका सीमा स्तम्भको बेहाल छ केही ढले, केही बालुवाले पुरिए

कस्ले सोच्ने यस पक्षमा

  सरलपाटी सम्वाददाता

 330 पटक हेरिएको

 

बुटवल । भारतले नेपाली भूमि अतिक्रमण गरिरहँदा सीमाक्षेत्रमा रहेका स्तम्भको पनि मर्मत सम्भार समेत हुन सकेको छैन।

नेपाल भारत सीमा क्षेत्रमा ढलेका र भाँच्चिएका स्तम्भहरु मर्मत सम्भार हुन नसक्दा भारतीय पक्षलाई सीमा अतिक्रमण गर्न सघाउ पुग्दै आएको छ।
भारतसँग सिमा जोडिएको कपिलवस्तुको बिजयनगर गाउँपालिकाको छेउमा रहेका सीमा स्तम्भहरु खोलाको बगरमा पल्टिएको महिनौं बितेपनि उठाउने तर्फ दुवै देशका अधिकारीहरुले वेवास्ता गरेका छन्।

गत साउन महिनामा आएको बाढीले ढालेका सीमा स्तम्भ पाँच महिनासम्म पनि ढलेकै अवस्थामा छन्। विजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहेको खोलामा ५ वटा सीमा स्तम्भ ढलेका छन्।

वडा नं। ५ ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको स्तम्भ नं। ५७८।७ र त्यसको पाँच सय किलोमिटर उत्तर तर्फ रहेको ५७८।१० नं। को स्तम्भ खोलाको बगरमा लडेका छन्।

वडा नं। ६ गेडुवाजोत र भारतको प्रतापपुरको सीमामा रहेको ५७७।७ नंं को स्तम्भ बाढीमा हराएको छ भने ५७७।९ नं। को स्तम्भ पनि बगरको बालुवामा धसिएको छ।

विजयनगर वडा नं। १ स्थित जंगलमा रहेका दुईवटा स्तम्भ पनि अरर्रा नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको । विजयनगर क्षेत्रमा मात्र ५ वटा स्तम्भहरु ढलेका छन्। ढलेका स्तम्भहरु मर्मत सम्भार हुन नसके अब आउने बाढीले बगाएर लैजाने खतरा देखिएको छ।

स्तम्भ लडेपछि प्रहरीले दैनिक निगरानी गरेपनि ठड्याउनेतर्फ पनि पहल नगरेको स्थानीयले गुनासो गरे। कपिलवस्तुको जैवावैराठमा रहेका स्तम्भ मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन्। कपिलवस्तुमा मुख्य, सहायक र साना गरी ५ सय ३२ वटा सिमा स्तम्भ छन्।

गत जेठ महिनामा मात्रै भारतसँग सीमा जोडिएका रुपन्देही र कपिलवस्तु जिल्लाको सीमा क्षेत्रमा २ सय ८४ वटा सीमा स्तम्भ बनाइएको हो। जसमध्ये ७ वटा मुख्य, ६८ मध्यम र २ सय ९ सामान्य सीमा स्तम्भ हुन्।

नेपाल–भारत सीमा सर्वेक्षण नं। ३ टोलीले सन् २०१८ को डिसेम्बर १५ देखि २०१९ को मे सम्म सीमा स्तम्भ निर्माण गरी दुई देशको संयुक्त बैठकले प्रमाणिकरण गरेको थियो।

सन् २०१५ देखि सीमा क्षेत्रमा सर्वेको काम सुरु गरिएकोमा अहिलेसम्म २ सय ८४ वटा पिल्लर निर्माण गरी प्रमाणिकरण गरिएको हो।

नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ निर्माण र सर्वेक्षणको जिम्मा पाएको नं। ३ टोलीले गतवर्ष रुपन्देही र कपिलवस्तुको मात्रै सीमा स्तम्भ निर्माण गरेको थियो।

रुपन्देहीको सीमामा ३ सय ५१ सीमा स्तम्भ निर्माण गर्नुपर्नेमा ८१ वटामात्रै नयाँस्तम्भ बनाइएको छ। जसमध्ये ४० वटा नेपालले र ४१ वटा भारतले निर्माण गरेको थियो। २ सय ७० सीमा स्तम्भ भने बनाउन अझै बाँकी छन्।

यस्तै, कपिलवस्तुमा २ सय ४२ वटा स्तम्भ निर्माण गर्नुपर्नेमा ३८ वटा स्तम्भ निर्माण गर्न बाँकी छन्। कपिलवस्तुमा नेपालले १ सय ३६ र भारतले ६७ वटा निर्माण गरेको छ।

दुई देशको सहमतिअनुसार विजोर नम्बर भएको सीमा स्तम्भ नेपालले निर्माण गर्नुपर्ने हुन्छ भने जोर नम्बरको भारतले निर्माण गर्नुपर्ने हुन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार